+
+
Shares

जाजरकोटमा पहिरो : नलगाडका १९ घरपरिवार प्रभावित

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको नलगाड नगरपालिका–१३ मा अविरल वर्षाका कारण आएको भलबाढी र पहिरोले १९ घरपरिवार प्रभावित भएका छन् ।
  • फुम्दा र खातिगुर्तालगायतका क्षेत्रमा जमिन भासिने र बग्ने क्रम बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
  • प्रभावित परिवारले जोखिमयुक्त बस्तीको निरीक्षण गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन माग गरेका छन् ।

२ भदौ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१३ मा अविरल वर्षापछि आएको भलबाढी र पहिरोका कारण १९ घरपरिवार प्रभावित भएका छन् । लगातारको वर्षासँगै वडाका विभिन्न स्थानमा जमिन चिरिने, भासिने र बग्ने क्रम बढेपछि बस्तीहरू जोखिममा परेका छन् ।

वडा कार्यालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार फुम्दा, खातिगुर्तालगायतका क्षेत्रमा १९ घरपरिवार प्रभावित भएका हुन् । केही घर तथा टहरा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने प्रत्यक्ष क्षति नदेखिएका घरसमेत जमिन कमजोर बनेपछि जोखिममा परेको स्थानीयको भनाइ छ ।

प्रारम्भिक विवरणअनुसार फुम्दाका भदे दमाईको घर पूर्णरूपमा क्षति भएको छ । दत्ते दमाई, चन्द्रप्रकाश सिंह, खिमबहादुर गुरुङ, नवीन सिंह, भक्तबहादुर सिंह, प्रेमबहादुर सिंह, चन्द्रबहादुर दमाई, राजु बुढा, धनराज शाही, डिल्ली बुढा, लिले दमाई, कालीबहादुर शाही, विनोद शाही, मानबहादुर मल्ल, सरोज मल्ल, गोपाल शाही र रामबहादुर शाहीका घर तथा टहरा क्षतिग्रस्त वा जोखिममा परेका छन् । कर्णे दमाईको घरमा समेत क्षति पुगेको छ ।

चन्द्रबहादुर दमाई, राजु बुढा र लिले दमाईका शौचालय पूर्णरूपमा क्षति भएका छन् । गोपाल शाही र रामबहादुर शाहीका टहरामा क्षति पुगेको छ भने उनीहरूका घरसमेत पूर्ण जोखिममा रहेको वडा कार्यालयको विवरणमा उल्लेख छ ।

बर्खे बालीमा पनि क्षति

भलबाढीले घर तथा बस्तीमा मात्र नभई खेतीयोग्य जमिन र बर्खे बालीमा समेत क्षति पुर्‍याएको छ । मकैसहितका बालीमा भल पसेर नोक्सान भएको स्थानीयले बताएका छन् ।

फुम्दा, धाराचौर, माजबारा, चौलापानी, कोलपेल्ला, पुदेरी गैरा, पानीखाला, शान्तिबे, थारीगाउँ र हले बस्तीलगायतका क्षेत्रमा पनि जमिन चिरिने, भासिने र बग्ने क्रम बढेको स्थानीयको भनाइ छ । कतिपय बस्ती नै बस्न योग्य नरहने अवस्था सिर्जना हुन थालेपछि स्थानीयमा त्रास बढेको छ ।

जमिन निरन्तर बगिरहेका कारण केही परिवारले घर छाडेर छिमेकीको घरमा आश्रय लिन थालेका छन् । घरमा प्रत्यक्ष क्षति नपुगेका परिवारसमेत जोखिम मोलेर बस्न बाध्य छन् ।

वर्षा नरोकिएकाले थप क्षति हुनसक्ने भन्दै स्थानीयले जोखिमयुक्त बस्तीको तत्काल निरीक्षण गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । उनीहरूले प्रभावित परिवारलाई राहत तथा आवश्यक खाद्यान्न उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

भलबाढी र पहिरोका कारण विभिन्न स्थानमा खानेपानीका पाइपलाइनसमेत क्षतिग्रस्त भएका छन् । पाइपलाइन लथालिंग भएपछि केही ठाउँमा खानेपानी आपूर्तिमा समेत समस्या देखिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सडक तथा बाटो निर्माणका क्रममा विभिन्न स्थानमा माथिबाट माटो र ढुंगा खसेर सामान्य क्षति भएको थियो । अहिले लगातारको वर्षासँगै ती कमजोर बनेका भूभागमा पहिरो र भलबाढीको जोखिम थप बढेको हो ।

स्थानीयले जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्न, क्षतिको विस्तृत मूल्याङ्कन गर्न तथा खानेपानी, खाद्यान्नलगायत आवश्यक राहत सामग्री उपलब्ध गराउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?