+
+
Shares

बाढीपहिरोको क्षतिबारे राष्ट्रिय सभा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षापछि आएको बाढी र पहिरोले देशभर ठूलो जनधन क्षति पुर्‍याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पामा १० वटै स्थानीय तहमा सडक अवरुद्ध भएको, दर्जनौँ घर पुरिएको र कालीगण्डकी कटानले पुलहरू बगाएको बताइन् ।
  • सांसद सम्झना देवकोटाले मनाङ, मुस्ताङ र मर्स्याङ्दी तटीय क्षेत्रमा २१ जनाभन्दा बढीको मृत्यु र सयौँ परिवार विस्थापित भएको तथ्याङ्क प्रस्तुत गरिन् ।
  • सांसद पूजा चौधरीले राहत वितरण प्रणाली फितलो भएको आरोप लगाउँदै तत्काल शिक्षा, स्वास्थ्य, खाद्य र जल संकट समाधान तथा पुनर्निर्माणको योजना माग गरिन् ।

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण देशभर आएको बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो पटक असोज ८ गतेदेखि परेको वर्षाले पाल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा सडक सञ्जाल अवरुद्ध हुनुका साथै जनजीवन कष्टकर बनेको भन्दै सांसदहरूले तत्काल राहत, उद्धार र पुनर्निर्माणको माग गरेका हुन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रश्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरे ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पा जिल्लाको अवस्थाबारे जानकारी दिँदै १० वटै स्थानीय तहमा सडक अवरुद्ध भएको र दर्जनौँ घर पुरिँदा मानवीय क्षति भएको बताइन् । उनले विशेषत: कालीगण्डकी नदीको कटान र केलादी, राम्दी लगायतका प्रमुख पुलहरू बगाउँदा यातायात र जनजीवन पूर्ण रूपमा प्रभावित भएको जानकारी दिइन् ।

सांसद सम्झना देवकोटाले मनाङ, मुस्ताङ र मर्स्याङ्दी नदी तटीय क्षेत्रको अवस्थाबारे चर्चा गर्दै २१ जनाभन्दा बढीको मृत्यु र सयौँ परिवार विस्थापित भएको तथ्याङ्क प्रश्तुत गरिन् ।

‘सरकारले पूर्वसूचना जारी गरे पनि बाढीको असर नसोचेको ठाउँसम्म पुगेको छ । अब आउने चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिम बढ्दो छ,’ उनले भनिन् ।

उनले मर्स्याङ्दी नदी थुनिएको अवस्थालाई शतर्कतापूर्वक समाधान गर्न र पर्वतारोहीहरूको उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गरिन् ।

सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अविरल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाइन् ।

 ‘राहत सामग्री गोदाममै कुहिनु र पीडितले नपाउनु दु:खद् छ । तत्काल शिक्षा र स्वास्थ्यको अस्थायी व्यवस्थापन नभए बालबालिकाको भविष्य अन्धकार हुनेछ,’ उनले भनिन् ।

उनले मधेश प्रदेशमा समेत खाद्य र जल संकटको खतरा बढेको भन्दै दिगो पुनर्निर्माणको योजना ल्याउन सरकारलाई ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?