अब मौसम कस्तो हुन्छ भन्ने चरणबाट त्यसले कहाँ, कसलाई र कस्तो असर गर्छ भन्ने प्रभावमा आधारित पूर्वानुमानतर्फ जानुपर्छ । त्यसका लागि मौसम विज्ञान विभागलाई कमजोर होइन, अझ विशिष्टीकृत, वैज्ञानिक र क्षेत्रमुखी राष्ट्रिय संस्थाका रूपमा सुदृढ गर्नुपर्छ ।
नेपाल मौसम विज्ञान विभाग (नेपाल मेट्रोलोजिकल डिपार्टमेन्ट) लाई सुदृढ बनाउनु नागरिकको जीवनरक्षा, आर्थिक गतिविधिको सुरक्षा र जलवायु जोखिम व्यवस्थापनमा गरिने महत्त्वपूर्ण लगानी हो । सरकारले अलग्गै विभागका रूपमा राख्ने कदमले मौसम विज्ञान सेवालाई थप विशिष्टीकृत बनाउने अवसर दिएको छ । अब यो अवसरलाई भरपर्दो पूर्वानुमान, समयमै पूर्वसूचना र विभिन्न क्षेत्रका लागि उपयोगी सेवामा रूपान्तरण गर्न आवश्यक छ । विभागको महत्त्व मनसुनमा भारी वर्षाको सूचना दिने काममा मात्र सीमित छैन; कृषि, हवाई उड्डयन, पर्यटन, स्वास्थ्य, ऊर्जा, पूर्वाधार विकास र मानिसको दैनिकीमा पनि यसको भूमिका वर्षभरि नै रहन्छ ।
नेपालको जटिल भू-बनावट र भौगोलिक विविधताका कारण छोटो दूरीमै मौसमको स्वरूप र त्यसबाट उत्पन्न हुने जोखिम फरक-फरक हुने गरेको छ । विश्व मौसम संगठन (डब्ल्यूएमओ) ले प्राकृतिक प्रकोपलाई जनजीवन, स्वास्थ्य, सम्पत्ति, सामाजिक आर्थिक गतिविधि वा वातावरणमा क्षति पुर्याउन सक्ने प्राकृतिक, मानवीय वा अन्य प्रक्रिया तथा घटनाका रूपमा हेर्दै आएको छ ।
यस्ता जोखिमजन्य घटना एकल रूपमा मात्र नभई क्रमिक रूपमा, एकैसाथ वा एक-अर्कासँग अन्तरसम्बन्धित रूपमा समेत देखापर्न सक्ने भएकाले मौसम, हवाई-मौसम तथा जलवायुजन्य घटनाको निरन्तर अवलोकन, अनुगमन, विश्लेषण, पूर्वानुमान र समयमै पूर्वसूचना प्रवाहलाई विश्व मौसम संगठनले बहु-प्रकोप पूर्वसूचना प्रणालीको महत्त्वपूर्ण आधार समेतका रूपमा लिएको छ ।
नेपालमा मनसुनी भारी वर्षा, बाढी, पहिरो, चट्याङ, हिमपात, हिमताल विस्फोटनबाट हुने बाढी, तातो तथा शीतलहर, खडेरीलगायतका मौसम तथा जलवायुजन्य जोखिमले जनजीवन र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्दै आएका छन्। तराईमा तातो लहर, शीतलहर वा डुबानको जोखिम रहँदा पहाडी क्षेत्रमा चट्याङ र पहिरो तथा हिमाली क्षेत्रमा हिमपात र तीव्र हावाको जोखिम हुन सक्छ। एउटै वर्षाले पनि स्थानअनुसार फरक-फरक प्रभाव पार्न सक्छ।
कतिपय अवस्थामा मौसम तथा जलवायुका घटनाले अन्य जोखिमलाई समेत उत्प्रेरित वा थप गम्भीर बनाउने भएकाले मौसम विज्ञानको भूमिका दैनिक मौसमको जानकारीमा मात्र सीमित नभई जनधनको सुरक्षा, कृषि तथा खाद्य सुरक्षा, पर्यटन, हवाई तथा सडक यातायात, पूर्वाधार, जलस्रोत, ऊर्जा र विपद् जोखिम न्यूनीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
त्यसैले राष्ट्रिय मौसम सेवाको भूमिका देशभरको सामान्य मौसम अवस्था बताउने मात्र नभई अवका दिन स्थानविशेषका जोखिम र विभिन्न क्षेत्रका निर्णय आवश्यकतालाई सम्बोधन गर्ने गरी भरपर्दो तथा समयसापेक्ष मौसम, हवाई–मौसम तथा जलवायु सूचना र पूर्वसूचना उपलब्ध गराउनुमा केन्द्रित हुनुपर्छ ।
अझ जलवायु परिवर्तनसँगै दीर्घकालीन योजना तथा विकासका निर्णय गर्दा विगतका मौसम तथा जलवायु अभिलेखका साथै भविष्यमा हुन सक्ने सम्भावित अवस्थालाई समेत बुझ्नुपर्ने आवश्यकता बढ्दै गएको छ। यस सन्दर्भमा राष्ट्रिय मौसम सेवाले स्थानविशेष अनुकूल सूचना तथा पूर्वसूचना उपलब्ध गराई सम्भावित जोखिमको पूर्वानुमान, पूर्वतयारी र प्रभावकारी निर्णय प्रक्रियामा सहयोग गर्दै जनधनको क्षति न्यूनीकरण र जलवायु उत्थानशील विकासमा महत्त्वपूर्ण तथा अग्रणी भूमिका निर्वाह गर्न सक्छ।
पूर्वानुमानलाई पूर्वतयारी र कार्यमा बदल्ने आवश्यकता
पछिल्लो असोजको वर्षा घटनाका सन्दर्भमा मेरो बुझाइमा विभागको पूर्वानुमान र सार्वजनिक सूचना समयमै आएका र उपयोगी रहे । यसले मौसम विभागप्रति जनविश्वास बढाउनुका साथै सही सूचना समयमै उपलब्ध हुँदा पूर्वतयारीमार्फत सम्भावित क्षति कम गर्न सहयोग पुग्छ भन्ने देखाएको छ।
यस उपलब्धिलाई आधार बनाएर आगामी दिनमा पूर्वानुमानको गुणस्तर र समयावधि थप विस्तार गर्न पहल गर्नुपर्छ। विशेषगरी सातदिने मौसम पूर्वानुमानलाई सुदृढ बनाउँदै विभिन्न मोडेलका नतिजाको तुलनात्मक मूल्याङ्कन र संयुक्त प्रयोगमा जोड दिनु आवश्यक छ । यसबाट सम्भावित मौसमी अवस्थासँगै अनिश्चितता बुझ्न र पूर्वानुमानलाई अझ प्रभावकारी तथा विश्वसनीय बनाउन सहयोग पुग्न सक्छ।
सन् २०२४ जुलाई ८ को विभागीय अभिलेखमा कञ्चनपुरको दोधारामा २४ घण्टामा ६२४ मिलिमिटर वर्षा मापन भएको छ जुन अहिलेसम्मकै नेपालमा २४-घण्टामा परेको सबैभन्दा धेरै वर्षा हो । यस्तो अत्यधिक वर्षाले स्थानीय जोखिम बुझेर अग्रिम तयारी गर्नुपर्ने आवश्यकता देखाउँछ ।
मौसम पूर्वसूचना आएपछि जोखिममा रहेका ग्रमिण बस्तीमा जानकारी पुर्याउने, सुरक्षित स्थान पहिचान गर्ने, यात्रामा सावधानी अपनाउने र उद्धार संयन्त्र तयार राख्ने काम भएमा त्यसको व्यावहारिक मूल्य बढ्छ। यसका लागि प्रभावमा आधारित मौसम पूर्वानुमान विस्तार गर्न सकिन्छ। मौसम सूचना र विपद् प्रतिकार्यबीचको यो सम्बन्ध संस्थागत बनाउनु आवश्यक छ।
विभागको जिम्मेवारी वैज्ञानिक आधारमा मौसमको सम्भावना र अनिश्चितता स्पष्ट पार्नु हो। त्यस सूचनाका आधारमा कार्य गर्ने जिम्मेवारी सम्बन्धित सरकारी निकायहरू, स्थानीय तह, व्यवसाय र समुदायसँग पनि जोडिन्छ। त्यसैले पूर्वानुमान, चेतावनी, पूर्वतयारी र कार्यबीच समन्वय चाहिन्छ । मौसम विभागलाई उपकरण र बजेटसँगै यस्तो समन्वयमा नेतृत्व गर्न सक्ने वैज्ञानिक तथा संस्थागत क्षमता दिनुपर्छ।
जलविज्ञानलाई छुट्टै संस्थागत संरचनामा राखिएको अवस्थामा यसको विशेषज्ञता र सेवा थप विस्तार गर्ने अवसर पनि सिर्जना भएको छ।
मेरो विचारमा नदीको जलसतह चेतावनी तहमा पुगेको जानकारीसँगै, कुन जलाधारमा कति वर्षा हुँदा नदीको सतह र बहावको मात्रा कति बढ्न सक्छ तथा बाढी कुन समयमा कुन क्षेत्रमा पुग्न सक्छ भन्ने अग्रिम पूर्वानुमानलाई अझ सुदृढ बनाउनुपर्छ । यसका लागि नेपाल मौसम विज्ञान विभागको वर्षा पूर्वानुमानलाई वास्तविक समयको वर्षा, नदीको जलसतह, माटोको चिस्यान र जलाधारको अवस्थासँग जोडेर जलविज्ञान मोडेल प्रयोग गर्न सकिन्छ । यस्तो सेवाले तटीय बस्ती, जलविद्युत् आयोजना, सिँचाइ प्रणाली तथा सडक र पुलको सुरक्षाका लागि तयारीको थप समय दिन सक्छ ।
वर्षाजन्य बाढी र पहिरोको जोखिम अन्तरसम्बन्धित भएकाले जलविज्ञान, र भूगर्भसम्बन्धी विशेषज्ञताको सहकार्यमा एकीकृत पूर्वसूचना विकास गर्नु पनि उपयोगी हुन्छ । पहिरोको आकलनमा वर्षासँगै भिरालोपन, भूगर्भ र माटोको अवस्था आवश्यक पर्ने भएकाले सम्बन्धित निकायबीच समन्वय गर्दै एउटै प्रणालीबाट बाढी तथा पहिरोको जोखिम सूचना उपलब्ध गराउन सके स्थानीय तह र नागरिकलाई निर्णय लिन अझ सहज हुने देखिन्छ ।
हाल उपलब्ध सेवाले दिएको आधार
विभागको सार्वजनिक सेवा सूचीमा दैनिक मौसम अवस्था, २४ घण्टाको पूर्वानुमान, तीनदिने मौसम बुलेटिन र विशेष मौसम पूर्वानुमान समावेश छन् । हवाई मौसम, कृषि मौसम, पर्यटनसम्बन्धी पूर्वानुमान तथा जलवायु सेवाका लागि पनि व्यवस्था देखिन्छ। यी सेवाले दैनिक गतिविधिदेखि जोखिमपूर्ण मौसमी घटनाको तयारीसम्म सहयोग पुर्याउँछन् । सबै क्षेत्र र स्थानमा सेवाको पहुँच तथा विवरण समान हुन्छ भन्ने मान्न भने मिल्दैन । हालका सेवाको गुणस्तर र निरन्तरता सुनिश्चित गर्दै आवश्यकताअनुसार विस्तार गर्नु अबको प्राथमिकता हुनुपर्छ।
दैनिक तथा विशेष बुलेटिनले वर्षा, तापक्रम, बादल र हावासम्बन्धी जानकारी दिन्छन् । गम्भीर मौसमी अवस्था आउन सक्ने बेला जारी हुने सूचनाले प्रशासन, सुरक्षा निकाय र नागरिकलाई तयारीको समय दिन सक्छ। कृषि मौसम सेवाले बाली व्यवस्थापनमा आवश्यक मौसमी जानकारीको आधार दिन्छ। हवाई मौसम सेवाले विमानस्थल र उडान सञ्चालनका लागि अवलोकन, पूर्वानुमान र चेतावनी उपलब्ध गराउँछ । जलवायु सेवाले मौसमको अभिलेख, औसत अवस्था र दीर्घकालीन परिवर्तन बुझ्न सहयोग गर्छ।
नेपालको मौसम सेवाले विगतका वर्षमा स्वचालित मौसम केन्द्र, राडार, भूउपग्रह सूचना र गणितीय मौसम पूर्वानुमानजस्ता प्रविधि विस्तार गर्ने आधार बनाएको छ । स्वचालित केन्द्रबाट छिटो उपलब्ध हुने वर्षा, तापक्रम, आर्द्रता, हावा र वायुदाबका तथ्याङ्कले तत्कालीन अवस्था बुझ्न मद्दत गर्छन् । राडार र भूउपग्रहले वर्षा प्रणाली तथा बादलको विकास निगरानी गर्न सहयोग गर्छन् । विभिन्न मोडेलका नतिजालाई स्थानीय अवलोकन र पूर्वानुमानकर्ताको अनुभवसँग मिलाएर व्याख्या गर्दा सेवा थप उपयोगी हुन्छ।
उपकरणसँगै सञ्चालन र गुणस्तरमा लगानी
आधुनिक बैज्ञानिक उपकरण स्थापना हुनु महत्त्वपूर्ण उपलब्धि हो, तर त्यसबाट नियमित र विश्वसनीय तथ्याङ्क प्राप्त हुनु अझ महत्त्वपूर्ण छ । उपकरणको मर्मत, सेन्सरको परीक्षण र क्यालिब्रेसन, विद्युत् तथा सञ्चारको वैकल्पिक व्यवस्था र तथ्याङ्कको गुणस्तर परीक्षण निरन्तर हुनुपर्छ । हिमाली तथा दुर्गम क्षेत्रमा अवलोकनको कमी पूर्ति गर्न स्थान छनोट वैज्ञानिक आधारमा गर्नुपर्छ । साथै, नयाँ प्रणाली स्थापना गर्दा त्यसको दीर्घकालीन सञ्चालन खर्च, दक्ष जनशक्ति, स्पेयर पार्ट्स र प्राविधिक सहयोगको व्यवस्था पनि सुरुदेखि नै सुनिश्चित गर्न आवश्यक छ।
नेपाल सरकार र विश्व बैंकबीच ३० अप्रिल २०१३ मा सम्झौता भई २० जुन २०१३ देखि १५ नोभेम्बर २०२० सम्म कार्यान्वयनमा आएको पीपीसीआर अन्तर्गतको बिल्डिङ रेजिलेन्स टु क्लाइमेट रिलेटेड हाजार्ड प्रोजेक्टले परम्परागत तथा धेरै हदसम्म देशभर रहेका करिब ५०० भन्दा बढी म्यानुअल मौसम केन्द्रको तथ्याङ्कमा आधारित विभागलाई आधुनिक मौसम सेवातर्फ रूपान्तरण गर्न महत्त्वपूर्ण आधार तयार गरेको छ ।
परियोजनाको मूल उद्देश्य विभागको पूर्वानुमान र चेतावनीलाई अझ सही र समयमै उपलब्ध गराउने, जलवायुजन्य जोखिमप्रति संवेदनशील समुदायको सुरक्षा बढाउने तथा कृषि क्षेत्रका लागि मौसम-जलवायु सूचना सेवा विकास गर्ने थियो । यसअन्तर्गत करिब ८८ वटा मौसम केन्द्र स्वचालित बनाइनुका साथै २१ वटा विमानस्थलमा स्वचालित मौसम अवलोकन प्रणालीको विकास, मौसम राडारको प्रारम्भ, कीर्तिपुरमा Upper-Air Sounding Station स्थापना, High-Resolution Numerical Weather Prediction (NWP) तथा आधुनिक डेटा म्यानेजमेन्ट सिस्टम लगायतका पूर्वाधार विकास गरिएको देखिन्छ।
नयाँ अटोमेटिक वेदर स्टेसन (एडब्ल्यूएस) बाट प्राप्त वास्तविक समयको तथ्याङ्कलाई मोडेल भेरिफिकेसन तथा data assimilation मा उपयोग गर्ने आधारसमेत तयार गरिएको थियो । विभागले आफै पनि स्वचालित केन्द्रको सङ्ख्या बढाएर हाल ३७० पुर्याएको अभिलेखले देखाउछ । यी पूर्वाधारले वास्तविक समयको अवलोकन, माथिल्लो वायुमण्डलको निगरानी, संख्यात्मक पूर्वानुमान, वर्षाको मात्रात्मक पूर्वानुमान, हवाई मौसम सेवा तथा तथ्याङ्क व्यवस्थापन क्षमतामा सुधार ल्याई पूर्वानुमान सेवालाई समयसापेक्ष बनाउन महत्त्वपूर्ण सहयोग गरेका छन् ।
अब पहिले गरिएको लगानीको पूर्ण उपयोग, नियमित सञ्चालन, मर्मत, क्यालिब्रेसन र प्रणालीगत स्तरोन्नति सुनिश्चित गर्दै अझै अवलोकनमा ग्याप रहेका क्षेत्र, विशेषगरी हिमाली तथा दुर्गम भूभागमा आवश्यकताका आधारमा थप लगानी र अवलोकन सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता छ।
पूर्वानुमानको गुणस्तर मापन गर्न नियमित परीक्षण आवश्यक छ । भारी वर्षा, कुहिरो, तापक्रम र चट्याङजस्ता घटनाका लागि स्थान र मौसमअनुसार फरक सूचक प्रयोग गर्न सकिन्छ। सही चेतावनीसँगै छुटेका घटना र अनावश्यक चेतावनी पनि समीक्षा हुनुपर्छ । यस्तो नतिजा नियमित रूपमा विश्लेषण र उपयुक्त रूपमा सार्वजनिक गर्दा सेवाग्राहीले पूर्वानुमानको विश्वसनीयता, उपयोगिता र सीमासमेत बुझ्न सक्छन् । दक्ष जनशक्ति, उच्च क्षमताको कम्प्युटिङ, सुरक्षित तथ्याङ्क भण्डारण, उपकरणको भरपर्दो सञ्चालन र चौबीसै घण्टा आवश्यक सेवा सञ्चालन गर्न सक्ने संस्थागत व्यवस्था नै विभागको वैज्ञानिक विश्वसनीयता र भविष्यको सेवा विस्तारका आधार हुन् ।
स्थानीय तहसम्म प्रभावमा आधारित पूर्वसूचना
अतिरिक्त सेवाको विस्तारमा प्रभावमा आधारित पूर्वानुमान प्रमुख प्राथमिकता हुनुपर्छ । यसको उद्देश्य मौसम कस्तो हुन्छ भन्ने जानकारीसँग त्यसले कहाँ, कसलाई र कस्तो असर पार्न सक्छ भन्ने विवरण जोड्नु हो । भारी वर्षाको सम्भावनालाई स्थानीय बस्ती, सडक, कृषि क्षेत्र, विद्यालय र स्वास्थ्य संस्थाको जोखिमसँग मिलाउँदा निर्णय गर्न सजिलो हुन्छ । यस्तो सेवा विकासमा मौसम विभाग, विपद् व्यवस्थापन निकाय, जलविज्ञान निकाय र स्थानीय तहको साझा योगदान आवश्यक छ ।
यसको उपयोगिताको व्यावहारिक उदाहरण सन् २०२४ जुलाई ८ को कञ्चनपुरको अत्यधिक वर्षालाई लिन सकिन्छ। उक्त घटनाअघि मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना औंल्याउँदै बाढी, डुबान, पहिरो र यातायात अवरोधको जोखिमबारे पूर्वसूचना दिएको थियो । पछि दोधारा वर्षा केन्द्रमा २४ घण्टामा ६२४ मिलिमिटर वर्षा मापन भयो ।
पूर्वानुमानमा संकेत गरिएको उच्च जोखिम र वास्तविक अवस्थाबीचको मेलले समयमै स्थानीय तह र समुदायलाई सतर्क गराउन तथा प्रतिकार्यको तयारी गर्न पूर्वानुमान उपयोगी भएको देखाउँछ । यसले प्रभावमा आधारित पूर्वानुमानलाई स्थानीय जोखिम सूचना र प्रतिकार्यसँग जोड्दा सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिने व्यावहारिक आधारसमेत प्रस्तुत गरेको छ।
नेपालका ७५३ स्थानीय तहसम्म यो सेवा क्रमशः विस्तार गर्ने लक्ष्य राख्न सकिन्छ। त्यसका लागि प्रत्येक स्थानको विगतको विपद् अभिलेख, भूगोल, संवेदनशील बस्ती र पूर्वाधारको विवरण चाहिन्छ। जोखिम बढाउने वर्षाको सीमा पनि स्थानअनुसार परीक्षण गर्नुपर्छ। पहिरो वा डुबानको ठ्याक्कै पूर्वानुमान मौसम तथ्याङ्कबाट मात्रै सम्भव हुँदैन; माटोको अवस्था, नदी बहाव, भूउपयोग र अन्य स्थानीय सूचना जोड्नुपर्छ । सुरुमा बढी जोखिम भएका क्षेत्रमा परीक्षण गरी उपयोगिता प्रमाणित भएपछि विस्तार गर्नु व्यावहारिक हुन्छ।
चेतावनीमा सम्भावित समय, प्रभावित क्षेत्र, जोखिमको स्तर, अनिश्चितता र अपनाउनुपर्ने सावधानी स्पष्ट हुनुपर्छ। स्थानीय रेडियो, मोबाइल सन्देश, वेबसाइट र स्थानीय संयन्त्रमार्फत सूचना पुर्याउन सकिन्छ। इन्टरनेट नपुग्ने समुदाय, अपाङ्गता भएका व्यक्ति र भाषागत कठिनाइ भएका समूहसम्म पहुँच सुनिश्चित गर्नुपर्छ। सूचनाको प्राप्ति र त्यसपछि गरिएको कार्यबारे प्रतिक्रिया सङ्कलन गरेर सेवा सुधार्नुपर्छ।

कृषि, पर्यटन र हवाई सेवाको विस्तार
कृषि मौसम सेवालाई बाली र स्थानीय कृषि पात्रोसँग थप जोड्न आवश्यक छ । वर्षाको सम्भावना र माटोको चिस्यानका आधारमा रोपाइँ, सिँचाइ, मल प्रयोग तथा कटानीका लागि उपयोगी सल्लाह तयार गर्न सकिन्छ । धान काट्ने समयमा सम्भावित वर्षाको जानकारीले किसानलाई कामको दिन छनोट गर्न सहयोग गर्छ। यस्ता सल्लाह कृषि विशेषज्ञ र स्थानीय प्राविधिकको सहकार्यमा बनाइनुपर्छ । सम्भावनालाई निश्चित घटनाका रूपमा प्रस्तुत गर्दा अनावश्यक काम रोक्ने वा गलत निर्णय लिने जोखिम हुने भएकाले सूचनाको भाषा सावधानीपूर्वक छनोट गर्नुपर्छ ।
पर्यटन नेपालको प्रमुख आर्थिक तथा पूर्वाधारगत क्षेत्रमध्ये एक भएकाले उपलब्ध मौसम पूर्वानुमानलाई प्रमुख पदमार्ग, पर्वतारोहण क्षेत्र र अन्य पर्यटकीय गन्तव्यसम्म थप विस्तृत बनाउन आवश्यक छ ।
हिमपात, तीव्र हावा, अत्यधिक चिसो, दृश्यता, चट्याङ तथा जोखिमपूर्ण मौसमी अवस्थाबारे स्थानविशेष सूचना उपलब्ध गराउन सके पर्यटक, गाइड, ट्रेकिङ व्यवसायी र स्थानीय सेवा प्रदायकलाई सुरक्षित यात्रा योजना बनाउन सहज हुन्छ ।
तीनदेखि सात दिनसम्मको सम्भावित मौसमी अवस्था तथा छोटो अवधिको नियमित अद्यावधिकले पदयात्रा, पर्वतारोहण, उडान र सुरक्षित समय छनोटमा सहयोग पुर्याउन सक्छ । यस्ता विश्वसनीय र सहज पहुँचयोग्य मौसम सेवाले पर्यटकको सुरक्षा मात्र बढाउँदैन, नेपाललाई सुरक्षित र व्यवस्थित साहसिक पर्यटन गन्तव्यका रूपमा विश्वास बढाउन सहयोग गर्छ ।
यसबाट पर्यटकको बसाइ अवधि, यात्रा योजना र नेपालप्रतिको आकर्षण बढ्ने तथा दीर्घकालमा पर्यटन प्रवर्द्धन र पर्यटक आगमनमा समेत सकारात्मक योगदान पुग्न सक्छ । यसका लागि हिमाली क्षेत्रमा अवलोकन प्रणाली विस्तार गर्दै स्थानविशेष पूर्वानुमानको विश्वसनीयता निरन्तर परीक्षण र सुधार गर्दै लैजान सकिन्छ।
हवाई मौसम सेवातर्फ विभागले हाल अन्तर्राष्ट्रिय उडानका लागि आइकाओ मापदण्डअनुसार आवश्यक न्यूनतम मौसम पूर्वानुमान तथा सूचना प्रदान गर्दै आएको छ । तर आन्तरिक उडान, विशेषगरी पहाडी तथा जटिल भूभागका हवाई मार्गका लागि low-level en-route forecast को आवश्यकता रहेकाले यसतर्फ सेवा विस्तार गर्ने महत्त्वपूर्ण अवसर छ ।
यस्ता मार्गमा तीव्र हावा, turbulence, icing, wind shear, कुहिरो तथा दृश्यता जस्ता उडान सुरक्षासँग प्रत्यक्ष सम्बन्धित जोखिमबारे स्थानविशेष र मार्गविशेष सूचना आवश्यक हुन्छ । यसका लागि अनुसन्धान, आधुनिक प्रणालीको विस्तार तथा दक्ष जनशक्ति विकास गर्न आवश्यक छ । साथै, नागरिक उड्डयन निकायसँगको सहकार्यमा अवलोकन प्रणाली, उपकरण मर्मत, पूर्वानुमानकर्ताको तालिम, सेवा मूल्याङ्कन तथा नयाँ हवाई मौसम उत्पादनको विकासलाई प्राथमिकतामा राख्न सरकारले संस्थागत विकासमा विशेष ध्यान दिनुपर्छ ।
स्वास्थ्य, वन र वातावरणका लागि नयाँ सेवा
स्वास्थ्य निकायसँग मिलेर तातो लहर र चिसो मौसमसम्बन्धी स्वास्थ्य चेतावनी विकास गर्न सकिन्छ । तापक्रमसँगै आर्द्रता, तातो अवस्था रहने अवधि र रातको तापक्रमलाई पनि ध्यान दिनुपर्छ । वृद्धवृद्धा, बालबालिका, बिरामी र खुला स्थानमा काम गर्ने श्रमिकका लागि फरक सावधानी आवश्यक हुन्छ । पूर्वसूचनालाई अस्पतालको तयारी, विद्यालयका गतिविधि र श्रमिकको कार्यसमयसँग जोड्दा यसको उपयोग बढ्छ । मौसमी अवस्था र स्वास्थ्य प्रभावबीचको स्थानीय सम्बन्ध अध्ययन गरेर चेतावनीका सीमा तय गर्नुपर्छ ।
वन डढेलोको जोखिममा तापक्रम, आर्द्रता, वर्षाको कमी, हावा र वनस्पतिको सुक्खापनको भूमिका हुन्छ । वन निकायसँगको सहकार्यमा अवलोकन, भूउपग्रहबाट देखिएका आगलागी र मौसम पूर्वानुमान जोडेर डढेलोको जोखिम नक्सा बनाउन सकिन्छ । यस्तो नक्साले गस्ती, जनचेतना र प्रतिकार्य टोलीको तयारीमा सहयोग गर्छ । यसले डढेलोको निश्चित स्थान वा समय बताउनेभन्दा आगो लाग्न र फैलिन अनुकूल अवस्थाको जानकारी दिन्छ।
वायु प्रदूषण पूर्वानुमान पनि विस्तार गर्न सकिने सेवा हो । तर मौसम मोडेलको नतिजामात्र प्रयोग गरेर प्रदूषणको मात्रा विश्वसनीय रूपमा अनुमान गर्न सकिँदैन । प्रदूषण मापन, उत्सर्जनको विवरण, डढेलो तथा धुलोका स्रोत र वायुमण्डलीय रसायनसम्बन्धी मोडेल पनि चाहिन्छन् । वातावरणसम्बन्धी निकाय र विश्वविद्यालयसँग मिलेर सुरुमा काठमाडौं उपत्यका तथा अन्य बढी प्रभावित क्षेत्रमा परीक्षण गर्न सकिन्छ । सफल परीक्षणपछि देशका थप क्षेत्रमा विस्तार गर्ने आधार तयार हुन्छ।
चट्याङका लागि राडार, भूउपग्रह र उपलब्ध चट्याङ पहिचान प्रणाली जोडेर छोटो अवधिको चेतावनी सुधार गर्न सकिन्छ । विद्यालय, खेत, निर्माणस्थल, पदमार्ग र सार्वजनिक कार्यक्रममा यस्तो सूचना उपयोगी हुन्छ । धेरै छोटो समयमा विकसित हुने घटनाको अनिश्चितता स्पष्ट पार्दै स्थानअनुसार सूचना पठाउने प्रणाली विकास गर्नुपर्छ । चेतावनीसँगै सुरक्षित आश्रय र अपनाउनुपर्ने व्यवहारबारे सन्देश पनि आवश्यक छ ।
ऊर्जा जलस्रोत र पूर्वाधारमा निर्णय सहयोग
जलविद्युत्, सिँचाइ र जलस्रोत व्यवस्थापनका लागि वर्षा, तापक्रम र हिमपातको अवलोकन तथा पूर्वानुमान महत्त्वपूर्ण हुन्छन् । नदी बहावको विश्लेषण गर्ने निकायहरू र नेपाल मौसम विज्ञान विभाग बीच रियलटाइम तथ्याङ्क आदानप्रदान तथा आवश्यक्ता अनुसार संयुक्त समीक्षा आवश्यक छ । मौसम पूर्वानुमान र नदी बहाव पूर्वानुमानका जिम्मेवारी स्पष्ट हुँदा बहुप्रकोप पूर्वसूचना अझ प्रभावकारी बनाउन सकिन्छ । सौर्य र वायु ऊर्जाका लागि पनि बादल, सौर्य विकिरण र हावासम्बन्धी विशेष पूर्वानुमान उपयोगी हुन सक्छन् ।
सडक, पुल, विमानस्थल, सहरी ढल निकास र प्रसारण लाइनको डिजाइन तथा सञ्चालनमा मौसम र जलवायु सूचना प्रयोग बढाउनुपर्छ। विभागले चरम वर्षा, तीव्र हावा, हिमपात र तापक्रमको अभिलेख तथा सम्भावित भविष्यको परिवर्तनसम्बन्धी विश्लेषण उपलब्ध गराउन सक्छ। निर्माण कार्य र सडक यात्राका लागि समयअनुसारको सूचना पनि विकास गर्न सकिन्छ। पूर्वाधारको अन्तिम डिजाइन र सुरक्षा निर्णय सम्बन्धित प्राविधिक निकायले गर्ने भए पनि त्यसका लागि विश्वसनीय मौसम तथ्याङ्क आधार बन्नुपर्छ।
अनुसन्धान तथ्याङ्क र दिगो सञ्चालनको भावी दिशा
नेपाल मौसम विज्ञान विभागलाई राष्ट्रिय मौसम तथा जलवायु तथ्याङ्कको भरपर्दो केन्द्रका रूपमा विकास गर्नुपर्छ। अवलोकनको गुणस्तर परीक्षण, केन्द्रको इतिहास, उपकरण परिवर्तन र अभिलेखमा भएका संशोधन व्यवस्थित राख्नु आवश्यक छ। सरकारी निकाय, अनुसन्धानकर्ता र स्थानीय तहलाई स्पष्ट नीतिअनुसार तथ्याङ्क पहुँच दिन सकिन्छ। स्वचालित तथ्याङ्क आदानप्रदानका लागि एपीआई जस्ता प्रणाली उपयोगी हुन्छन्। मूल अभिलेख परिवर्तन गर्ने अधिकार नियन्त्रणमा राखेर तथ्याङ्कको सुरक्षा, प्रतिलिपि भण्डारण र संशोधनको पारदर्शिता सुनिश्चित गर्नुपर्छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र अन्य विश्वविद्यालयसँग दीर्घकालीन सहकार्यले वैज्ञानिक क्षमता बलियो बनाउन सक्छ। संयुक्त अनुसन्धान, विद्यार्थीको प्रयोगात्मक प्रशिक्षण, क्षेत्रीय अवलोकन अभियान र पूर्वानुमान परीक्षणलाई दैनिक सेवाको आवश्यकतासँग जोड्नुपर्छ। कुहिरो, हिमाली हावा, चरम वर्षा र मोडेलका स्थानीय त्रुटिजस्ता समस्या अनुसन्धानका विषय बन्न सक्छन्। विभागका अनुभवी पूर्वानुमानकर्ताले विद्यार्थीलाई कार्यगत प्रशिक्षण दिने र विश्वविद्यालयका अनुसन्धानकर्ताले नयाँ विधि परीक्षणमा सहयोग गर्ने व्यवस्था दुवै पक्षका लागि उपयोगी हुन्छ।
अनुसन्धानको नतिजा नियमित सेवामा ल्याउन स्पष्ट प्रक्रिया चाहिन्छ। नयाँ विधिलाई ऐतिहासिक घटना र वास्तविक समयका तथ्याङ्कमा परीक्षण गरी विद्यमान सेवाभन्दा सुधार भएको प्रमाणित भएपछि मात्र प्रयोग गर्नुपर्छ। कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङलाई गुणस्तर परीक्षण, मोडेलका त्रुटि सुधार र छोटो अवधिको पूर्वानुमानमा सहयोगी बनाउन सकिन्छ। अन्तिम चेतावनीको वैज्ञानिक समीक्षा र जिम्मेवारी प्रशिक्षित पूर्वानुमानकर्तासँग रहनुपर्छ।
आगामी पाँचदेखि दस वर्षका प्राथमिकता
पहिलो चरणमा विद्यमान उपकरणको भरपर्दो सञ्चालन, दक्ष जनशक्ति, तथ्याङ्कको गुणस्तर र पूर्वानुमान परीक्षणलाई प्राथमिकता दिनुपर्छ। त्यसपछि बढी जोखिम भएका स्थानीय तहमा प्रभावमा आधारित पूर्वसूचना तथा कृषि, पर्यटन, स्वास्थ्य र डढेलोसम्बन्धी सेवाको परीक्षण विस्तार गर्न सकिन्छ। मध्यम तथा दीर्घकालमा प्रमाणित सेवाको राष्ट्रिय विस्तार, हिमाली अवलोकन र अनुसन्धान, उच्च क्षमताको कम्प्युटिङ तथा सुरक्षित तथ्याङ्क प्रणालीमा लगानी बढाउनुपर्छ।
यो लेखमा प्रस्तुत दिशा प्रस्तावित प्राथमिकता हुन्; तिनलाई विभागको स्वीकृत कार्ययोजना मान्न मिल्दैन। कार्यान्वयनका लागि बजेट, साझेदारको जिम्मेवारी, समयसीमा र मापन गर्न सकिने लक्ष्य तय गर्नुपर्छ।
आधारभूत मौसम सूचना र जीवनरक्षक चेतावनी सबैको पहुँचमा रहनुपर्छ। अतिरिक्त स्रोतका लागि कानुनी तथा नीतिगत व्यवस्था मिलाएर विशेष व्यावसायिक सेवा, अनुकूलित विश्लेषण र समर्पित परामर्शको लागत पुनः प्राप्त गर्ने विकल्प अध्ययन गर्न सकिन्छ। तर विभागको मूल सञ्चालनका लागि नियमित सरकारी लगानी आवश्यक रहन्छ। निरन्तर अनुगमन, उपकरण मर्मत, चौबीसै घण्टा आवश्यक सेवा, तालिम र अनुसन्धानको खर्च दीर्घकालीन योजनामा समेटिनुपर्छ।
जलवायु परिवर्तनको प्रभावप्रति अत्यन्त संवेदनशील नेपालमा मौसम तथा जलवायु सेवाको संस्थागत महत्त्वलाई स्थिर र दीर्घकालीन दृष्टिले बुझ्न आवश्यक छ। विभागलाई समय-समयमा फरक मन्त्रालय वा संरचनामा सार्ने वा अन्य असम्बद्ध सेवा समूहसँग मिलाउने विगतको अभ्यासले यसको विशिष्ट वैज्ञानिक तथा प्राविधिक पहिचान कमजोर हुने, प्राथमिकता बिखण्डित हुने तथा कृषि, उड्डयन, पर्यटन, स्वास्थ्य, ऊर्जा, शहरी सेवा र विपद् जोखिम न्यूनीकरणजस्ता क्षेत्रमा आवश्यक विशेषीकृत मौसम सेवा विस्तारमा बाधा पुग्ने जोखिम कायम रहन सक्छ ।
त्यसैले विभागको वैज्ञानिक, प्राविधिक र राष्ट्रिय दायित्वलाई स्पष्ट रूपमा स्थापित गर्दै संस्थागत निरन्तरता, विशिष्टीकरण र क्षमता सुदृढ गर्नु आवश्यक छ। चरम मौसमका घटना, हिमाली जोखिम र जलवायुजन्य प्रभाव बढिरहेको सन्दर्भमा मौसम विज्ञान सेवाको भूमिका घटाउने होइन, अझ सशक्त र क्षेत्रमुखी बनाउँदै लैजानु दीर्घकालीन राष्ट्रिय हितमा हुन्छ।
विभागको सफलता स्टेशन वा बुलेटिनको संख्याबाट मात्र मापन गर्नु पर्याप्त हुँदैन। सूचना कति छिटो पुग्यो, सेवाग्राहीले कति बुझे, कुन निर्णयमा प्रयोग गरे र जोखिम घटाउन कस्तो योगदान भयो भन्ने मूल्याङ्कन चाहिन्छ। सरकारले संस्थागत निरन्तरता र वैज्ञानिक क्षमता सुनिश्चित गर्न सके नेपाल मौसम विज्ञान विभाग नागरिक सुरक्षा तथा राष्ट्रिय विकासमा अझ प्रभावकारी साझेदार बन्न सक्छ । तयार भएको प्राविधिक आधारलाई दैनिक जीवन र सार्वजनिक निर्णयमा उपयोगी सेवामा बदल्नु नै अबको मुख्य काम हो।
(डा. पोखरेल, त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक हुन् ।)
प्रतिक्रिया 4