१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत भइरहेका प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा केही ठाउँमा विवाद देखिएको छ ।
प्रायः प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा क्षेत्रीय कार्यसमितिहरू चयन सर्वसम्मत भए पनि केही स्थानमा महाधिवेशन प्रतिनिधि चयनमा विवाद देखिएको हो ।
क्षेत्रका नेताहरूले सर्वसम्मत महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने भनेपछि निर्वाचन समितिहरूले कतै निर्वाचन प्रक्रिया अघि नबढाउँदा र कतै व्यवस्थापन फितलो हुँदा स्याङ्जा २, सिन्धुपाल्चोक–२, काभ्रे–२, दैलेख–२ र काठमाडौं–३ मा विवाद उत्पन्न भएको छ ।
स्याङ्जा–२ मा मतदानका क्रममा व्यवस्थापन फितलो भएकोभन्दै विवाद देखिएको हो । निर्वाचन समितिले बुधबार बैठक बसेर बिहीबार मतदान प्रक्रिया अघि बढाउने बताएको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तरर्गत सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ । नेता बंशलाल तामाङ पक्षले मतदानमा धाँधली भएको भन्दै विवाद गरेपछि अधिवेशन स्थगित भएको हो ।
सिन्धुपाल्चोक–२ मा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्रहरू प्रयोग गरिएको उत्पन्न विवादका कारण निर्वाचन प्रक्रिया स्थगित भएको छ । मंगलबार नेता बंशलाल तामाङले फर्जी मतपत्र भेटिएको भन्दै मतपेटिकामा खुट्टा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
भिडियोमा उनले मतपेटिकामा लात हान्दै ‘यस्तो अधिवेशन नि हुन्छ ? सबै सिग्नेचर नभएको…..’ भन्दै गरेको सुनिन्छ । एक महाधिवेशन प्रतिनिधिका आकांक्षीले स्थगित मतदान प्रक्रिया अघि नबढेको जानकारी दिएका छन् ।
यस्तै काभ्रे–२ मा मनोनयन दर्ता भइसक्दा पनि सहमतिका नाममा अन्तिम नामावली प्रकाशित नगरेको भन्दै झण्डै एक दर्जन आकांक्षीहरूले निर्वाचन प्रक्रिया अघि बढाइदिन केन्द्रीय निर्वाचन समितिसँग माग गरेका छन् ।
काभ्रे–२ का २३ जना महाधिवेशन प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै बुधबार केन्द्रीय निर्वाचन समितिसमक्ष निवेदन दिएका छन् । निवेदन दर्ता प्रक्रियामा संलग्न खुला तर्फका महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रकाश थापाले केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाललाई निवेदन दिएको जानकारी दिएका छन् ।
निर्वाचन समितिले उम्मेदवारहरूसँग सम्पर्क नगरी निर्वाचन प्रक्रिया सम्पन्न भएको भ्रामक सूचना जारी गरेकाले आफूहरूले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै निवेदन दिएको उनले बताए ।
त्यसैगरी दैलेख–२ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुनुपर्ने माग राख्दै उम्मेदवारहरूले निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेका छन् । सर्वसम्मतिको नाममा सूचना टाँस गरेर महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने प्रयास गरिएको भन्दै उम्मेदवारहरूले मंगलबार निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेका हुन् ।
तालाबन्दी गर्नेमध्येका महाधिवेशन प्रतिनिधि रामचन्द्र भण्डारीले बुधबार दिउँसोसम्म मतदान प्रक्रिया अघि बढाउने विषयमा केही निर्णय हुन नसकेको र तालबन्दी यथावत रहेको बताएका छन् ।
यता काठमाडौं–३ मा सम्पन्न क्षेत्रीय सभापति पदको निर्वाचन प्रक्रिया रद्द गर्न माग गर्दै जिल्ला निर्वाचन समितिमा उजुरी परेको छ । क्षेत्रीय सभापति पदका उम्मेदवार दुर्गा ढुंगेलले मंगलबार जिल्ला निर्वाचन अधिकृतसमक्ष निर्वाचन प्रक्रिया रद्द गर्न माग गर्दै निवेदन दिएका छन् ।
उम्मेदवारहरूलाई उम्मेदवारी मनोनयन तथा सम्बन्धित प्रक्रिया पूरा गर्ने पर्याप्त अवसर र सूचना नदिई एक उम्मेदवारलाई विजयी घोषणा गरिएकोप्रति आफ्नो आपत्ति रहेको ढुंगेलले उजुरीमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4