हजारौँ वर्षदेखि मानव समाजले महिलाको बाह्य प्रजनन् अंगलाई लिएर विभिन्न तरिकाले व्याख्या र विश्लेषण गर्दै आएको छ । कुनै समय यसलाई प्रजनन क्षमता र मातृत्वको प्रतीक मानिन्थ्यो । तर समयसँगै यही शरीरको अंगलाई लाज, गोपनीयता र लुकाउनुपर्ने विषयका रूपमा हेर्न थालियो ।
आज भने महिलाको शरीर र त्यसको प्राकृतिक बनावटबारे फेरि खुलेर बहस हुन थालेको छ । कला, सामाजिक अभियानदेखि चिकित्सकीय अध्ययनसम्म महिलाको शरीरलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने प्रयास भइरहेका छन् ।
तर प्रश्न यो छ, ‘महिलाको निजी अंगलाई आखिर कहिलेदेखि र किन लाजको विषय मान्न थालियो ?
कुनै समय प्रजनन क्षमताको आधार
हजारौँ वर्षअघि बनाइएका चित्र र मूर्तिहरूमा महिलाको शरीर तथा प्रजनन् अंगलाई विशेष रूपमा देखाइएको पाइन्छ । फ्रान्सका प्राचीन स्थल तथा शोभे गुफामा भेटिएका पुराना चित्रहरूले पनि मानव समाजले धेरै पहिले नै महिलाको शरीरलाई कलामा प्रस्तुत गर्ने गरेको देखाउँछन् ।
त्यस्तै, मोनपाजियरको सानो ‘भेनस’ मूर्तिमा महिलाको निजी अंगलाई जानाजानी ठूलो देखाइएको छ । यसलाई महिलाको सन्तान जन्माउने क्षमतासँग जोडेर हेर्ने गरिएको इतिहासकारहरूको व्याख्या छ ।
प्राचीन मेसोपोटामियामा पनि महिलाको यौनिकतालाई लाजको विषयका रूपमा मात्र हेरिँदैनथ्यो । त्यहाँका केही प्राचीन ग्रन्थमा महिलाको यौनिकता र प्रजनन क्षमतासँग सम्बन्धित स्पष्ट उल्लेख पाइन्छ ।
तर समयसँगै महिलाको शरीरलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गयो ।
जब महिलाको यौनिकतालाई ‘खतरा’ मान्न थालियो
इतिहासकारहरूका अनुसार प्राचीन ग्रीस हुँदै रोमको समयमा महिलाको यौनिकतालाई फरक ढंगले हेर्न थालियो । महिलाको स्वतन्त्र इच्छा र यौनिकतालाई नियन्त्रण गर्नुपर्ने विषयका रूपमा बुझ्ने सोच विस्तार हुँदै गयो ।
यसक्रममा महिलाको बाह्य जननांगलाई समेत तिरस्कार र लाजसँग जोडेर हेर्न थालिएको इतिहासकारहरूको भनाइ छ । महिलाको शरीरमाथि नियन्त्रण राख्ने सामाजिक सोच लामो समयसम्म कायम रह्यो । यसले महिलालाई आफ्नो शरीरबारे नै असहज महसुस गर्ने अवस्थासम्म पुर्यायो ।
‘सुन्दर शरीर’को मापदण्ड कसले बनायो ?
आजको समयमा महिलाको शरीरलाई हेर्ने दृष्टिकोणमा अर्को किसिमको दबाब थपिएको छ । अश्लील सामग्री, सामाजिक सञ्जाल, सौन्दर्यसम्बन्धी विज्ञापन तथा विभिन्न कस्मेटिक प्रक्रियाले महिलाको निजी अंग पनि निश्चित आकार र स्वरूपमा हुनुपर्छ भन्ने धारणा बनाउन भूमिका खेलेका छन् ।
यसबाट ‘आदर्श महिला शरीर’ को एउटा सीमित चित्र निर्माण भएको देखिन्छ । छाला नरम हुनुपर्ने, शरीरमा रौँ हुन नहुने, कुनै दाग वा चाउरी नदेखिनुपर्ने र निजी अंग पनि निश्चित स्वरूपको हुनुपर्ने जस्ता अपेक्षा बढेका छन् ।
तर चिकित्सकीय रूपमा महिलाको बाह्य प्रजनन् अंगको एउटै निश्चित आकार वा स्वरूप हुँदैन । व्यक्तिअनुसार यसको बनावट, आकार र स्वरूप फरक–फरक हुन सक्छ ।
अर्थात्, एउटा महिलाको शरीर अर्को महिलाको जस्तै देखिनैपर्छ भन्ने हुँदैन ।
सामान्य शरीरलाई पनि असामान्य ठान्ने अवस्था
समाज र सञ्चारमाध्यममा देखाइने सीमित शरीरको स्वरूपका कारण कतिपय महिलाले आफ्नो स्वाभाविक शरीरलाई नै असामान्य ठान्न सक्छन् । सन् २०२४ मा अस्ट्रेलियामा गरिएको एक अध्ययनलाई ‘द गार्डियन’ ले उद्धृत गर्दै १८ देखि २४ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले आफ्नो ल्याबिया अर्थात् योनीको बाहिरी भागको स्वरूपबारे चिन्ता वा असहजता महसुस गरेको जनाएको थियो । तीमध्ये करिब आधाले शल्यक्रियाबारे सोचिरहेको बताइएको थियो ।
तर शरीरमा परिवर्तन चाहने हरेक महिला सामाजिक सञ्जाल वा अश्लील सामग्रीबाट प्रभावित हुन्छिन् भन्ने पनि हुँदैन ।कतिपय महिलाले आफ्नो शरीरको बनावटका कारण वर्षौँदेखि असहज महसुस गरिरहेको चिकित्सकहरूले बताएका छन् । कसैलाई आफ्नो साथीका अगाडि कपडा फुकाल्नसमेत अप्ठ्यारो लाग्न सक्छ भने कतिपय यौनसम्बन्धबाट टाढा रहने अवस्था पनि हुन सक्छ ।
त्यसैले, शरीरमा कुनै परिवर्तन गर्ने वा नगर्ने निर्णय गर्दा महिलाले त्यसका सम्भावित जोखिम र असर बुझ्नु महत्त्वपूर्ण हुन्छ ।
शरीर परिवर्तन गर्ने शल्यक्रिया कति आवश्यक ?
महिलाको निजी अंगको स्वरूप परिवर्तन गर्न चाहने प्रवृत्ति अहिले मात्र सुरु भएको होइन । विभिन्न समाज र संस्कृतिमा लामो समयदेखि महिलाको प्रजनन्अंगको स्वरूप परिवर्तन गर्ने अभ्यासहरू हुँदै आएका छन् ।
आधुनिक कस्मेटिक शल्यक्रियाको विकास हुनुअघि नै युरोपेली चिकित्सामा पनि योनीको बाहिरी भाग अर्थात् ल्याबियाको आकार घटाउने शल्यक्रियाबारे उल्लेख पाइन्छ । तर, चिकित्सकीय रूपमा महिलाको बाह्य यौनांगको कुनै एउटै ‘सही’ आकार हुँदैन । महिलाको शरीरमा हुने प्राकृतिक विविधता सामान्य कुरा हो ।
त्यसैले केवल अरूको शरीरसँग तुलना गरेर आफ्नो शरीरलाई असामान्य ठान्नु आवश्यक छैन ।
लाजबाट विरोध र अधिकारसम्म
महिलाको शरीरलाई लामो समयसम्म लुकाउनुपर्ने विषय मानिए पनि पछिल्ला दशकमा यही शरीर कला र सामाजिक अभियानको माध्यम बन्न थालेको छ ।
सन् १९७० को दशकमा नारीवादी कलाकारहरूले महिलाको शरीर र निजी अंगलाई आफ्नो कलामा खुलारूपमा प्रस्तुत गर्न थाले । यसमार्फत महिला हुनु, महिलाको शरीरमाथिको सामाजिक नियन्त्रण र आफ्नो शरीरबारे आफैँ निर्णय गर्ने अधिकारका विषय उठाइए ।
सन् २०११ मा कलाकार जेमी म्याककार्टनीले ‘द ग्रेट वाल अफ भजाइना’ नामको कला सिर्जना गरे । यसमा ४०० महिलाका यौनांगको स्वरूप प्रस्तुत गरिएको थियो । यसको उद्देश्य महिलाको शरीरमा हुने प्राकृतिक विविधता देखाउनु थियो ।
त्यस्तै, सन् २०१६ मा ‘भल्भा ग्यालरी’ नामको अनलाइन परियोजना सुरु भयो । सन् २०१९ मा लन्डनमा भजाइना म्युजियम स्थापना भयो, जसको उद्देश्य महिला शरीरको संरचना र स्वास्थ्यबारे जानकारी दिनुका साथै महिलाको शरीरलाई समाजले कसरी हेर्छ भन्नेबारे बुझाउनु थियो ।
महिलाको शरीरको ‘सही’ स्वरूप हुँदैन
महिलाको निजी अंगबारे समाजले बनाएका धारणाहरू समयअनुसार बदलिँदै आएका छन् । कहिले यसलाई प्रजनन क्षमताको प्रतीक मानियो, कहिले लाजको विषय बनाइयो र अहिले फेरि शरीरबारे खुलेर कुरा गर्ने तथा प्राकृतिक विविधतालाई स्वीकार गर्ने प्रयास भइरहेको छ ।
महिलाको बाह्य जननांगको आकार र स्वरूप व्यक्तिअनुसार फरक हुन्छ । त्यसैले सबै महिलाको शरीर एउटै देखिनुपर्छ भन्ने कुनै चिकित्सकीय मापदण्ड छैन ।
बीबीसीबाट
प्रतिक्रिया 4