१४ असोज, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीले दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको जानकारी दिए। प्रभावित क्षेत्रमा सञ्चार सेवालाई उच्च प्राथमिकताका साथ पुनर्स्थापना गरिएको उनको भनाइ छ।
मन्त्री तिमिल्सिनाका अनुसार भोटेकोशी बाढीले नेपाल टेलिकमका तीनवटा टावर पूर्ण रूपमा नष्ट गरेको थियो। यद्यपि, ती स्थानमा तत्काल वैकल्पिक टावरको व्यवस्था गरी सेवा सुचारु गरिएको छ।
सडक सञ्जाल टुटेको रसुवागढी क्षेत्रमा भने हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर सोलार प्रणालीमा आधारित टावर सञ्चालनमा ल्याइएको उनले संसद्मा जानकारी गराए।
पछिल्लो बाढीपहिरोले गण्डकी प्रदेशका ११ जिल्लाका कुल २९१ वटा दूरसञ्चार साइटमा क्षति पुगेकोमा हालसम्म २४६ वटा साइट मर्मत गरी सेवा सुचारु भइसकेको छ। बाँकी ४५ वटा साइटमा विद्युत् आपूर्ति सुचारु हुनासाथ सेवा चल्ने मन्त्री तिमिल्सिनाले स्पष्ट पारे।
विद्युत् आपूर्तिका लागि ऊर्जा मन्त्रालयसँग समन्वय गरी प्राविधिक टोली र जेनेरेटर परिचालन गरिएको छ।
दूरसञ्चार टावरसँगै अप्टिकल फाइबर नेटवर्क र ब्याकबोन ट्रान्समिसनमा पुगेको क्षतिको पनि क्रमशः मर्मत भइरहेको छ।
फाइबर काटिएर सेवा अवरुद्ध भएका कतिपय स्थानमा तत्कालका लागि वैकल्पिक रूपमा माइक्रोवेभ प्रविधि प्रयोग गरेर सञ्चार सेवालाई निरन्तरता दिइएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।
प्रतिक्रिया 4