+
+
Shares

प्रधानमन्त्रीलाई सांसद दुलालको व्यङ्ग्य– एक्स्ट्रा अर्डिनरीमा पर्ने रास्वपाका इन्जिनियर सांसदहरूलाई बधाइ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १६:०२

१५ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूकोे स्तर निर्धारण गरेको भनेर व्यङ्ग्य गरेका छन् ।

‘राणा शाषकहरूले आफूलाइ ए, बि, र सि क्लासमा विभाजन गरेका थिए रे । हिजो हाम्रो प्रधानमन्त्रीले सांसदहरूकोे स्तर निर्धारण गर्नु भएछ, एक्सट्रा अर्डिनरी, एभरेज र बिलो एभरेज भनेर,’ दुलालले भने, ‘रास्वपामा रहेका इन्जिनियर साँसदहरू ए अर्थात एक्स्ट्रा अर्डिनरीमा पर्नु भएछ, उहाँहरूलाई बधाइ छ ।’

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यहाँनेर उनले प्रधानमन्त्रिले केही समय अगाडि देश बनाउने टिम भनेर तीन जनाको फोटो सार्वजनिक गरेको पनि स्मरण गरे ।

अनि प्रधानमन्त्रीलाई सोधे, ‘महान दार्शनिक अरस्तुको असल शाषकका गुणहरू प्रतिस्थापन भए कि बाँकी नै छन् ? र, प्रधानमन्त्री स्वयंलाई निर्देशन दिने पार्टी सभापति एभरेजमा पर्नुभयो कि बिलो एभरेजमा ? र अरु सांसदहरू के मा पर्नुभयो ? या यो पनि अर्को ठट्टा हो जसले हाम्रो प्रधानमन्त्री ठिकठाक हुनुहुन्छ भनेर हामीले बुझौं ?’

बुधबार प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई एक्स्ट्रा अर्डिनरी सांसद्को संज्ञा दिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा १७ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य थिए भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै थिए ।

सुरुमा सांसदहरूले एकसरो कुरा राखेका थिए । त्यसपछि प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए ।

त्यसक्रममा कस्तो सांसदले कस्तो विषय उठाउँछन् भनेर पनि प्रधानमन्त्ती शाहले व्याख्या गरेका हुन् ।

व्याख्याका क्रममा प्रधानमन्त्री शाहले अभिव्यक्तिका दृष्टिमा सांसदहरूलाई तीन स्वरुपमा वर्गीकरण गरेका थिए, एभरेज, एभरेज भन्दा तल र एक्स्ट्रा अर्डिनरी ।

इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूलाई प्रधानमन्त्री शाहले एक्स्ट्रा अर्डिनरी सांसदको रुपमा प्रस्तुत गरेका थिए ।

‘इन्जिरिनयर भनेको एक्स्ट्रा अर्डिएनरी हो । एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन् । त्यो भन्दा तलकोले मलाई यो गर त्यो गर भन्छन् । एक्स्ट्रा अर्डिनरी भएकोले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ । यो गरे देश बन्छ । तपाईंहरूको आइडियाले देश बन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले अनलाइनखबरसँग भनेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले ‘औधोगिकीकरणमा के गर्ने भनेर आइडियाहरू दिन’ इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई भनेका थिए ।

साथै, उनले कुनै आइडिया हुँदा सीधै प्रधानमन्त्री कार्यालयसँग समेत सम्पर्क गर्न सकिने र आइडिया लिएर आउनेसँग सहजै भेट हुने आश्वासन पनि सांसदहरूलाई दिएका थिए ।

यो पृष्ठभूमिमा नेकपाका प्रमुख सचेतक दुलालले सांसदहरूको वर्गीकरणको विषय उठाएर प्रश्न गरेका हुन् ।

यो विषयमा सत्तारुढ दल रास्वपाका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्यले पनि संसद्बाटै व्यङ्ग्य कसेका छन् ।

उनले भनेका छन्, ‘म औसत क्षमताको इन्जिनियर भएर होला मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ । म आफैं पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?