News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवास र परिवारको सुरक्षाका लागि व्यवस्था गरिदिन प्रहरीलाई आग्रह गरेको निवेदन सार्वजनिक भएको छ ।
- उपत्यका प्रहरी कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरले जबराको सुरक्षा मागसम्बन्धी निवेदन आफूहरूले प्राप्त नगरेको बताएका छन् ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार मध्यरात जबरालाई ‘सुरक्षा थ्रेट’को सूचना पाएर नियन्त्रणमा लिएर आइतबार अपराह्न छाडेको थियो ।
१२ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रहरीसँग जिउज्यानको सुरक्षा मागेको बेहोराको एक पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको छ । तर प्रहरीले भने त्यस्तो पत्र प्राप्त नभएको जनाएको छ ।
चोलेन्द्रको तर्फबाट उनका छोरा ‘सचिन्द्र शमशेर ज.ब.रा.’ले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई सम्बोधन गरेको निवेदनमा निवास तथा परिवारका सदस्यको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन आग्रह गरेको बेहोरा छ ।
तर उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोरले भने चोलेन्द्र शमशेरले सुरक्षा मागेको बेहोराको निवेदन कार्यालयमा प्राप्त नभएको अनलाइनखबरलाई बताएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले पनि सो बेहोराको पत्र आफ्नो कार्यालयमा प्राप्त नभएको अनलाइनखबरलाई बताए ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरामाथि ‘सुरक्षा थ्रेट’को सूचना पाएको भन्दै शनिबार मध्यरात नियन्त्रणमा लिएर आइतबार अपराह्न छाडेको थियो ।
उनी छुटेकै दिनको मिति अर्थात् २०८३ असोज ११ गतेको मिति उल्लेख भएको निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका केही विषयका कारण आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ ।
सो निवेदनमा लेखिएको छ, ‘हालको समयमा देशको अवस्था, सामाजिक सन्जाल लगायत मिडियाहरुमा आएका कतिपय शान्ति सुरक्षासँग सम्बन्धित प्रश्नहरुको कारण म लगायत मेरो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस गरिरहेका छौं ।’
निवेदनमा थप लेखिएको छ, ‘विगतमा राज्यका अंगहरुमा बहन गरेका जिम्मेवारी, राज्यको न्याय पालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णय लगायतको कारण पनि म माथि थप असुरक्षाको महसुस भएको छ ।’
‘मैले कतिपय कुराहरु हालका मितिमा यस कार्यालयमा आइसकेपश्चात पनि जानकारी पाएँ,’ निवेदनमा लेखिएको छ, ‘मेरो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायहरूलाई जानकारी नै छ । त्यसैले मेरो निवास, परिवार तथा मेरो जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुगोस् ।’

प्रतिक्रिया 4