१४ असोज, पोखरा । नेपथ्य फेरि एकपटक ग्रामीण सुस्केरा र गाउँबेसीका पहाडहरू बीचमा सेती गण्डकीको काखमा गुञ्जिने भएको छ । यो ब्याण्डको आगामी कन्सर्टले तनहुँको शुक्लागण्डकीलाई तरंगित बनाउने भएको छ ।
मंसिर १२ गते भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा नेपथ्य गुञ्जिने भएको छ । लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा हुने कन्सटृको शीर्षक नै राखिएको छ-‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी ।’
कन्सर्टलाई केवल सांगीतिक उत्सव मात्र नभई सामाजिक रूपान्तरणको एउटा माध्यमका रूपमा उभ्याएको आयोजकले बताएको छ । लायन्स इन्टरनेशनलको ‘पढाउ’ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा टेवा पुर्याउने मुख्य उद्देश्यसहित यो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम संयोजक खुमबहादुर विक ‘राजु’ ले यस ऐतिहासिक सांगीतिक क्षणबारे जानकारी दिँदै भने, ‘कन्सर्टमा १० हजार बढी संगीतप्रेमीहरू झुम्नेछन्, नेपथ्यको स्वरमा स्वर मिसाउँदै छमछमी नाच्नेछन् ।’ उनका अनुसार यो कार्यक्रमबाट करिब एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
संगीतको यो सुनौलो माहोलबाट बचेको रकम विपन्न वर्गका विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा खर्चिने प्रतिबद्धता जनाइएको छ । संयोजक विकले थपे, ‘बचत रकम लायन्स क्लब इन्टरनेशनल ३२५ एमको मूल मन्त्र ‘पढाउ’ अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रको विकासमा खर्च गरिनेछ । हामी संगीतको माध्यमबाट विद्यार्थी तथा युवापुस्तालाई सकारात्मक र सिर्जनात्मक गतिविधिसँग जोड्न चाहन्छौं ।’ विपन्न विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोसाक वितरण गर्ने यो अभियानले संगीत र सामाजिक सेवाको गतिलो पुल निर्माण गर्नेछ ।
कन्सर्टले तनहुँसहित छिमेकी जिल्लाहरू कास्की, स्याङ्जा, लमजुङ, गोरखा, पाल्पा र आसपासका हजारौँ युवा, विद्यार्थी, व्यवसायी र सर्वसाधारणलाई एउटै मञ्चमा उभ्याउनेछ।
क्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यस पहलको उच्च प्रशंसा गरे । उनले भने, ‘स्थानीय तहको हैसियतमा गर्नुपर्ने सहयोग गर्नेछौं। अहिलेका युवासँग संगीतमा मात्रै होइन विकास निर्माणमा पनि हातेमालो गरेर अगाडि बढ्नेछौं ।’
भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले कार्यक्रम आयोजनापूर्व नै बचत रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उद्घोषले समाजमा सकरात्मक सन्देश प्रवाह गरेको बताए । म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पनि संगीत क्षेत्रका अग्रज र उदयमान प्रतिभाहरूलाई यो कार्यक्रमले ठूलो उत्साह थप्ने धारणा राखे ।
ऐतिहासिक क्षणको पर्खाइमा शुक्लागण्डकी
नेपथ्यको ब्याण्ड प्रकृतिले ज सधैँ नेपालीपन, अपनत्व र देशप्रेमका धुनहरूमार्फत लाखौं युवाको मन जितेको छ, त्यसैगरी शुक्लागण्डकीको यो सांगीतिक साँझ पनि अविस्मरणीय बन्नेछ । लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुंगानाले यस ऐतिहासिक पलको तारतम्य मिलाउन पाउँदा गर्व महसुस भएको बताए ।
उनले भने, ‘अब यो कार्यक्रमलाई अझ धेरै ऐतिहासिक र भव्य तरिकाले सम्पन्न गराउने जिम्मेवारी तपाईंहरूलाई नै सुम्पिएका छौं। हामीलाई आशा छ, जसरी आज यहाँहरूले उत्साहपूर्ण साथ दिनुभएको छ त्यसरी नै कार्यक्रम पश्चात् पनि साथ पाउनेछौं ।’
शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, क्लबका सचिव सुरेश पौडेल, प्रचारप्रसार संयोजक शंकर पन्तलगायतका वक्ताहरूले यस महाअभियानलाई सफल बनाउन सबैको सक्रिय सहकार्यको आह्वान गरे ।
प्रतिक्रिया 4