१५ असोज, काठमाडौं । नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादन बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तार गर्ने उद्देश्यले १७ असोजदेखि चेम्बर अफ कमर्स भवन जमलमा ‘चेम्बर बजार’ सञ्चालन गर्ने भएको छ ।
बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकला सामग्री लगायत बिक्रीका लागि राखिने छ । मेलामा साल्ट ट्रेडिङ लगायतका स्टल रहनेछन् ।
चेम्बर बजारमा महिला उद्यमीका उत्पादनसँगै आयात निर्यातजन्य वस्तुसमेत प्रवर्द्धन तथा बजारीकरण गरिने छ । उद्यम गरिरहेका र उद्यम गर्न इच्छुक महिलालाई व्यवसायमा आकर्षित गर्न सरकारी प्रक्रिया तथा व्यवसाय सञ्चालन सम्बन्धी अभिमुखीकरण, सिप तथा भोकेसनल तालिम, महिला स्वास्थ्य सम्बन्धी सचेतना तथा नि:शुल्क स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम पनि सञ्चालन गरिने नेपाल महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिइन् ।
चाडबाड लक्षित गरी शनिबार र आइतबार बजार लाग्ने र चाडबाडपछि पनि शनिबार मेला सञ्चालनमा रहने उनले बताइन् ।
चेम्बर बजार केवल व्यापारिक मेला नभई महिलाको आर्थिक सशक्तीकरण, सिप विकास, बजार पहुँच र व्यावसायिक क्षमता अभिवृद्धिको निरन्तर अभियानका रूपमा अघि बढाइने नेपाल महिला चेम्बर सचिव ईरा प्रसाईंले बताइन् ।
मेला नेपाल युथ चेम्बरसँगको सहकार्यमा सञ्चालनमा आउन लागेको हो । महिला उद्यमीलाई आफ्नो उत्पादनको बजार विस्तार गर्न अवसर प्रदान गर्नुका साथै प्रत्येक महिलालाई व्यवसायप्रति प्रेरित र सक्षम बनाउने मुख्य लक्ष्य रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।
प्रतिक्रिया 4