+

१०औं राष्ट्रिय खेलकुद कर्णालीमा गर्न केके भए निर्णय ?

२०८३ असोज  १८ गते १४:५८ २०८३ असोज १८ गते १४:५८

१८ असोज, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता सञ्चालन, व्यवस्थापन र पूर्वतयारीको जिम्मेवारी कार्यसम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशको सुर्खेतलगायत जिल्लामा आयोजना हुने प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मूल आयोजक समितिको बैठकले कार्यसम्पादन समितिलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो । मूल आयोजक समितिको बैठक पटक–पटक बस्न कठिन हुने भएकाले प्रतियोगितासँग सम्बन्धित निर्णय कार्यान्वयनलाई सहज बनाउन अधिकार प्रत्यायोजन गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–८ स्थित रङ्गशालाको सभाहलमा आइतबार बसेको बैठकले प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली, तीन अन्य टोली तथा आवश्यक नेपाली खेल संघसहित २१ टोलीको सहभागिता गराउने र ३२ खेल विधामा प्रतिस्पर्धा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही प्रमुख अतिथिका रूपमा सहभागी थिए।

बैठकमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई, राष्ट्रिय योजना आयोगका सदस्य रेणु ढुङ्गानालगायत संघीय तथा प्रदेश सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख, खेल क्षेत्रका प्रतिनिधि र अन्य सरोकारवालासहित करिब ५० देखि ५५ जनाको सहभागिता थियो ।

बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने नेपाल सरकारको निर्णयको स्वागत गर्दै संघीय सरकारप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्तावसमेत पारित गरेको छ। स्थानीय तहदेखि खेलाडीको प्रतिभा पहिचान, उत्पादन तथा खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण कर्णालीमा आयोजना गर्ने निर्णयप्रति मूल आयोजक समितिले सरकारलाई धन्यवाद दिएको हो।

बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को व्यवस्थाअनुसार कार्यसम्पादन समितिलाई प्रतियोगिताको पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी आवश्यक निर्देशन दिने निर्णय गरेको छ। प्रतियोगिताका लागि आवश्यक विभिन्न समिति गठन तथा परिचालन गर्ने, बजेट तथा खर्चसम्बन्धी निर्धारित मापदण्डअनुसार खर्च व्यवस्थापन गर्ने र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारीसमेत कार्यसम्पादन समितिलाई दिइएको छ।

त्यसैगरी प्रतियोगितालाई प्रभावकारी बनाउन सरकारी निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाको सहभागिता बढाउने र सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार प्रायोजकसँग समझदारी गरी आवश्यक काम अघि बढाउने निर्णय गरिएको छ।

बैठकमा मूल आयोजक समितिअन्तर्गत कार्यसम्पादन समिति, विभिन्न उपसमिति तथा छुट्टै अनुगमन समितिमार्फत प्रतियोगिताको तयारी अघि बढिरहेको जानकारी गराइएको थियो। संघीय सरकार र प्रदेश सरकारको सहयोग, समर्थन तथा समन्वयमा प्रतियोगिताको तयारीलाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो।

कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सबै सरकारी निकाय, सुरक्षा संयन्त्र, खेल संघ, निजी क्षेत्र तथा सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ।

१०औँ राष्ट्रिय खेलकुद
लेखक
हेमन्त केसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय