१३ असोज, काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो ।
एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान छ । यस पटक नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षको रूपमा चयन भएको छ ।
वार्षिक बैठकका अवसरमा अर्थमन्त्री एवम् एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरे । बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउण्ड टेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधारमार्फत हुने पूँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेकोमा जोड दिए ।
उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनहरूमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, नेपालजस्ता विकासशील मुलुकहरूको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउनुपर्ने बताए । उनले स्वदेशी तथा विदेशी निजी पूँजीलाई आकर्षित गर्ने किसिमले वित्त उपलब्ध गराउनुपर्ने विचार पनि व्यक्त गरे ।
प्रतिक्रिया 4