२१ असोज, स्याङ्जा । स्याङ्जाको वालिङमा माइक्रोबसको ठक्करबाट ७८ वर्षीया महिला घाइते भएकी छन् ।
वालिङ नगरपालिका–१० पण्डितथोकस्थित सिद्धार्थ राजमार्गमा मंगलबार साँझ माइक्रोबसले पैदल हिँडिरहेकी सुमित्रा पङ्गेनीलाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार मंगलबार साँझ मोदीखोलाबाट वालिङतर्फ आउँदै गरेको बा ३ ख ८६२६ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेकी पङ्गेनीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा टाउकोमा चोट लागेकी पङ्गेनीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न माइक्रोबस र चालकलाई वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया 4