१७ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अवस्था बदलिएको भन्दै पुरानै तरिकाबाट अघि बढेर नहुने बताएका छन् ।
शनिबार काभ्रेको एकता बैठकलाई सम्बोधन गर्दै उनले गत वर्ष भएको जेनजी आन्दोलनपछि देश सहज अवस्थामा अघि नबढेको टिप्पणी गरे ।
साथै, अहिलेसम्म आइपुग्दा देशलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेको उनको भनाइ छ ।
‘गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि बढिरहेको छैन । अहिलेसम्म आइपुग्दा देशलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेका छन्,’ प्रचण्डले भने, ‘यस्तो परिस्थितिमा त्यसका विरुद्ध तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामीले अझ दृढतापूर्वक संघर्ष गर्नुपर्ने अवस्था छ ।’
साथै, अहिलेको चुनौतीको सामना गर्नका लागि कम्युनिस्ट शक्तिहरूबीच एकता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको जिकिर गरे ।
‘बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर हुँदैन । आजको चुनौतीको सामना गर्न सच्चा कम्युनिस्ट शक्तिहरूबीच पार्टी एकता र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य गर्दै अघि बढ्नुपर्छ,’ प्रचण्डले बैठकमा भने ।
विगतमा गरेका कामको पनि वस्तुनिष्ठ समीक्षा हुनुपर्ने उनको भनाइ थियो । गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल नखाने तर्क उनको थियो ।
‘सामन्ती राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा हामीले महत्त्वपूर्ण भूमिका खेलेका छौं,’ प्रचण्डले भने, ‘संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भयो र त्यसपछि तीनै तहका निर्वाचन सम्पन्न भएर संघीय संरचना कार्यान्वयनको आधार तयार भयो ।’
उनले आफू नेतृत्वको सरकारले गरेका कामहरूलाई जनताले तथ्यका आधारमा हेर्नुपर्ने बताए ।
गणतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य सही नभएको प्रचण्डको भनाइ थियो ।
प्रतिक्रिया 4