+
+
Shares

खुलामञ्चतिर किन दौडँदैछन् चर्चित फिल्मकर्मी मीन भाम ?

मीनबहादुर भाम नेपाली सिनेमाका लागि गतिलो नाम हो । तर, राजनीतिमा यो नामको तौल कति छ ? नापजाँच हुन बाँकी छ ।

शिव मुखिया शिव मुखिया
२०८३ असोज २० गते १६:२७

क्यामेरा र क्ल्यापबोर्डको पछाडि उभिने मीनबहादुर भामलाई अहिले तपाईं कहाँ खोज्नुहुन्छ ? छायांकनमा ? फेस्टिभलमा ? सिनेमाघरमा ? या कुनै शान्त गुम्बातिर ?

यतिबेला उनी कतै उभिएर भासिएको स्वरमा ‘एक्सन’ भनिरहेका छैनन् । वा बोधिचित्तको माला जप्दै सुस्तरी गुम्बाको फन्को लगाइरहेका  छैनन् । निश्चल बस्नेतहरूलाई खुवाउन भन्दै स्वादले मूला–गाँजरको अचार बनाइरहेका छैनन् । महान् दार्शनिकझैँ आफैँलाई बिर्सिएर ढुक्कले कुनै स्क्रिप्टको २५औँ ड्राफ्ट लेखिरहेका छैनन् ।

त्यसो भए कहाँ छन् त ? के गर्दैछन् ?

उही चिरपरिचित अनुहार लिएर भिडमा मिसिएका छन् । ‘राजनीतिको आइडेन्टिटी कार्ड’ भिरेर आफ्नै तालमा हिँडिरहेका छन् । हो, उनी यतिबेला खुलामञ्च परिसरमा छन् । कांग्रेसको महाधिवेशनमा छन् ।

यति भनेपछि यस्तो प्रश्न गर्नु मूर्खतापूर्ण हुन सक्छ, ‘उनी किन त्यहाँ गएका हुन् ?’

किनभने मुगु जिल्लावासी भाम पिछडिएको क्षेत्रबाट नेपाली कांग्रेसमा ‘सहमहामन्त्री’ पदमा उम्मेदवारी दिन त्यहाँ हाजिर भएका हुन् ।

नेपाली सिनेमामा त मीनबहादुर भामले आँधी–तुफान नै पैदा गरिदिए । तर, राजनीतिमा ?

यो प्रश्नको जवाफ अहिले तुरुन्त खोज्नुपर्छ भन्ने छैन । खासगरी मीन भामको हकमा ।

जतनसाथ बिस्तारै हिँड्ने, होसियारीपूर्वक बिस्तारै बोल्ने मीनबहादुर भाम फिल्म पनि बिस्तारै बनाउँछन् । उनलाई कति पनि हतार हुँदैन । यस्तो लाग्छ, मानौँ समयले उनलाई पर्खनेछ ।

हुन्छ पनि त्यस्तै । जब–जब फिल्म सार्वजनिक हुन्छ, त्यो समय उनैले कब्जा गर्छन् । घरेलु सिनेमाघरदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म त्यसको तरंग फैलिन्छ । चाहे ‘कालोपोथी’ को कुरा गरौँ या त ‘साम्बाला’ को । त्यसअघि बनेको फिल्म ‘बाँसुल्ली’ नै किन नहोस् । उनले यी फिल्म मात्र बनाएनन्, कीर्तिमान बनाए । इतिहास बनाए ।

मीनको कीर्तिमानी यात्रा छोटो फिल्म ‘बाँसुल्ली’ बाट सुरु भयो । यो फिल्मले विश्वकै पुरानो र प्रतिष्ठित मानिने भेनिस फिल्म फेस्टिभलमा नेपालबाट पहिलो पटक आफ्नो उपस्थिति जनायो । राजनीतिक उथलपुथलले दूरदराजमा हुर्किरहेकी १२ वर्षीया किशोरीको जिन्दगीमा के–के भयो ? १५ मिनेटको फिल्मले बेलिबिस्तार लगाएको छ ।

त्यसपछि मीनले अर्को फिल्म बनाए, ‘कालोपोथी’ । माओवादी युद्धको समयरेखालाई दुई खण्डमा विभाजित गरेर यो फिल्मले कर्णालीको कथा भन्छ, जहाँ दुई बालकलाई केन्द्रमा राखिएको छ ।

‘कालोपोथी’ ले भेनिस फिल्म फेस्टिभलको ‘इन्टरनेसनल क्रिटिक्स विक’ मा स्क्रिनिङ गर्ने दुर्लभ र ऐतिहासिक मौका पायो । त्यहाँ यस फिल्मले ‘न्यु भ्वाइस’ र ‘पोलिटिकल ड्रामा’ जस्ता दुई वटा उपविधामा अवार्ड पायो । यसैगरी ८९औँ संस्करणको ओस्कर अवार्डका लागि सर्वश्रेष्ठ विदेशी भाषा चलचित्र विधामा सिफारिस गरियो ।

पटकथाबाटै विदेशी अनुदान लिने र विदेशी दर्शकमाझ नै सर्वाधिक कमाइ गर्ने एक्लो नेपाली फिल्मको कीर्तिमान यसैले बनायो । विश्व फन्को लगाएर ‘कालोपोथी’ नेपालका सिनेमाघरहरूमा प्रदर्शन भयो, जहाँ यसले नवीन बहसको सुरुवात गरिदियो ।

‘कालोपोथी’ सार्वजनिक प्रदर्शनमा आएको ८ वर्षपछि उनै मीन अर्को तहल्का मच्चाउन आइपुगे ‘साम्बाला’ बाट । सुरुमा ‘चिसो वर्ष’ नाम राखिएको यो फिल्मले पटकथा र निर्माणका लागि मनग्ये विदेशी अनुदान प्राप्त गर्न सफल भयो । अनि फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा यसको निर्माण भयो, लगभग १४ करोड बजेटमा ।

बहुपति प्रथाको पृष्ठभूमिमा यस फिल्मले आफ्नो बेपत्ता श्रीमान् खोज्न हिमाली यात्रामा निस्किएकी एक महिलाको कथा भन्छ । हिमाली सुन्दरता र जटिलतासँगै अगाडि बढ्ने उनका पाइला आध्यात्मिक यात्रामा रूपान्तरित हुन्छन् ।

विश्वकै ठूलो फिल्म महोत्सव ‘बर्लिन फिल्म फेस्टिभल’ को ७४औँ संस्करणमा ‘साम्बाला’ ले सगर्व स्थान पायो । महोत्सवमा स्क्रिनिङका साथ मुख्य विधा ‘गोल्डेन बियर’ मा प्रतिस्पर्धाका लागि छनोट भयो । यो उचाइसम्म पुग्ने पहिलो नेपाली फिल्म र तीन दशकमा पहिलो दक्षिण एसियाली फिल्मको कीर्तिमान बनायो ।

यी फिल्महरू ‘हल्ला मनोरञ्जन’ मात्र थिएनन् । बरु नेपाली कला–परम्परा र मौलिक कथ्य संरचनाले सुशोभित दस्तावेज थिए ।

गहकिलो फिल्म बनाउने मीनबहादुर भाम नेपाली सिनेमाका लागि गतिलो नाम हो । तर, राजनीतिमा यो नामको तौल कति छ ? नापजाँच हुन बाँकी छ ।

पारिजातको अत्तरले सुगन्धित, जटाधारी मीन भामले खुला राजनीतिमा इन्ट्री गरेको धेरै भएको छैन । समयको के हिसाब–किताब ? जसले समयलाई नै आफ्नो वशमा राख्न सक्छन् ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?