+
+
Shares

मकवानपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ वर्षीय बालक र प्रहरीसहित तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते २१:०३

२० असोज, हेटौंडा । मकवानपुरमा पाँच दिनको अन्तरालमा भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालक र प्रहरीसहित तीन जनाको मृत्यु भएको छ ।

आज मंगलबार पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ साततलेस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । आफ्नै घरमा खेलिरहेका सरोज घलानका चार वर्षीय छोरा प्रिभेस घलान एक्कासी सडकमा निस्किएका बेला फापरबारीबाट हात्तीसुँडेतर्फ जाँदै गरेको प्र ०३–०२–००३ प २६३१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते बालकलाई मोटरसाइकल चालक बकैया गाउँपालिका–३ चिसापानीका २४ वर्षीय दिपक थिङले अभिभावकसहित उपचारका लागि हेटौंडास्थित सहकारी अस्पताल ल्याएका थिए । अस्पतालमा साँझ चिकित्सकले बालकलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मोटरसाइकलचालक थिङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसैगरी, गत १५ असोज राति हेटौंडा उपमहानगरपालिका–१० मेनरोडस्थित पूर्व–पश्चिम सडकखण्डमा स्कुटर र यात्रुबाहक बस ठोक्किँदा घाइते भएका प्रहरी सहायक हवल्दार किरण थापाको उपचारका क्रममा मृत्यु भएको छ । काभ्रेको बनेपा नगरपालिका–१२ घर भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत ३२ वर्षीय थापा कार्यालयको कामका लागि बुद्धचोक हुँदै कर्रातर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ग २ ख १०७९ नम्बरको यात्रुबाहक बससँग ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते थापाको हेटौंडा अस्पतालमा उपचारपछि चितवन मेडिकल कलेज हुँदै काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । उनको आज मंगलबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको डिएसपी काफ्लेले बताए । बस चालक स्याङ्जाको भीरकोट नगरपालिका–६ का ३८ वर्षीय खगेन्द्र कोइरालालाई नियन्त्रणमा लिएर सवारी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, आज मंगलबार दिउँसो भीमफेदी गाउँपालिका–६ धानगोदामस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको अर्को दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा १२ च ४१६४ नम्बरको ल्याण्ड क्रुजर गाडीले काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०२–०१८ प ०४५९ नम्बरको जाभा मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही क्रममा पछाडिबाट आउँदै गरेको बा ५४ प २५६६ नम्बरको होण्डा मोटरसाइकल अनियन्त्रित भई सडकको बाँयातर्फको नालामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जाभा मोटरसाइकलका चालक हेटौंडा उपमहानगरपालिका–५ सिद्धार्थपथका २५ वर्षीय महेश्वर घिमिरे खत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी काफ्लेले जनाएका छन् । होण्डा मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका–२८ माइतीघरमा बस्दै आएका ३२ वर्षीय मुन्ना आलम र पछाडि सवार ३१ वर्षीय चुन्नु आलम घाइते भएका छन् । उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?