+

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

२०८३ असोज  २० गते ११:३८ २०८३ असोज २० गते ११:३८

२० असोज, काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखिकी कप्तान हरमनप्रीत कौरले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएकी छन् । यद्यपी, उनले राष्ट्रिय टोलीबाट खेल्न भने जारी राख्नेछिन् ।

हरमनप्रीतको निर्णय भारतले एसियन गेम्समा महिला क्रिकेटतर्फ लगातार दोस्रो स्वर्ण जितेको केही दिनपछि आएको हो । उनको नेतृत्वमा भारतले गत नोभेम्बरमा पहिलोपटक महिला एकदिवसीय विश्वकपको उपाधि पनि जितेको थियो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को गुवाहाटीमा बसेको समीक्षा बैठकपछि हरमनप्रीतले कप्तानी छाड्ने निर्णय सार्वजनिक गरेकी हुन् । बीसीसीआईका सचिव देवजीत सकियाको अध्यक्षतामा बसेको बैठकमा मुख्य प्रशिक्षक अमोल मजुमदार र उपकप्तान स्मृति मन्धाना पनि सहभागी थिए ।

३७ वर्षीया हरमनप्रीतले सन् २०१६ देखि भारतीय टी–२० टोलीको कप्तानी सम्हाल्दै आएकी थिइन् । उनले सन् २०२२ मा एकदिवसीय टोलीको कप्तानी सम्हालेकी थिइन् भने २०२३ मा तीनवटै प्रारूपको कप्तान बनेकी थिइन् ।

कप्तानी छाड्ने घोषणा गर्दै हरमनप्रीतले यो निर्णय सहज नभएको बताएकी छन् । उनले कप्तानीसँग जोडिएका वर्षौंका सम्झना, भावना, त्याग र महत्वपूर्ण क्षणहरू जीवनभर आफूसँग रहने बताइन् ।

‘अब म फेरि खेलप्रतिको प्रेमका लागि खेल्न तयार छु । कप्तानीको अन्त्य भएको छ, यात्रा भने जारी छ’ उनले भनेकी छन् ।

हरमनप्रीतले आफू भावनाले भरिएको अवस्थामा भए पनि शान्त मनले कप्तानी छाडेको बताउँदै भारतीय टोली अहिले राम्रो अवस्थामा रहेकोमा आफू विश्वस्त रहेको उल्लेख गरेकी छन् ।

भारतीय महिला क्रिकेट टिम हरमनप्रीत कौर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय