१८ असोज, काठमाडौं । नेपालमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय हिमालयन बुटोह फेस्टिभल’ आयोजना हुने भएको छ । जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्च ‘बुटोह’ लाई केन्द्रमा राखेर आयोजना हुन लागेको तीनदिने महोत्सवमा विभिन्न ७ देशका कलाकारले आफ्ना प्रस्तुति राख्नेछन् ।
असोज ३० देखि कार्तिक १ गतेसम्म पोखरामा महोत्सव आयोजना हुनेछ । अदृश्य आर्ट्सको प्रस्तुतिमा हुन लागेको महोत्सवमा आर्ट घर र सद्भाव थिएटर नेपालको सहकार्य रहनेछ ।
महोत्सवको नेतृत्व किरण चापागाईं, केदारनाथ पौडेल, भीष्म राज जोशी र राम के.ए.सी. ले गर्ने आयोजकले जानकारी दिएका छन् ।
बुटोह जापानबाट विकसित भएको एक प्रयोगात्मक डान्स थिएटर तथा फिजिकल थिएटरको शैली हो । यसको कुनै एउटै निश्चित शैली वा कथा संरचना हुँदैन । शरीरको गति, मौनता, समय, संवेदना र भौतिक उपस्थितिमार्फत मानिसका भित्री अनुभूति तथा अस्तित्वका प्रश्नलाई अभिव्यक्त गर्नु यसको प्रमुख विशेषता हो।
यसको सुरुवात दोस्रो विश्वयुद्धपछि जापानबाट भएको हो । यसको विकाससँग युद्धपछिको जापानमा देखिएको सामाजिक, सांस्कृतिक र मानसिक उथलपुथल जोडिएको पाइन्छ । हिरोसिमा र नागासाकीको विनाश, युद्धको स्मृति, मृत्यु, भय तथा आधुनिक समाजको संकटजस्ता अनुभवले यस कलाको संवेदनात्मक पृष्ठभूमिमा प्रभाव पारेका थिए ।
नेपालमा यस किसिमको अन्तर्राष्ट्रिय महोत्सव आयोजना हुँदा कलाकारका लागि विभिन्न देशका सिर्जनात्मक अभ्याससँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त हुने आर्ट घरका संस्थापक तथा महोत्सवका नेतृत्वकर्तामध्ये एक भीष्म राज जोशीले बताए । नेपाली दर्शकका लागि रंगमञ्चको फरक सौन्दर्यसँग परिचित हुने अवसर पनि हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4