१३ असोज, क्यान्बेरा (अस्ट्रेलिया) । सडक मानवमुक्त नेपाल निर्माणको महाअभियानमा जुटेको मानवसेवा आश्रमलाई सहयोग पुर्याउने उद्देश्यले अस्ट्रेलियाको क्यान्बेरामा विशेष च्यारिटी तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य असहाय व्यक्तिहरूको उद्धार, उपचार र पुनःस्थापनामा सक्रिय आश्रमको अभियानलाई प्रवासका नेपालीसँग जोड्न आगामी शुक्रबार यो कार्यक्रम गर्न लागिएको हो। आयोजकका अनुसार, गंगालिनस्थित थकाली लाउन्ज एन्ड बारमा साँझ ६ बजेदेखि कार्यक्रम सुरु हुनेछ।
यसका लागि अस्ट्रेलिया पुगेको मानवसेवा आश्रमको टोलीले अस्ट्रेलियाका विभिन्न सहरमा पुगेर नेपाली समुदायसँग अन्तरक्रिया गरिरहेको जानकारी दिएको छ ।
मानवसेवा आश्रम क्यान्बेरा च्याप्टरका संयोजक कृष्ण सुवेदीले प्रवासमा रहेका नेपालीहरूलाई सडक मानवमुक्त नेपालको अभियानसँग जोड्नु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए।
उनले भने, ‘आश्रमको अभियानबारे सचेतना जगाउन, सहयोग तथा सहकार्यको वातावरण निर्माण गर्न र नेपालमा भइरहेका कामबारे प्रत्यक्ष जानकारी गराउन यो कार्यक्रम आयोजना गरिएको हो।‘
२०६९ सालमा स्थापना भएको मानवसेवा आश्रमले सडकबाट असहायहरूको उद्धार गर्ने मात्र नभई उनीहरूलाई आवश्यक भोजन, औषधोपचार, पारिवारिक पुनर्मिलन र समाजमा सम्मानजनक पुनःस्थापनाको काम गर्दै आएको छ।
हालसम्म देशका ७ वटै प्रदेशका २४ जिल्लामा ३५ वटा सेवा केन्द्र विस्तार गरिसकेको आश्रमले हजारौँ सडक आश्रित मानवहरूलाई नयाँ जीवन दिइसकेको छ।
मानवसेवा आश्रम अष्ट्रेलियन क्यापिटल टेरिटोरी च्याप्टरले क्यान्बेरा र यस वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूलाई यस पुण्य कार्यमा सहभागी भई सहयोग गर्न अपिल गरेको छ।
प्रतिक्रिया 4