+
+
Shares

फ्यानहरू ‘शोले’ हेर्न काठमाडौंदेखि भारत पुग्थे

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १३:५८

सन् १९७५ मा रिलिज भएको शोलेलाई भारत बाहेकका अन्य देशका मान्छेहरूले समेत उत्तिकै सम्झिन्छन् । यो फिल्मले नेपालमा पनि प्रशस्त मात्रामा किस्साहरू बनाएको छ । यो लेखमा शोले सँग जोडिएका नेपालसहित विभिन्न देशका किस्साहरूको चर्चा गरिने छ ।

पैसा चोरेर शोले हेर्न काठमाडौंदेखि बिहार 

नेपालका वरिष्ठ पत्रकार विजय रत्न तुलाधरसँग पनि शोलेसँग जोडिएका अनेकन् किस्सा छन् ।

जस्तो, एक पटक उनी आफ्ना साथीहरूसँग शोले हेर्न काठमाडौंबाट रक्सौल गएका थिए । त्यसरी जाँदा कतिपय उनका साथीहरू त घरबाट भागेरै जान्थे । अझ कतिपयले त शोले हेर्नकै लागि घरमा आमाबुबाको खल्तीबाट पैसा चोर्ने गर्थे ।

यसरी उनीहरू २०० किलोमिटर टाढा बसमा यात्रा गरेर शोले हेर्न भारत जान्थे । अनि फर्किएर ठूलाठूला गफ हाँक्थे ।

ती दिनहरूमा अभिनेता धर्मेन्द्रको कुनै टिप्पणीका कारण उनका फिल्महरूलाई नेपालमा प्रतिबन्ध लगाइएको थियो । त्यसैले शोले नेपालमा प्रदर्शन भएको थिएन ।

इरान-इराक युद्ध, बसन्ती र शोले

८० को दशकको कुरा हो ।

भारतमा शोले रिलिज भएको केही वर्षपछि इरान र इराकबीच युद्ध सुरु भयो ।

अर्को भाषामा बनेको यो फिल्म कैतेयुन कलेजलबाश जस्ता धेरै इरानीहरूका लागि निकै खास थियो ।

कैतेयुनका अनुसार युद्धको समय भएकाले इरानमा भीसीआर राख्नु पनि अपराध मानिन्थ्यो । तर पनि धेरै दुःख गरेर उनीहरूले भिडियो टेपको व्यवस्था गर्थे । अनि कोठा बन्द गरेर फिल्म हेर्थे । त्यसमा शोले पनि पर्थ्यो । यसमा वीरू र जयको मित्रता र रमाइलोले उनीहरूको मन जित्थ्यो ।

‘जब रङ्गीचङ्गी कपडा लगाएकी बसन्ती गब्बरको अगाडि खाली खुट्टा नाच्थिन्, म पनि आफ्नो कोठामा फन्को मार्दै नाच्थेँ । युद्धको डर र अन्योलका बीच हामी बालबालिकाहरू खुसीका केही पल खोज्ने गर्थ्यौं । मेरा लागि शोले बाल्यकालको अमूल्य हिस्सा हो,’ कैतेयुन अनुभव सुनाउँछिन् ।

पाकिस्तानमा बिक्थे शोलेका अडियो टेप

शोले पाकिस्तानी सिनेमा हलहरूमा वर्षौंसम्म रिलिज नभए पनि यसको १२० मिनेट लामो अडियो टेप पाकिस्तानमा वर्षौँदेखि उपलब्ध थियो । खाडी मुलुकबाट पाहुना आउँदा उनीहरूले आफ्ना पाकिस्तानी नातेदारका लागि शोलेको अडियो टेप कोसेली ल्याउँथे ।

त्यसैले त्यहाँका मानिसहरूलाई शोलेका संवादहरू कण्ठै याद थिए ।

फिल्म बनेको ४० वर्षपछि २०१५ मा पाकिस्तानमा शोले रिलिज हुँदा फिल्म हेर्न गएका दर्शकहरूले हलभित्रै गब्बर, बसन्ती, जय र वीरूसँगै संवाद दोहोर्‍याइरहेका थिए ।

अफ्रिकामा बस्ने शोलेका एक प्रशंसकको युट्युबमा एउटा भिडियो छ । त्यहाँ पनि उनले शोलेलाई प्रशंसा गरेका छन् । हलिउडका अन्य फिल्मभन्दा शोलेको भावनात्मक पक्षले आफूलाई धेरै छोएको त्यहाँ बताइएको छ ।

…अनि ढाकामा बालबालिकाहरू खेल्थे गब्बर सिंहको खेल

भारतको छिमेकी देश बाङ्गलादेशमा पनि शोलेका प्रशंसकहरू कम छैनन् ।

ढाकामा बस्ने फर्जाना बारी त्यसबेलाको समय यसरी सुनाउँछिन् – यो ९० को दशकको कुरा हो । हामी बाल्यकालमा सिङ्गो परिवारसँगै भीसीआरमा शोले हेर्थ्यौं । गब्बरको पात्र बालबालिकाहरूलाई धेरै मन पर्थ्यो । हामी बच्चाहरूको सबैभन्दा मनपर्ने खेल शोलेका दृश्यहरू दोहोर्‍याएर खेल्नु हुन्थ्यो । हामी खेलमा एकअर्कालाई सोध्थ्यौं – कितने आदमी थे ? 

पछि डिस टिभी आएपछि शोलेका गीतहरू ये दोस्ती हम नहीं छोडेङ्गे… र त्यो होलीको गीतहरू बजिरहेका हुन्थे । अनि हामी पनि ती गीत गाउन खोजिरहेका हुन्थ्यौं ।

यो फिल्मका अनेकन् किस्साहरू पनि छन् ।

आरडी बर्मन, महबूबा… महबूबा र हेलन

शोलेमा चर्चित अभिनेत्री हेलनमाथि सुट गरिएको महबूबा… महबूबा गीत निकै लोकप्रिय भएको थियो । यो गीत स्वयं सङ्गीतकार आरडी बर्मनले गाएका थिए ।

यसको धुन ग्रिक गायक डेमिस रुसोसको से यु लभ मी भन्ने गीतसँग धेरै मिल्छ । त्यो गीत शोले भन्दा अघि सन् १९७४ मा आएको थियो । उक्त धुन पनि एउटा पुरानो लोकगीतबाट प्रभावित थियो ।

अनुपमा चोपडाको पुस्तक शोले – द मेकिङ अफ ए क्लासिकका अनुसार शोलेका पटकथा लेखक जावेद अख्तर यो गीत फिल्ममा राख्न तयार थिएनन् । विकट जङ्गलका डाँकु गब्बर सिंहले यस्तो गीत हेरेको कुरा सुहाउँदैन भन्ने उनलाई लागेको थियो ।

तर गीत सुनेपछि जावेदले पनि गीत निकै राम्रो रहेको स्वीकारे । उनले यो गीत धर्मेन्द्र र हेमामाथि खिच्ने प्रस्ताव राखे । तर निर्देशक रमेश सिप्पी लगायत अन्यलाई वीरू र बसन्तीका लागि यो गीत उपयुक्त नहुने लाग्यो । त्यसपछि उनीहरूको हकमा खिचिएको थिएन ।

खाली खुट्टा नाचेकी हेमा मालिनी

गीत र बसन्तीको कुरा गर्दा जब तक है जाँ… गीतलाई कसरी बिर्सन सकिन्छ र !

यो गीत गर्मी मौसममा हेमा मालिनीमाथि सूट गरिएको थियो । डाँकु गब्बर सिंहको अगाडि बसन्तीको भूमिका निभाइरहेकी हेमा मालिनीले ताता चट्टानमा खाली खुट्टा नाच्नुपर्ने थियो ।

तातो चट्टानमा नाच्न सहज होस् भनेर सुरुमा मालिनीको खुट्टामा प्याड राखिएको थियो । तर त्यसले गर्दा नाच्न असजिलो भयो । अनि भत्भती पोल्ने तातो चट्टान भए पनि मालिनीले धेरैजसो दृश्य खाली खुट्टै सुट गरिन् ।

एउटा दृश्यमा गब्बरको साथी साम्बाले सिसा फुटाउँछ । बसन्तीले त्यसमाथि खाली खुट्टा नाच्नुपर्ने हुन्छ । गल्तीवस सिसाका केही टुक्राहरूले गर्दा हेमा मालिनीको खुट्टा साँच्चिकै काटिएको थियो । तैपनि उनले दुखेको खुट्टामै गीतको सुटिङ पूरा गरेकी थिइन् ।

शोले किन विदेशमा पनि सफल ?

आखिर भाषा, देश र संस्कृतिको सिमाना नाघेर शोले यति धेरै लोकप्रिय हुनुको कारण के होला ?

इरानी मिडियाका इतिहासकार बह्रोज तुरानीका अनुसार ८० को दशकमा इरान सरकारले नाचगानमा प्रतिबन्ध लगाएको थियो । तैपनि शोले इरानमा निकै चर्चित भयो । किनकि जुन कुरामा रोक लगाइएको थियो, ती सबै कुरा शोलेमा थिए ।

उनका अनुसार इरानी मान्छेहरूलाई शोलेको रोमान्स, हिरोइज्म र गीतहरू धेरै मन परे । साथै, लार्जर देन लाइफ देखाउने भारतीय फिल्महरूको शैली पनि उनीहरूलाई धेरै मन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?