+
+
Shares

दाङमा प्रदेश राजधानीबाट रास्वपाको संगठन विस्तार अभियान, महामन्त्री आचार्य पनि सहभागी हुने

कार्यालय उदघाटन गरी पार्टीको अभियानका कार्यक्रममा सहभागी हुन रास्वपा महामन्त्री विपिन आचार्यसहित दाङबाट निर्वाचित सबै सांसदहरु आज दाङ पुग्दैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते ९:००

१८ असोज, दाङ । रास्वपा दाङले लुम्बिनी प्रदेश राजधानीबाट संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित अभियान सुरु गर्ने भएको छ ।

दाङमा प्रदेश कार्यालय उदघाटनसँगै प्रदेशस्तरको संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष संवादका कार्यक्रम अघि बढाउन लागिएको हो ।

पहिले लमहीमा रहेको रास्वपाको कार्यालय हाल प्रदेश राजधानीस्थल मौरीघाटमा स्थानान्तरण गरिएको छ । सो कार्यालय उदघाटन गरी पार्टीको अभियानका कार्यक्रममा सहभागी हुन रास्वपा महामन्त्री विपिन आचार्यसहित दाङबाट निर्वाचित सबै सांसदहरु आज दाङ देउखुरी पुग्दैछन् ।

रास्वपा दाङका जिल्ला सभापति किरण खनालले प्रदेश राजधानीबाट संगठन विस्तारको अभियान सुरु गर्न लागिएको बताए । ‘संगठन विस्तारसहितको अभियान हामी प्रदेश राजधानीबाटै सुरु गर्दैछौँ,’ सभापति खनालले भने, ‘यो विस्तार अब स्थानीय तह, प्रदेश र निर्वाचन क्षेत्र हुँदै वडा तथा टोलसम्म पुग्ने छ ।’

खनालका अनुसार अभियानको पहिलो चरणमा संगठनलाई वडा तथा टोल तहसम्म विस्तार गर्ने, स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र स्थानीयस्तरका समस्या तथा आवश्यकतालाई राजनीतिक एजेन्डासँग जोड्ने काम हुनेछ । ‘त्यसपछि स्थानीय तह र निर्वाचन क्षेत्र केन्द्रित गतिविधिलाई थप व्यवस्थित गरिने छ,’ उनले भने ।

सभापति खनालका अनुसार सांसद समेत रहेका रास्वपा महामन्त्री आचार्यले भोलि दाङ जिल्लाका सबै कार्यालय प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम छ । सो कार्यक्रममा जिल्लामा विकास निर्माणको अवस्था तथा सरकारका काम र प्राथमिकताका विषयमा जानकारी आदानप्रदान गर्दै छलफल गर्ने तयारी छ ।

साथै असोज २२ गते पर्यटन मन्त्री खडकराज पौडेल (गनेश) पनि दाङ जिल्ला जाने कार्यक्रम छ । उनी तुलसीपुरस्थित टरीगाउँको विमानस्थल अवलोकनमा जाने लगायतका कार्यक्रम छ । वर्तमान सरकारले टरीगाउँ विमानस्थल विस्तारका लागि बजेटसमेत विनियोजना गरेको छ ।

रास्वपा महामन्त्री विपिन आचार्य

रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभर संगठन विस्तार र उम्मेदवार छनोटसम्बन्धी तयारी अघि बढाइरहेको छ । पार्टीले ७७ जिल्लाका ७५३ वटै पालिकामा सांसद तथा केन्द्रीय सदस्यलाई परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने जनाएको छ ।

अभियानमा स्थानीय सरकारका कामकारबाही, पार्टीका नीतिगत पहल तथा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे नागरिकसँग संवाद गर्ने विषय समेटिएको छ ।

दाङमा नयाँ नेतृत्व, संगठन विस्तारको जिम्मेवारी

रास्वपा दाङको प्रथम जिल्ला अधिवेशनबाट ३४ वर्षीय किरण खनाल जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा खनालले १९६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी विनय घिमिरेले १२४ मत पाएका थिए ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्वसमेत चयन भइसकेको छ । निर्वाचन संयोजकका अनुसार क्षेत्र नम्बर १ मा मोहन आचार्य, क्षेत्र नम्बर २ मा किरण खड्का र क्षेत्र नम्बर ३ मा लाजुराम चौधरी चयन भएका छन् ।

रास्वपा दाङको पहिलो अधिवेशनबाट निर्वाचित सभापति किरण खनाल नेतृत्वको टिम

नयाँ जिल्ला नेतृत्व चयन भएसँगै दाङमा संगठन विस्तार, पार्टी सुदृढीकरण र जनसम्बन्ध विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

जिल्ला नेतृत्वलाई परम्परागत दलका संगठनको पकड तोड्दै रास्वपाका संगठन बनाउने र प्रदेश तथा स्थानीय तह निर्वाचनमा पार्टीलाई विजय गराउने चुनौति खनालमाथि छ ।

स्थानीय मुद्दादेखि निर्वाचन तयारीसम्म

जेनजी आन्दोलनपछि भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका उम्मेदवारहरु दाङका तीनवटै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

प्रतिनिधि सभा निर्वाचनमा हासिल गरेको जितको श्रृंखला प्रदेश र स्थानीय तह निर्वाचनमा पनि कायम राख्ने चुनौति रास्वपा माथि छ ।

त्यसैले संगठन विस्तारसँगसँगै जनतासँग प्रत्यक्ष भेटघाट एवम् सम्वादका कार्यक्रम सन्चालन गर्ने रास्वपाले जनाएको छ ।

अभियानअन्तर्गत स्थानीयस्तरमा विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित समस्या पहिचान गर्ने, नागरिकका गुनासा तथा सुझाव संकलन गर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम पनि सञ्चालन गरिने रास्वपा दाङ सभापति खनालले बताए ।

यसको मुख्य उद्देश्य स्थानीय तह र प्रदेश निर्वाचनका लागि संगठनात्मक आधार तयार गर्ने रहेको रास्वपा दाङका नेताहरु बताउँछन् ।

रास्वपाले यसअघि नै स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा र ‘क्यान्डिडेट छनोट क्लब’ सम्बन्धी गृहकार्य सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?