१८ असोज, काठमाडौं । कांग्रेसका सभापति गगन थापाले सोमबार बिहानबाट सुरु हुने बन्दसत्रमा राजनीति प्रतिवेदन पेश गर्ने भएका छन् । पहिलो दिनको बन्द सत्रमा महाधिवेशनका प्रतिनिधिहरूले सभापति थापाले राख्ने प्रतिवेदन र विधान संशोधन मस्यौदा माथि छलफल गर्ने भएका छन् ।
चार वर्षको नेतृत्व र आगामी कार्यदिशा शिर्षकमा सभापति थापाले नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी पनि यही महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गरेका छन् ।
आगामी दशकको राष्ट्रिय आकांक्षालाई चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने मार्गदर्शक आधारका रूपमा प्रतिवेदन लेखिएको छ ।
‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ कांग्रेसको विगतको निरन्तरता र वर्तमानको सुधार तथा भविष्यको आकांक्षासँग जोड्ने संकल्प भएको उल्लेख गरिएको छ ।
राष्ट्रिय पुनर्जागरणले पार्टी, राज्य र नागरिकबीच कमजोर भएको विश्वास तथा लोकतान्त्रिक सामर्थ्य पुनर्निर्माणलाई अर्थ्याउन सभापति थापाले विश्लेषण गरेका छन् ।
‘समुन्नतिले प्रत्येक नेपालीको जीवनमा स्वतन्त्रता, क्षमता, न्याय, सम्मान र भविष्यप्रति भरोसा विस्तारको उद्देश्य स्पष्ट पार्छ । पार्टीले स्वीकार गरेको राष्ट्रिय पुनर्जागरण अभियान र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को ध्येयलाई राजनीतिक व्यवहार, संगठन, सार्वजनिक नीति र परिणामको साझा मानक बनाउनु यस महाधिवेशनको दायित्व हो,’ प्रतिवेदनमा भनिएको छ ।
पुनर्जागरणलाई अतीतको गौरवमा फर्कने चाहनामा सीमित नहुने र समुन्नतिको आकांक्षालाई पुरानै संगठन र शासनशैलीले पूरा गर्न नसक्ने निचोडमा सभापति थापा छन् । सार्वजनिक उद्देश्य र त्यसलाई पूरा गर्ने राजनीतिक साधन दुवैमा नवीकरण हुनुपर्ने थापा बताउँछन् ।

नागरिकसँग ठूलो जिम्मेवारी माग्नुअघि कांग्रेस बदल्ने जिम्मेवारी पूरा गर्नुपर्ने प्रतिवेदनमा सभापतिले थापाले लेखेका छन् ।
उनी भन्छन्,‘त्यसैले यो प्रतिवेदनको पहिलो परीक्षा हाम्रै निर्णयमा हुनेछः नेतृत्व कसरी चुनिन्छ, सदस्यको कुरा कसरी सुनिन्छ, सार्वजनिक पदमा कसलाई अघि सारिन्छ र गल्ती हुँदा कसरी जवाफ दिइन्छ ।’
कांग्रेस सत्तामा हुँदा प्रतिवेदनका आधारमा रहेर बजेट, कानुन, नियुक्ति र सेवामा उतार्ने प्रतिवद्धता गरिएको छ । ‘सत्ताबाहिर हुँदा विचार, सामाजिक काम, निगरानी र वैकल्पिक नीतिबाट अघि बढाउनेछौँ । यस प्रतिवेदनलाई पार्टी र नागरिक बीचको सार्वजनिक प्रतिबद्धताका रूपमा लिन आग्रह गर्दछु ।’ सभापति थापाले लेखेका छन् ।
कांग्रेसको जीवन र देशमा उथलपुथल आएको बेला १५ औं महाधिवेशन गर्न लागिरहेको प्रसंग उठाउँदै सभापति थापाले गत भदौ २३ र २४ को घटनाले शासन, सार्वजनिक संस्थाको विश्वसनीयता र राजनीतिक नेतृत्वप्रति नागरिकको असन्तोषलाई तीव्र रूपमा प्रकट गरेको बताएका छन् ।
नागरिकले सुशासन, अवसर र जवाफदेहिता माग सहित राज्यको कार्यशैलीमा प्रश्न उठाएको प्रतिवेदनमा लेखिएको छ । सरकार सहित कांग्रेसको नेतृत्व, नीति र व्यवहारमा पनि परिवर्तनको आवश्यकता स्पष्ट पारेको सभापति थापाले प्रतिवेदनमा लेखेका छन् ।
विशेष महाधिवेशनले पार्टीभित्र लोकतन्त्र प्रक्रिया र निर्णय प्रक्रिया संस्थागत हुने माध्यम बनेको सभापति थापा लेख्छन् ।
‘नागरिकसँग कमजोर भएको विश्वास पुनर्निर्माण गर्न आफ्ना कमजोरी स्वीकार गर्ने, राजनीतिक कार्यदिशा सच्याउने र संगठनलाई नयाँ जिम्मेवारीका लागि तयार पार्ने प्रयत्नका रूपमा त्यसलाई बुझ्नुपर्छ,’ सभापति थापाले लेखेका छन्, ‘जसले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्दै पार्टी नवीनीकरणको संकल्प अघि बढायो । कांग्रेसले आफ्नै विधान, महाधिवेशन र प्रतिनिधिहरूको निर्णयमार्फत परिवर्तनको बाटो रोज्यो । तर परिवर्तनको निर्णय गर्नु र त्यसलाई नागरिकले अनुभूति गर्ने व्यवहार तथा परिणाममा उतार्नु एउटै कुरा होइन ।’

गत फागुन २१ को निर्वाचनमा कांग्रेस पराजित भएको तथ्य स्वीकार नयाँ यात्रा सुरु गर्नुपर्ने सभापति थापा बताउँछन् । जनादेशको सम्मान गर्नु परिणामलाई औपचारिक रूपमा स्वीकार गर्नु मात्रै नभई नागरिकले कांग्रेसमाथि पर्याप्त विश्वास किन गरेनन् भन्ने प्रश्नको इमानदार जवाफ खोज्नु पनि भएको सभापति थापाले प्रतिवेदनमा लेखेका छन् ।
कांग्रेस पराजय हुनुमा प्रचारको कमजोरी, प्रतिकूल परिस्थिति वा अरूको सफलतामा मात्र सीमित गरेर बुझियो भने कमजोरी सच्याउने अवसर गुम्ने सभापति थापाको बुझाई छ ।
निर्वाचन पराजय मात्रै सम्पूर्ण यथार्थ नभएको उल्लेख गर्दै सभापति थापाले गत फागुन २१ को परिणाम बुझ्न गत भदौ २३ र २४ सम्म फर्कन पार्टी पङ्तिलाई आग्रह गरेका छन् ।
ती घटनाको पृष्ठभूमिमा विकसित असन्तोष बुझ्न अझ पछाडि, वि.सं. २०६२/६३ को आन्दोलनदेखि २०८२ सम्मका दुई दशकको राजनीतिक यात्रासम्मलाई हेरेर मूल्यांकन गर्नुपर्ने थापा विश्लेषण गर्छन् ।
उनी भन्छन्,‘नागरिकले परिवर्तनबाट के अपेक्षा गरेका थिए, राज्यले के दियो र यसबीच कांग्रेस कहाँ उभियो भन्ने प्रश्न हाम्रो आत्ममूल्याङ्कनको केन्द्रमा हुनुपर्छ । इतिहासको योगदान र वर्तमानको पराजय दुवैलाई इमानदारीपूर्वक हेरेर मात्र हामी आगामी दशकको विश्वसनीय दिशा तय गर्न सक्छौँ ।’
१५औँ महाधिवेशनका जिम्मेवारीहरू सभापति थापाले प्रतिवेदनमा उल्लेख गरेका छन् । यो महाधिवेशनको जिम्मेवारी बारे सभापति थापा भन्छन्,‘विशेष महाधिवेशनले अघि बढाएको सुधारको संकल्पलाई निरन्तरता दिनु, निर्वाचनको सन्देशबाट सिक्नु र दुवैलाई स्पष्ट नीति, संगठनात्मक अभ्यास तथा मापन गर्न सकिने जिम्मेवारीमा रूपान्तरण गर्नु हो ।’
विशेष महाधिवेशनका निर्णयको कार्यान्वयनको अवस्था, व्यवहारमा बदलाव, परिवर्तन गर्न बाँकी लगायतका विषयम समीक्षा हुनुपर्ने सभापति थापाको जोड छ । आगामी नेतृत्वको छनोटलाई कार्यभारबाट अलग नगरी माथिका सन्दर्भमा छलफल हुनुपर्ने सभापति थापा बताउँछन् ।
२०७२ साल पछि कांग्रेसले गरेको सत्ताकेन्द्रित राजनीतिको प्रसंग प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4