१८ असोज, काठमाडौं । खुलामञ्चबाट कांग्रेसको १५ औं महाधिवेशन उद्घाटन गर्दै सभापति गगन थापाले कांग्रेसका लागि राजनीतिक धरातल सुरक्षित रहेको सन्देश दिएका छन् ।
खुलामञ्चलाई नै प्रतीक बनाएर सम्बोधन थालेका थापाले आफ्नो ४० मिनेट लामो सम्बोधनमा कांग्रेसको गौरवपूर्ण इतिहास, आज उभिनुपर्ने स्थान र भोलिको सम्भावनाबारे प्रट्याउने कोशिस गरेका छन् ।
‘करिब दश वर्षपछि एउटा राजनीतिक सभा भइरहेको छ । यो खुला चउर मात्र होइन, नेपालको राजनीतिक स्मृतिको सार्वजनिक अभिलेख हो,’ थापाले भने, ‘यो खुलामञ्चमा कुनै बेला कुनै दल ठूलो भएर ठूलो कुरा गरेको पनि सुनेका छौं, कहिले त्यही दल सानो भएर सानो कुरा गरेको कद पनि हेरेका छौं ।’ कांग्रेस पराजित र सानो बनेको हीनताभावमा नअल्झन पनि पार्टीपंक्तिलाई सन्देश दिए ।
निर्वाचनको संख्याले नभएर जनताप्रतिको दायित्वले पार्टी स्थापित हुने तर्क गरेका थापाले सम्बोधनभर कांग्रेस उभिने स्थानबारे व्याख्या गरे । व्याख्याको थालनी लोकतन्त्र र यसको विरासत सम्झिएर गरेका थिए ।
२०३६, २०४७, २०६२/०६३ र ०७२ सालमा खुलामञ्चबाट कांग्रेस नेताहरू (बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला) ले जनता सँगसँगै उभिने संकल्प गरेको सन्दर्भ थापाले प्रस्तुत गरे । ‘खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको यस पार्टीले केही सन्देश लिनुपर्नेपछ, केही सन्देश दिनुपर्नेछ । केही संकल्पहरू गर्नुपर्नेछ,’ उनले भने ।
थापाका सम्बोधन सार छ– संवाद, समन्वय र सहजीकरणबाटै देश अगाडि बढ्छ । ‘.. पहाडका मानिसले मधेशका कुरा गर्ने होइन, जहाँ पहाडका मानिसले मधेशसँग संवाद गरोस् । एउटा जातले अर्को जातको, एउटा धर्मले अर्को धर्मको होइन, एउटा जातले अर्को जात र एउटा धर्मले अर्को धर्मसँग संवाद गरोस्,’ अगाडि थपे, ‘एउटा पुस्ताले अर्को पुस्ताको फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्तासँग संवाद गरोस् ।’
राजनीतिक परिस्थितिहरूको विश्लेषण गर्दै सभापति थापाले दुई अतिवादी सोचबारे कांग्रेस प्रष्ट रहेको सन्देश दिए । उदाहरणका निम्ति जेनजी आन्दोलनबारे उनको निष्कर्षलाई लिन सकिन्छ ।
‘२३ मा भएको दमन गलत, २४ मा भएको अपराधिक घटना गलत,’ सभापति थापाले भने, ‘तर यसो भनेर २३ र २४ मा भएको जनउभारलाई अवमूल्यन पनि गर्दैनौं ।’ मुलुक जेनजी आन्दोलनसम्म कसरी पुग्यो भन्नेबारे विश्लेषण गर्न थापाले लामो समय खर्चिए ।

आन्दोलनको परिस्थिति रातारात तयार नभएको निष्कर्षमा पुगिरहँदा उनले सन्तान गुमाउने बाआमाप्रति सहानुभूति राखे । ‘त्यो आन्दोलनको हामी भिक्टिम हौं, तर सन्तान गुमाउनु हुने बाआमाको पीडा हाम्रो भन्दा धेरै हो,’ उनले भने ।
जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा मात्र नभएर मुलुकको अर्थ–राजनीतिक कोर्समै कांग्रेसको स्पेशबारे सभापति थापाले प्रष्ट्याएका छन् । सरकार, दलहरुबीचको टिकाटिप्पणी र शक्ति–संघर्षलाई सन्दर्भ मानेर थापाले पार्टी उभिने स्थानबारे बताएका छन् ।
‘म अहिले कुनै व्यक्तिको बारेमा टिप्पणी गर्दिनँ, व्यक्तिको बारेमा टिप्पणी गर्ने कुराले अहिलेको समस्या हल हुँदैन,’ थापाले भने, ‘सरकारले सरकारको काम गर्ने, प्रतिपक्षले प्रतिपक्षको काम गर्ने, जुहारी खेल्ने, यस्तो ढंगले नेपालको समस्या हल हुन्छ ? हुँदैन ।’
नयाँ र पुरानो भएर चलिरहेको शक्ति–संघर्षले मुलुकका समस्याहरू हल नहुने निष्कर्ष थापाले सुनाए । ‘६ महिना भयो सरकार बनेको, यो भएन त्यो भएन भनेर भारी बोकाउन चाहन्न,’ सभापति थापाले भने, ‘किनकी रातारात सिर्जना भएका समस्याहरू होइनन् । तर हल्का ढंगले हिजो कसैले गर्दै गरेनन्, म आएको छु अब छुःमन्तर भनेर पनि हल हुँदैन ।’
मुलुकको समस्याबारे पनि उनले लामै व्याख्या गरे । विश्व राजनीति, युद्धले विथोलिएको अर्थतन्त्र, मुलुकले खेपिरहेका आन्तरिक संकट इत्यादीलाई सन्दर्भ मानेर देशको समस्याबारे घोत्लिनुपर्ने सुझाव थापाको छ ।
‘विश्व परिस्थितिलाई हेर्नु पर्दैन ? रुस–यूक्रेन, मध्य पूर्वलाई हेर्नुपर्छ । बदलिँदो ग्लोबल इकोनोमीलाई हेर्नुपर्छ,’ उनले भने, ‘जलवायु परिवर्तनको असर र एआईको प्रवेशबारे बुझ्नुपर्नेछ ।’
गत २१ फागुनको निर्वाचन जित्नेहरूले मुलुकमा ३५ वर्षसम्म केही भएन भन्ने र विरासत बोकेका दलहरूले पनि त्यसको खण्डनमा उत्ताउलो निष्कर्ष सुनाउन नहुने उनले बताए । यसरी मध्यमार्गी प्रस्ताव अगाडि सारेका सभापति थापाले कांग्रेसलाई पुलको रुपमा विकास गर्ने घोषणा पनि गरे ।

‘आवश्यकता र अवस्थाको बीचमा पुल चाहिएको छ, त्यो पुलको काम कसले गर्छ ? अब नेपाली कांग्रेसले गर्छ,’ थापाले भने । डेमोक्रेसी र डेलिभरी, स्वतन्त्रता र समृद्धि, अनुभव र उर्जाका बीचमा पुलको काम कांग्रेसले गर्ने उनको भनाइ छ ।
‘पुल भत्कियो भने विश्वास भत्किन्छ । विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन । कुन नेताले राति कति लाइक पाउँछ भन्ने होइन,’ उनले भने, ‘एउटा नागरिकले आँखा चिम्म गरेर सुत्दा आज भन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हो विश्वास ।’
कसैसँग दुस्मन नहुने र एकअर्काबीच विश्वासको भूमिकामा कांग्रेस उभिने बताएका थापाले सिद्धान्तमा कसैसँग सम्झौता नहुने बताए । ‘नेपाली कांग्रेस आफ्नो सिद्धान्तमा अडिदै गर्दा एउटा होइन, पाँच वटा निर्वाचन हार्न पनि तयार छौ,’ गगनले भने, ‘तर सिद्धान्तसँग सम्झौता गर्दैनौ ।’
अर्थात सिद्धान्त नमिलेपनि निर्वाचनमा गठबन्धन गर्ने संस्कृतिलाई उनले खण्डन गरे । भने, ‘अब हाम्रो पक्षधरता चाहिएको छ । लालुपाते भएर हुँदैन । यता पनि ढल्किने, उता पनि ढल्किने होइन ।’
इतिहासप्रति समर्पण
कांग्रेस उभिनुपर्ने स्थानबारे प्रष्ट्याउने क्रममा थापाले पटकपटक इतिहास सम्झिएका थिए । ‘राणाशासनविरुद्धको लडाइँमा, हिंसाविरुद्धको लडाइँमा, न्याय र शान्तिको पक्षमा, जनाधिकारको पक्षमा, इतिहासका जुनसुकै पाना पल्टाए पनि कांग्रेसलाई नपढिकन, नसुनिकन नेपालको इतिहास पढ्न कसैले सक्दैन,’ उनको भनाइ थियो ।
तर इतिहासले मात्र भविष्य बन्न नसक्ने उनको निचोड छ । ‘इतिहास गौरवशाली छ, तर इतिहासले शक्ति दिँदैन, शिक्षा दिन्छ,’ थापाले भने, ‘इतिहासले दिने शिक्षालाई वर्तमानको कर्ममा लग्यौं, त्यसबाट प्रेरित भएर आफ्नो कर्मलाई चलायौ भने बल्ल त्यसले शक्ति दिन्छ ।’
विगतका सबै आन्दोलनमा तत्कालीन समयको प्रश्न कांग्रेससँग रहेको तथ्य उनले प्रस्तुत गरे । ‘००७ सालमा राणाशासनको अन्त्य गर्न, ०४६ सालमा पञ्चायतबाट मुक्ति, ०६२ सालमा हिंसाबाट मुक्ति र ०७२ मा संविधान निर्माण तत्कालीन प्रश्नहरू थियो । त्यसको उत्तर कांग्रेससँग थियो,’ थापाले भने ।
आजको प्रश्नको जवाफ पनि कांग्रेससँग हुनुपर्ने तर्क गरे । ‘हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन, आजको प्रश्नको जवाफ दिनुपर्छ,’ उनले भने, ‘त्यो प्रश्न बुझ्न कोठाबाहिर निस्कनुपर्छ, कोठाभित्र दुई वटा कांग्रेस बसेर पुग्दैन ।’
आजको प्रश्नको समाधान गर्न सक्ने पार्टी कस्तो हुन्छ भन्ने बुझाउँदा पनि उनले वर्तमान सरकारप्रति कटाक्ष पनि गरे । ‘सुकुमबासीको प्रश्न छ, डोजरले घर भत्कायो, मेरो घर बन्छ कि बन्दैन ? उद्यमीको प्रश्न छ सरकारले मेरो कुरा सुन्छ कि थुन्छ मात्रै,’ गगनले अगाडि भने, ‘दलित, अल्पसंख्यक, थारु, महिला सबैको प्रश्न छ– संविधानमा लेखेको अधिकार कहिले पाउँछु ? बाको प्रश्न छ– पढ्न गएको छोरी निर्मला जस्ती हुन्छन् कि हुन्नन् ? दाइको प्रश्न छ– मोटर साइकल लिएर गएको भाइ फेरि गणेश नेपाली जस्तो बन्छ कि बन्दैन ?’
अहिले १८ वर्ष पुगेका युवाले सोध्ने प्रश्नको जवाफ दिन सक्ने कांग्रेस बन्नुपर्ने थापाको भनाइ छ ।
सच्चिने प्रण
वर्तमान सरकारलाई सोधिने प्रश्नको जग बलियो हुनुपर्ने आशय प्रकट गरेका सभापति थापाले कांग्रेसका गल्तीहरूबारे पनि बोले । ‘अहिलेका सरकार आएपछि थुप्रिएका प्रश्नहरू होइनन्,’ थापाले भने, ‘२०६२ देखि दश वर्ष जनताले दलहरुलाई औधि माया गरेका हुन् । दुःख त्यो बेला पनि थियो, तर एउटा मिसन थियो– शान्ति र संविधान ।’
तर ०७२ सालमा संविधान जारी भएपछि दलहरुको सत्ता केन्द्रीत राजनीतिबाट जनता दिक्क बनेको निष्कर्ष उनले सुनाए । ‘हामीलाई (दलहरू) मिलेको देखे, कोसँग मिलेको ? अस्तिसम्म झगडा गरेको । किन मिलेको ? त्यही प्रधानमन्त्री बन्न मिलेको,’ गगनले अगाडि भने, ‘अनि मिलिरहेकासँग भोलिपल्ट विहानदेखि झगडा गरिरहेको देखे । झगडा किन गरेको ? त्यही प्रधानमन्त्रीका लागि झगडा गरेको ।’
निश्चित नेताहरूबीच प्रधानमन्त्री पदमा भएको सिण्डिकेटलाई जनताले नरुचाएको उनको विश्लेषण छ । ‘मानौ नमानौं, यस्तै यस्तै भयो । एकप्रकारले म्यूजिकल चियर जस्तो भयो,’ थापाले भने, ‘नागरिकका आफ्ना आकांक्षाहरु थिए, हामी त्यसमा काम गर्न चुक्यौं ।’
अब सच्चिएर अगाडि बढ्ने प्रण गर्ने कांग्रेस बनेको सन्देश यो महाधिवेशनले दिने उनको उद्घोष छ ।

एन्टी पोलिटिक्सको असर
सत्ता केन्द्रित दलहरूको प्रवृत्तिले राजनीतिप्रति चरम वितृष्णा देखिएको सभापति थापाले विश्लेषण गरे । ‘एन्टी पोलिटिक्समा नागरिकहरूले राजनीतिको काम छैन, खासगरी पुरानो दलहरू काम लाग्दैन, कुनैपनि सिद्धान्त र विचारको काम छैन भन्छन्,’ थापाले भने, ‘सबै पार्टी एउटै हुन्, सबै नेताहरु एउटै हुन्, सबै खराब हुन् भन्छन् ।’
बितेको दश वर्षमा यस्तै भाष्य हाबी हुन पुगेको उनले बताए । त्यस क्रममा कांग्रेसको १४औं महाधिवेशनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको सम्बोधन समेत सम्झिए । ‘जनताले नेतालाई चोर भन्छन् भन्दा तल बसेको कांग्रेसका महाधिवेशन प्रतिनिधिले सबभन्दा बढी ताली बजाएको थियो, हाम्रो हालत,’ थापाले सम्झिए, ‘सप्पै पार्टीका नेताहरू (मञ्चमा) हुनुहुन्थ्यो, त्यो बेला ।’
अर्कातिर अति–राजनीतिकरणको समस्या पनि सँगसँगै देखिएको थापाले सुनाए । ‘एकातिर मानिसले राजनीतिसँग घृणा छ भन्छ, आइ हेट पोलिटिक्स,’ उनले भने, ‘अर्कातिर चियापसल, चौतारा, फेसबुक, ट्वीटर, इन्स्टाग्राम सबैतिर एउटै कुरा हुन्छ– राजनीति । चियामा राजनीति, गीतमा राजनीति, कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर ।’
इन्टी पोलिटिक्स र हाइपर पोलिटिक्स भुसको आगो बनेको नेताहरूले थाहै नपाएको पनि उनले सुनाए । ‘हामी मस्तमा थियौं, किनकि हामीसँग दुई तिहाइ थियो । शक्तिको उन्माद थियो, विगतको गौरव थियो,’ थापाले भने ।
पार्टीपंक्तिसँग आग्रह
सम्बोधनको अन्त्यमा सभापति थापाले पार्टीपंक्तिसँग पनि सुधारको अपेक्षा राखे । पार्टीगत संरचनात्मक परिचय भन्दा व्यक्तिगत योगदान बलियो बनाउन सुझाव दिए ।
‘कांग्रेसको फलानो पदमा छु भनेर चिनिनु भन्दा पनि समाजको अरु कुनै क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको र ऊ कांग्रेसमा पनि छ भन्ने होस्,’ आफ्नो चाहना भने । कांग्रेस हुनुको अर्थ पनि जनतासँग एकाकार हुने विशाल पंक्ति निर्माण हुनु रहेको सभापति थापाले बताए ।
‘एउटा किसानलाई, नवयुवकलाई साथ दिँदा मात्रै संगठन र पार्टी रहनुको अर्थ रहन्छ,’ सभापति गगनले भने, ‘विशेष महाधिवेशनबाट एउटा संकल्प गर्यौं– कांग्रेस बदल्यौं । अब कांग्रेसले नेपाल बदल्ने सामथ्र्य राख्छ भन्ने विश्वास राख्छौं । यो महाधिवेशन नवीकरणको शुरुवात हो ।’
सरकारको आलोचना गर्न दलहरुलाई साझा मञ्च जस्तो देखिएको महाधिवेशन उद्घाटन समारोहमा गगन थापाले भने रास्वपभा सभापति रवि लामिछानेले उठाएका केही प्रश्नको जवाफ मात्र दिएका थिए ।
प्रतिक्रिया 4