१६ असोज, काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष जुनियर (यू–२०) इन्डोर कबड्डी प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशालास्थित कभर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले गरे ।
प्रतियोगितामा पुरुष र महिलातर्फ ७ प्रदेशका ७ टोलीले सहभागिता जनाएका छन् । लिग कम नकआउटका आधारमा खेलाइने कबड्डी संघमा महासचिव अरविन्द्र झाले जानकारी दिए । नयाँ प्रतिभा प्रहिचान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको महासचिव झाले बताए ।
यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई साउदी अरबमा हुने इन्डोर एसियन कबड्डी र नोभेम्बर २० देखि २५ सम्म नेपालमा हुने यु–२० फोर नेसन्स कपका लागि छनोट गर्ने कबड्डी संघको तयारी छ ।
प्रतियोगिता आइतबारसम्म चल्नेछ ।
तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

प्रतिक्रिया 4