+
+
Shares

बाढीपहिरोका घाइते : टिचिङमा १९, ट्रमामा १० र वीरमा ३ उपचाररत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १३:३५

२३ भदौ, काठमाडौं । बाढीपहिरोमा घाइते भएर काठमाडौं ल्याइएका १५० जनामध्ये ३२ जना अझै उपचाररत छन् । अस्पतालको प्रशासनबाट प्राप्त जानकारी अनुसार, मंगलबारसम्ममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित १९, राष्ट्रिय ट्रमा सेन्टरमा १० र वीरमा तीन जना उपचाररत छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बाढीपहिरोमा परी घाइते भएका ८१ जना उपचारका लागि भर्ना भएका थिए ।

अस्पताल प्रशासनले मंगलबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ५७ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । हाल १९ जना विभिन्न वार्ड तथा सघन उपचार कक्षमा उपचाररत छन् ।

अस्पतालका अनुसार एक जना बिरामी डिस्चार्जका लागि तयार अवस्थामा छन् भने चार जनालाई ‘अन्य’ व्यवस्थापन गरिएको छ ।

उपचाररत घाइतेहरू अर्थोपेडिक, एचडीयू, आईसीयू, न्युरोसर्जरी, प्लास्टिक सर्जरीलगायतका विभागमा उपचाररत छन् ।

अस्पतालले सार्वजनिक गरेको नामावलीअनुसार उपचाररतमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, नवलेश शर्मा (भारत), पवित्रा कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारू, रिता डोल्चा, ऋतु डंगोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सिजल थापा क्षेत्री र सितार तामाङलगायत छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा बाढीपहिरोमा परी घाइते भएका ५० जना उपचारका लागि भर्ना भएका थिए । सेन्टरका  प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले दिएको जानकारी अनुसार  हालसम्म ३८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

एक जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ भने उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । हाल १० जना उपचाररत छन् । उपचाररतमध्ये दुई जना एचडीयूमा छन् ।

उपचाररत घाइतेमा भक्तबहादुर भण्डारी, सीता भण्डारी, नन्दलाल घर्ती, शम्भुलाल श्रेष्ठ, आठ वर्षीय जोयल घले, सुबास भण्डारी, इन्द्रमणि गैरे, रामजी विश्वकर्मा, निलबहादुर सापकोटा र भक्तबहादुर नेपाली छन् । अस्पतालको विवरणअनुसार उनीहरूमध्ये कसैको कम्मर, हातखुट्टा तथा टाउकोमा चोट लागेको छ भने कसैको शरीरका विभिन्न भागमा चोट तथा आन्तरिक चोट रहेको छ ।

डा. मरासिनीका अनुसार उपचाररत घाइतेहरूको अवस्थाअनुसार विभिन्न वार्डमा उपचार भइरहेको छ ।

वीर अस्पतालमा बाढीपहिरोमा परी घाइते भएका १९ जना उपचारका लागि आएका थिए । तीमध्ये अधिकांश उपचारपछि डिस्चार्ज भइसकेका छन् । वीर अस्पतालकी उपनिर्देशक डा. अनिता जीसीका अनुसार अहिले तीन जना मात्रै अस्पतालमा उपचाररत छन् ।

उपचाररत तीन जनामध्ये एक जना आईसीयूमा, एक जना पुरुष मेडिकल वार्डमा र एक जना महिला मेडिकल वार्डमा उपचाररत छन् । अन्य घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

रसुवाको भोटेकोशीलगायत नुवाकोट, गोरखा र धादिङका विभिन्न क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपहिरोपछि घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको थियो । घाइतेमध्ये कतिपयलाई काठमाडौंका अन्य अस्पतालमा समेत उपचारका लागि लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?