+
+
Shares

कांग्रेस निर्वाचन आचारसंहिता : भड्किलो प्रचार शैलीमा रोक, ब्यानरदेखि पोस्टर–पम्पलेट निषेध

महाधिवेशन स्थल बाहिर प्रचारप्रसार गर्न नपाइने, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न सख्त मनाही गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १७:३१

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनका लागि आचारसंहिता लागु गरेको छ ।

समितिका सदस्य सचिव राजु कटुवालले शुक्रबार विज्ञप्ति जारी गरेर महाधिवेशनमा उठ्ने उम्मेदवारहरूका लागि आचारसंहिता लागु गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

‘केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी दिनुहुने आकांक्षी तथा उम्मेदवारहरूका लागि निर्वाचन आचारसंहितामा साविकका व्यवस्थाका अतिरिक्त थप तथा कडा प्रावधानहरू लागू गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनका अनुसार समितिले तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्णतया रोक लगाइने भएको छ । विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको उनको भनाइ छ ।

समितिले प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण प्रतिबन्ध, महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको जनाएको छ ।

यस्तै महाधिवेशन स्थल बाहिर प्रचारप्रसार गर्न नपाइने, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न सख्त मनाही गरिएको छ ।

डिजिटल तथा प्रविधिमैत्री प्रचारप्रसार मात्र अनुमति, उम्मेदवारहरूले आफ्ना एजेण्डा र उम्मेदवारी सम्बन्धी विवरण केवल डिजिटल माध्यम (सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यम) बाट मात्र सम्प्रेषण गर्न सकिने कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?