१३ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ मा चार वर्षदेखि अवरुद्ध रहेको पानी निकास खुलाइएको छ ।
महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गरेर पानीको निकास खुलाएको हो ।
पानीको सहज निकास नहुँदा वर्षायाममा वडा नम्बर १७, २५ र २६ को सुगौली, अलौलगायत आसपासका बस्ती तथा ठूलो क्षेत्र डुबानमा पर्दै आएको थियो ।
लामो समयसम्म पानी जमिरहँदा स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै खेतीपातीसमेत प्रभावित हुँदै आएको थियो ।
यस्तै, बस्ती तथा आसपासका क्षेत्रमा लामो समय पानी जम्दा लामखुट्टेको प्रकोप बढ्ने, दुर्गन्ध फैलिने तथा स्वास्थ्यसम्बन्धी समस्या निम्तिने गरेको स्थानीयको गुनासो थियो ।
लामो समयदेखि अवरुद्ध पानी निकास खुलाउन थालिएपछि सुगौली, अलौलगायत आसपासका क्षेत्रका स्थानीयवासीले वर्षायाममा हुने जलजमावको समस्या कम हुने अपेक्षा गरेका छन् ।
महानगरपालिकाका अनुसार अवरुद्ध पानी निकासलाई पूर्ण रूपमा खुलाएर पानीको सहज निकास गराउने काम भएको छ ।
प्रतिक्रिया 4