News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहसँग १० भदौको बाढी, २१ जनाको मृत्यु, भरत दाहाल पक्राउ र चोलेन्द्रशमशेर जबराको नियन्त्रणबारे जवाफ मागेको छ।
- सांसद ध्रुवराज राईले संसद्मा प्रधानमन्त्रीको जवाफ नआएको भन्दै बाढी, पहिरो, नागरिक निराशा र आत्मदाहका घटनामा सरकारको भूमिका सोधेका छन्।
- राईले संसद्को गरिमा बढाउने सरकारको योजना माग्दै ‘संसद्लाई समेत थुक्ने वातावरण’ बनेको भन्दै प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका छन्।
१२ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहसँग विभिन्न प्रश्नको जवाफ खोजेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट ध्रुवराज राईले सभामुखसँग समय मागेर बोल्दै विभिन्न प्रश्नको जवाफमा स्वयं प्रधानमन्त्री शाह खोजेका हुन् ।
पहिलो प्रश्नको रूपमा उनले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजेर बसेको भनेर उठाए । यसमा कहिले तयार हुने भनेर सोधे ।
दोस्रो प्रश्नको रूपमा उनले १० भदौको विनाशकारी बाढीको विषय उठाए । यसमा सरकारले के कसो गरिरहेको छ जवाफ चाहिने बताए ।
तेस्रो प्रश्नका रूपमा पछिल्लो समयको बाढी र पहिरोका कारण २१ जनाको मृत्यु भएको सन्दर्भमा प्रधनमन्त्रीको जवाफ खोजे ।
‘लामो समयदेखि प्रधानमन्त्रीको जवाफ खोजेर बसेका छौं । सायदै चाँडो रकार प्रमुख आएर हामलाई उत्तर दिनुहुन्छ,’ उनले भने, ‘१० भदौको विनाशकारी बाढी मात्रै होइन । पछिल्लो समय बाढीका कारण २१ जनानको मृत्यु भएको छ ।’
१० भदौको रसुवाको भोटेकोशीमा बाढी गएको हो । त्यसबाट रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति भयो । एक हजार चार सय बढी शव फेला परेका छन् । ६ हजार बढी बेपत्ता छन् । अर्बौंको भौत्तिक क्षति भएको छ ।
यस पृष्ठभूमिमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीसँग जवाफ खोजेका हुन् ।
चौथो प्रश्नका रूपमा उनले भरत दाहाल पक्राउको विषय उठाए ।
सरकारले केही दिन अगाडि राजनीतिक विश्लेषक लेखक भरत दाहाललाई पक्राउ गरेको थियो ।
पछि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाल पक्राउको लिखित कारण पेस गर्न आदेश दिएको थियो ।
पाचौं प्रश्नको रूपमा सांसद राईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको र छाडेको विषय उठाए ।
जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो । तर कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे प्रहरीले प्रष्ट खुलाएको छैन । यसबारे सरकारी निकायहरूले पनि आधिकारिक रूपमा केही बोलेका छैनन् ।
यसबीचमा राति नियन्त्रणमा लिएर जबरालाई दिउँसो छाडिएको छ ।
यी विषयमा प्रधानमन्त्री शाह स्वयमले जवाफ दिनुपर्ने श्रम संस्कृति पार्टीको माग छ।
‘घरि भरत दाहाल पक्राउ, गर्यो छोड्यो । घरि चोलेन्द्रशमशेर पक्रियो, छोड्यो,’ सांसद राईले प्रश्न गरे, ‘कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला । होइन भने सरकारले यो कुन हिसावले काम गरिरहेको छ ?’
छैठौं प्रश्नको रूपमा उनले नागरिकमा किन निराशा बाढ्दो छ, किन मानिसहरू आत्मदाह गरिरहेका छन् भनेर प्रश्न गरे ।
काठमाडौँको त्रिपुरेश्वर क्षेत्रमा साढे दुई महिनाको अन्तरालमा सुरक्षाकर्मी तथा नियमनकारी निकायसँगको विवादपछि भएका दुई वटा आत्मदाहका घटनाहरू भए ।
२०८३ असार २५ गते काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगु सोरु गाउँपालिका १ का २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरे ।
काठमाडौँमा बसेर राइड सेयरिङ (पठाओ आदि) को काम गर्ने उनले आफ्नो मोटरसाइकल राहदानी विभाग अगाडि रोकेका थिए । महानगर प्रहरीले ‘नो पार्किङ’ क्षेत्रमा रोकेको भन्दै उनको मोटरसाइकलमा ह्विल लक लगाइदिए र एक हजार रुपैयाँ जरिवाना माग गरे ।
आर्थिक अभाव, वैदेशिक रोजगारीको तनाव र बारम्बार हुने यस्ता जरिवानाका कारण आक्रोशित भई उनले नगर प्रहरीसँगको नोकझोकपछि मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए ।
२०८३ असोज ४ गते त्रिपुरेश्वर चोकमै बस स्टपमा एक चालकले आगो लगाए । ट्राफिक प्रहरीसँगको विवादपछि उनले आगो लगाएका थिए ।
अनाधिकृत रूपमा हर्न बजाएको वा चिट काट्ने विषयमा ट्राफिकसँग विवाद भएपछि उनले ‘म मर्न तयार छु, मेरो गल्ति छैन’ भनेका भिडियो सार्वजनिक भएको छ ।
यी घटनाले नागरिकमा निराशा रहेको देखाएको भन्दै श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहसँग जवाफ मागेका हुन् ।
सातौं प्रश्नको रुपमा उनले संसद्को भूमिकाको विषय उठाए । संसद्को गरिमा बढाउन सरकारको योजना खोजे ।
समग्र घटनामा ‘संसद्लाई समेत थुक्ने वातावरण’ भनेको भनेर सांसद राईले प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरे र जवाफ मागेका छन् ।
प्रतिक्रिया 4