+
+
Shares

फ्लाई दुबईको ककपिटमा के–के भएको थियो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १७:२८

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईबाट फ्लाई दुबईको एफजे१०७३ कल साइन भएको बोइङ ७३७ जहाज इजरायलको तेल अभिभतर्फ उडेको थियो । विमानमा चालक दलका सदस्यसहित १७४ यात्रु थिए । तीमध्ये १५० भन्दा बढी इजरायल नागरिक रहेको सो विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ०७:०५ बजे उडेको थियो । उडान भरेको करिब साढे दुई घण्टापछि साउदी अरबको आकाशमा उडिरहेको थियो ।

ठीक त्यही बेला ककपिटभित्र नसोचेको घटना भयो ।

विमानका कोपाइलटले मुख्य क्याप्टेन स्मित मछारलाई आक्रमण गर्न थाले । ओमानी नागरिक रहेका कोपाइलटले भारतको मुम्बईका स्मितलाई चक्कु प्रहार गरी घाइते बनाउने, ककपिटका उपकरणहरू तोडफोड गर्दै विमानलाई दुर्घटनाग्रस्त गराउन खोजेका थिए ।

उता क्याप्टेन स्मितको टाउको र हातमा चोट लागिसकेको थियो । उनको रगत बग्न थालिसकेको थियो । अत्यधिक रगत बगेकाले उनी भुइँमा ढलिसकेका थिए । रक्तचाप निकै घटिसकेको थियो । उनी अचेत हुने अवस्थामा पुगेका थिए । तर, भुइँमा पल्टिरहेकै अवस्थामा उनले ककपिटको ढोका अनलक गर्ने बटन थिचेर ढोका खोले । ककपिटको ढोका खोल्नु नै विमानमा सवार सबैको ज्यान बचाउने मुख्य मोड बन्यो ।

आक्रमणको समयमा विमान अचानक ह्वात्तै तल झरेको रिपोर्टहरू आएका छन् । फ्लाइट राडारको रिपोर्ट अनुसार दुई मिनेटभन्दा कम समयमै विमान १७ हजार फिटभन्दा बढी तल खसेको थियो । यसरी कम समयमा ह्वात्तै विमान तीव्र गतिमा खस्दा हावाको चापका कारण विमानको पुच्छरमा रहेको रडरको अधिकांश भाग नै उप्किएको मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

त्यस्तै विमान भित्रका यात्रुहरूले विमानमा अत्यधिक कम्पन महसुस गरेको, अत्तालिएर चिच्याएको र धेरैले आफूहरू मर्न लागेको ठानेर आँखा बन्द गर्दै प्रार्थना गरिरहेको पनि रिपोर्टहरू आएका छन् ।

टीभी शो हेरेका प्लम्बरले जब सम्हाले जहाज

यो घटनाको टर्निङ पोइन्ट नै पाइलट स्मितले ककपिटको ढोका खोल्नु बन्यो ।

ककपिटको ढोका खुल्नासाथ तत्काल बाहिर रहेका यात्रुहरू भित्र छिरे । त्यसरी सबैभन्दा अगाडि छिर्नेमा पेसाले प्लम्बर रहेका इजरायल यात्रु यानिव हायुन पनि थिए । उनी ककपिट भित्र छिर्दा आक्रमणकारी कोपाइलट ककपिटका उपकरणहरू नष्ट गर्न लागिपरेका थिए । हायुनले तत्काल आक्रमणकारीलाई घाँटीमा समातेर बाहिर ताने र भुइँमा लडाए ।

विमानका क्याप्टेन स्मित मछार ।

त्यसपछि हायुनले टेलिभिजन शो ‘एयर क्र्यास इन्भेस्टिगेसन’ हेरेको अनुभवका आधारमा ककपिटको कन्ट्रोल ह्यान्डललाई पछाडि ताने । त्यसले गर्दा खसिरहेको विमान सम्हालिन पुग्यो । र, विमानको उचाई स्थिर हुन गयो ।

त्यसैगरी, विमान मै रहेका डा. शोता मुसायेभ र अर्का यात्रु त्भिका मेनेसले हेडफोनका तार र प्लास्टिक जिप टाईले आक्रमणकारी पाइलटलाई बाँधे । सँगै डा. मुसायेभले क्याप्टेन स्मिथको तत्काल प्राथमिक उपचार पनि गरे ।

साउदीमा आपत्कालीन अवतरण

आक्रमणकारी नियन्त्रणमा आइसकेपछि विमानमा यात्रुको रूपमा यात्रा गरिरहेका अफ ड्युटी पाइलटहरूले ककपिट सम्हाले । उनीहरूले विमानलाई साउदी अरेबियाको उत्तर पश्चिममा रहेको तबुक विमानस्थलमा सुरक्षित रूपमा आपत्कालीन अवतरण गराए ।

के भन्दैछन् राष्ट्रप्रमुखहरू ?

घटनापछि इजरायल प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याप्टेन स्मित मछार र यात्रुहरूको वीरताको उच्च प्रशंसा गरेका छन् । मोदीले सामाजिक सञ्जालमा लेख्दै गम्भीर घाइते अवस्थामा पनि क्याप्टेन स्मितले देखाएको साहसले सयौं यात्रुहरूको ज्यान बचाएको बताएका छन् ।

साउदी अरेबियामा आपतकालीन अवतरणपछि गम्भीर घाइते क्याप्टेनको शल्यक्रिया गरिएको छ । पछिल्लो समाचार अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ । यसका साथै अन्य १७४ जना यात्रुहरू अर्को विमानमार्फत सुरक्षित रूपमा तेल अभिभ पुगेका छन् ।

इजरायलका रक्षामन्त्री इजरायल कात्जले यस घटनालाई जिहादी आतंकवादी आक्रमणको प्रयास भनेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आक्रमणकारी सम्भवतः आतंकवादी हुन सक्ने आशंका व्यक्त गरेका छन् । भने आधिकारिक अनुसन्धान सुरु भइसकेको छ ।

सुरूमा भने घटनाबारे अर्कै तरिकाले चर्चा चलेको थियो । दुई पाइलटबीच विवाद तथा झगडा भएको भन्ने खालका जानकारी सोसल मिडिया र सञ्चार माध्यमहरूमाफर्त बाहिर आएका थिए ।

तर, वास्तविक कुरा भने अनुसन्धानको आधिकारिक निष्कर्ष नआइकन स्पष्ट हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?