१४ असोज, काठमाडौं । नेपाली कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षीय नेता–कार्यकर्ताहरूले देउवा समूहको अधिवेशनमा भाग लिने भएका छन् ।
नेता कोइराला तटस्थ बसे पनि उनी निकट नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको पूर्वसभापति शेरबहादुर देउवाको समूहले सुरु गर्न लागेको अधिवेशनमा सहभागी हुने भएका हुन् ।
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले आफ्नो समूहका नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको वडा अधिवेशनमा सहभागी हुने पुष्टि गरेका छन् ।
‘केहीले स्वविवेक प्रयोग गरेर अस्तीको महाधिवेशनमा भाग लिनुभयो । अब केहीले स्वविवेक प्रयोग गरेर भोलिबाट सुरु हुने महाधिवेशनमा भाग लिनुहुन्छ,’ उनले भने ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।
प्रतिक्रिया 4