१५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकभरको बाढी–पहिरोको अवस्थाप्रति सरकारको निष्क्रियता रहेको आरोप लगाउँदै आलोचना गरेकी छिन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले गण्डकी र कर्णालीलगायतका क्षेत्रमा नागरिकले भोग्नुपरेको पीडा र राज्यको अनुपस्थितिमाथि प्रश्न उठाइन् ।
सांसद थापाले हालैको भारी वर्षाका कारण गण्डकी प्रदेशमा मात्र २७ जनाको ज्यान गएको र ११ जना अझै बेपत्ता रहेको दु:खद् तथ्यांक प्रश्तुत गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरिन् । साथै, बेपत्ताहरूको खोजी, उद्धार र राहतका लागि सरकारले चालेका कदमबारे स्पष्ट जवाफ माग पनि गरिन् ।
विशेषगरी खोज तथा उद्धारमा कति सुरक्षाकर्मी र कुन प्रविधि प्रयोग भइरहेको छ भन्नेबारे जिल्लागत र व्यक्तिगत प्रगति विवरण सार्वजनिक गर्न सरकारलाई उनले दबाब दिइन् ।
आफ्नो निर्वाचन क्षेत्र दैलेखसहित कर्णालीका विभिन्न स्थानमा बाढी–पहिरोले सडक, पुल र विद्युत्लगायतका भौतिक संरचना ध्वस्त हुँदा नागरिकले सास्ती खेप्नुपरेको उनले स्मरण गराइन् ।
चाडबाडको मुखमा राजमार्गहरू अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेको भन्दै उनले अवरुद्ध सडकहरूको एकीकृत सार्वजनिक सूचना प्रणाली नहुनु सरकारको कमजोरी भएको औंल्याइन् ।
सांसद थापाले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा राहत, उपचार र पुन:स्थापनाका लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ भन्ने विषयमा तत्काल स्पष्ट पार्न सरकारसँग माग गरे ।
प्रतिक्रिया 4