+
+
Shares

मौसम खुलेसँगै घर फर्किए चामेवासी, थुनिएको मर्स्याङ्दी खोल्नुपर्ने

मर्स्याङ्दी नदी थुनिएर कतै ठूलो ताल बन्ने त होइन भन्ने त्रास भने अब नरहेको सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए । मर्स्याङ्दी थुनिएर बनेको तालको सतह नबढेको तर फेरि जोखिम बढ्न सक्ने भएकाले खोल्नुपर्ने उनको भनाइ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ८:०३
चामेमा थुनिको मर्स्याङ्दी नदी । तस्वीर : गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मर्स्याङ्दी नदी थुनिएपछि त्रसित चामेवासी जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएर मौसम खुलेसँगै घर फर्किएका छन्।
  • आइतबार ठाडो र खट्टे खोलामा आएको बाढीले चामेमा घर, पुल र सडकमा क्षति पुर्‍याएको थियो।
  • थुनिएको मर्स्याङ्दी नदी खोल्ने तयारी भइरहेको छ, तर सडक सम्पर्क टुटेकाले स्काभेटर ल्याउन तत्काल सम्भव नभएको सहायक सीडीओले बताए।

१२ असोज, पोखरा । मनाङको सदरमुकाम चामे आसपासका स्थानीय खोलामा बाढी र मर्स्याङ्दी नदी थुनिएपछि डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका चामेवासी बिहान मौसम खुसीसँगै घर फर्किइरहेका छन् ।

आइतबार ठाडो खोला र खट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्‍याएको थियो ।

साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी नदी थुनिँदा स्थानीय त्रसित बनेका थिए ।

गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार शनिबार चामेमाथि जंगलमा जाग्राम बसेर रात कटाएका चामेबासी सोमबार भने केही जंगलमै त केही सामुदायिक भवन र केहीले नयाँ भैरवी गणमा बसेर रात बिताएर फर्किएका छन् ।

‘खोलामा बाढी आउने, मस्र्याङ्दी थुनिने हुँदा सबै चामेबासीको भागाभाग भयो । धेरै जना जंगलमा बसे, कोही ब्यारेकमा बसेर फर्र्किए, अहिले अवस्था सामान्य हुँदै छ’, गाउँपालिका अध्यक्ष घलले भने, ‘केही घर त २, ४ घर त मस्र्याङ्दीले डुबानमा पारिरहेकै छ ।’

अहिले बिहानैदेखि मनाङको आकास पनि खुलेको छ । कालो बादलको टुक्रासमेत नदेखिएको मनाङका सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए ।

‘कोही जंगल, कोही सिटी हल त कोही ब्यारेकमा बास बसेर फर्कियौं । सरकारले बेलैमा सचेत गराएका कारण नागरिक पनि बेलैमा सतर्क भएर सुरक्षित ठाउँमा लागे । सिटी हलतिर गाउँपालिका अध्यक्ष र ब्यारेकमा हामीले चाउचाउ, बिस्कुल ल्याएर राति खाएर बस्यौं’, सहायक सीडीओ पौडेलले भने, ‘बिहान सबै मौसम खुलेको छ । स्थानीय खोलामा बाढी रोकिएको छ र मानिसहरु घर फर्किएका छन् ।’

थुनिएको मर्स्याङ्दी नदी भने यथावतै रहेको र त्यो पनि खोल्ने तयारी भइरहेको उनले जानकारी दिए । सडक सम्पर्क पनि टुटेकाले स्काभेटर ल्याएर खोल्न पनि तत्काल सम्भव नभएको र कसरी खोल्ने भन्ने छलफल पनि भइरहेको उनले बताए ।

मर्स्याङ्दी नदी थुनिएर कतै ठूलो ताल बन्ने त होइन भन्ने त्रास भने अब नरहेको उनले बताए । मर्स्याङ्दी थुनिएर बनेको तालको सतह नबढेको तर फेरि जोखिम बढ्न सक्ने भएकाले खोल्नुपर्ने उनको भनाइ थियो ।

२०७८ सालमा स्थानीय खोला र मर्स्याङ्दीमा आएको बाढीले मनाङमा ठूलो भौतिक विनास निम्त्याएको थियो । धेरै मानिसका घर र उब्जनी हुने जग्गा बगर बनेको थियो ।

अहिले हिमालमा पहिरो जाने, ठाडो र घट्टे खोलामा बाढी खाएर झालुंगे पुल, कज वे, सडक र घरहरु क्षति पुर्‍याउने, लगातार वर्षा हुने र सरकारले पनि सचेत रहन आग्रह गरेकाले चामेबासी शनिबारदेखि नै जंगल उक्लिएर रात कटाएका थिए ।

आइतबार त मर्स्याङ्दी नदीसमेत थुनिएपछि उनीहरु थप त्रसित बनेर सुरक्षित ठाउँ खोज्दै गएकाले चामे बजार नै खाली भएको थियो । ‘भर्खरै भोटेकोशी बाढीको भयावह देखेका थिए । २०७८ सालमै बाढी बितण्डा भोगेका थिए । अहिले लगातार पानी पर्दा स्थानीय खोलाहरु सबै बढेका थिए र बाढीसमेत आइइरहेको थियो । जसका कारण चामेमा स्थानीयमात्रै होइन, कोही पनि बस्न सक्ने स्थिति थिएन’, सहायक सीडीओ पौडेलले भने, ‘अहिले मौसम खुलेसँगै घर फर्किएका छन् र अब स्थिति सामान्य हुने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?