२१ असोज, पोखरा । पर्वतको दुर्लुङबाट झण्डै ५० वर्ष अगाडि यशोदा गुरुङ जलजलाको फर्से बजार झर्दा मालढुंगा–बेनी सडक खुलेकै थिएन । नजिकैका मानिसहरू मालढुंगादेखि भारी बोकेर हिँड्थे । व्यापारीहरू खच्चडमा बोकाएर बागलुङ र म्याग्दीसम्म सामानहरू लैजान्थे ।
अन्नपूर्ण पदमार्ग भएर आउजाउ गर्नेहरू फर्से बजारमा बास बस्थे । मुक्तिनाथ दर्शन गर्नेहरूको यही बजारको बीच बाटो भएर लर्को लाग्थ्यो ।
करिब १ सय ५० वर्षको आसपासमा फलामको लठ्ठा र काठ हालेर झोलुंगे पुल बनेपछि व्यापारिक नाका बनेको फर्से बजारमा बढी चहलपहल भएकै कारण यशोदाको परिवार यहाँ झरेको थियो ।
करिब २ सय वर्षअगाडिदेखि साना छाप्राहरूबाट बस्ती बस्न थालेको फर्से बजार पर्वत, बागलुङ र म्याग्दीका अधिकांश क्षेत्रको व्यापारिक नाका थियो । भारतलाई भोटसँग जोड्ने बाटो यही बजार भएर जान्थ्यो ।
‘मानिसहरू धेरै हिँड्ने, व्यापार पनि हुने भएकारले दुर्लुङको दु:ख छाडेर यहाँ झरेको हो,’ यशोदाले भनिन्, ‘हामी आउँदा रोड थिएन । मान्छे हिँडेरै मुक्तिनाथ जान्थे । स-साना घरहरू थिए ।’

पोखरा–बागलुङ भूपी शेरचन राजमार्ग २०४८ सालमा सम्पन्न भएको थियो । त्यही सडकसँग जोडेर २०५२ सालमा ‘कामका लागि खाद्यन्न’ परियोजना अन्तर्गत मालढुंगा–बेनी सडक खुल्यो ।
यो सडक पुरानो ऐतिहासिक पदयात्री हिँड्ने बजारभन्दा केही माथिबाट गयो । मालढुंगा–बेनी सडक खुलेपछि बस्ती पनि माथि सर्दै गए तर फर्से बजारको व्यापार भने त्यही डेढ सताब्दी पुरानो पुलका कारण धानिएकै थियो ।
यशोदाका अनुसार त्यहाँ पर्वत, बागलुङ र म्याग्दीका डाँडाकाँडाका गाउँबाट फर्से बजार झरेर उनको छिमेकी बनेका थिए ।
फर्सेमा यशोदाको परिवारले ३ वटा घर बनाएका थिए । असोज ११ गते राति यशोदा र नातिनातिना एउटा घरमा सुतेका थिए भने उनका श्रीमान अर्को घरमा । छोरा विदेश छन् र बुहारी फूपू बितेका कारण माइत गएकी थिइन् ।
राति छिमेकीले घरमै आएर चिच्चाए, ‘कालीगण्डकीले सबै बजार खाने भइसक्यो । छिटो उठ ।’ यशोदा जर्याकजुरुक उठिन् र बजार हेरिन् । नभन्दै बजारका मानिस त हल्लाखल्ला गर्दै दौडिइरहेका रहेछन् । उनले पनि नातिनातिना च्यापिन् । श्रीमानलाई उठाइन् र खोल्साखोल्सै मास्तिर भागिन् ।

माथि पुगेर हेर्नेबित्तिकै उनले देखिन्, छिमेकी रमेशको घर भत्कायो । अनि क्रमशः उनका ३ वटै घर पनि लग्यो । यशोदा त उभिएकै ठाउँमा ढलिन् तर उनको ज्यानसँगै सुरक्षा पनि छिमेकीले नै दिए ।
‘छिमेकीले गर्दा आज म बाँचे । मेरा दुई वटा नाती बचाएँ । हातमा एउटा ब्यागमात्रै लिएर निस्किएँ । बुढोलाई पनि उठ्नुस्, हामीमात्रै हो रे भनें,’ यशोदाले बिहान भइसकेको तर चकमन्नै हु्ँदाको ११ गतेको घटना सम्झिइन्, ‘छिमेकीले हामीलाई बचाइदिनु भयो ।’
असल छिमेकीका कारण सबै सम्पत्ति बगाएर पनि यशोदाले ज्यान बचाइन् । तर, उनले कालीगण्डकीमा आएको यस्तो बाढी कहिल्यै देखेकी थिइनन् । फर्से बजार कालीभन्दा माथि नै थियो । तर, पछिल्लो समय धार परिवर्तन गरिरहेको थियो । नदी उत्खननन्का कारण धार परिवर्तन गरेर फर्से बजारमा पसेको उनी बताउँछिन् ।
श्रीमानले विदेशमा दु:ख गर्दै जम्मा गरेको पैसाले सुकमायाको परिवारले फर्से बजारमा घर बनाएको थियो । २३ वर्षदेखि फर्सेमा बसेकी सुकमायाले सानो टेलर्स चलाएकी थिइन् । यो सबै असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बगाइदियो ।

‘यसरी कालीगण्डकी कहिल्यै पनि आएको थिएन । राति सुतिरहेको बेलामा अहिले एक्कासी बाढी आयो र उथुलपुथल बनायो,’ सुकमायाले आँसु खसाल्दै भनिन्, ‘मेरो अन्त कहीँ केही छैन । अहिले आफ्नो घर भएको जग्गा कहाँनेर छ, त्यो जग पनि थाहा छैन ।’
छिमेकी भाइहरूले बाइकको हर्न लगाउँदै उठाएका कारण आफूले ज्यान बचाएको सुकमायाले पनि बताइन् । आफ्नो सबैथोक बगाए पनि ज्यान बचाइदिएकोमा सुकमायाले छिमेकीलाई धन्यवाद दिइन् ।
‘यसरी बाढी आउला र सबै रित्तै बनाइदेला भन्ने थिएन,’ सुकमायाले भनिन्, ‘सरकारले ओत लाग्ने घर छिटो बनाइदिए हुन्थ्यो ।’

सुकमायाका जस्तै बेला-बेला आँसुमात्र झरिरहेका छन्, विकका पनि । उनले इराकमा बसेर रातदिन नभनी काम गरेर फर्से बजारमा घर बनाएकी थिइन् । भारी बोकेको पैसाले मात्रै नपुगेपछि चोर बाटो हुँदै इराक पुगेर काम गर्दै बनाएको घर बाढी निलिदिएपछि उनी बेघर बनेकी छन् ।
पुस्तौंपुस्तासम्म बगिरहेको कालीसँगै जीवन गाँसेर फर्सेबासी बाँचिरहेका थिए । तर, असोज ११ गते उनीहरूले नसोचेको क्षति बेहोरे । करिब सय घर कालीले कटान गरिदिएको छ । पछिल्ला केही वर्षमा कहिले काली एउटा छेउबाट बग्छ त अर्को साल अर्को छेउबाट बग्छ ।
‘हामी पुस्तौं, पुस्तासम्म यहीँ छौं । यसरी कालीगण्डकीले कहिल्यै कटान गरेको थिएन । एक हप्तासम्म पनि वर्षा हुन्थ्यो । त्योबेला पनि क्षतविक्षत हुने अवस्था देखेनौं,’ जलजलाका मनबहादुर क्षेत्रीले भने, ‘३ दिनको वर्षाले नै यसरी क्षतविक्षत गराउनुको प्रमुख कारण नै नदीजन्य बस्तुको दोहन हो ।’
कालीगण्डकी निरन्तर बगिरहेकै थियो । फर्से बजार एउटा इतिहास र विकासक्रमको विरासत बोकेर बाँचिरहेकै थियो । तर, ११ असोजमा कालीगण्डकीमा आएको बाढीले फर्से बजारको अस्तित्वमात्रै संकटमा पारिदिएन, धेरैलाई उठिबास नै पार्यो ।
बाढी कहिले, कुन रुपमा आउँछ भन्ने पत्ता हुँदैन । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले १४ सय बढीको ज्यान लियो । हजारौं विस्थापित र घाइते छन् । भोटेकोशी बाढीले पनि देशैभरि नयाँ पाठ पठाइरहेको थियो । सरकारले पनि देशैभर असोज ८ गतेदेखि नै सचेत रहन सूचित गरेको थियो । तर, कालीगण्डकीको बाढीलाई भोटेकोशीसँग जोडेर हेर्न नहुने बताउँछन्, संरक्षण अभियान्ता तारानाथ रेग्मी ।
‘न यो भोटेकोशीको जस्तो बाढी हो, न त्यस्तो प्रकृति नै हो । यो ठाउँमा कालीगण्डकी तीव्र गतिमा पनि आउँदैन, यसको गति कम छ । यो जथाभावी डोजर लगाएर उत्खनन् गर्दाको परिणाम हो, राज्यले नै यसको अध्ययन र यो काम राक्ने गर्नुपर्छ,’ उनी भन्छन्, ‘अब खोला छेउका नागरिकलाई बेलै सुरक्षित ठाउँमा सार्ने नीति राज्य नै लिनुपर्यो र जथाभावी उत्खनन् पनि रोक्नुपर्यो ।’

११ असोजमा कालीगण्डकीमा आएको बाढीले म्याग्दी, बागलुङ र पर्वतमा ठूलो जनधनको क्षति पुर्याएको छ । बागलुङ र म्याग्दीमा त मानिसहरूले ज्यान गुमाए । पर्वतमा सरकारले बेलैमा सचेत गराएको र छिमेकीहरूले असल भूमिका निर्वाह गर्दा धेरै ज्यान बचाएका छन् ।
जलजला गाउँपालिकामा मात्रै १ सय ८० घर बाढी पहिरोबाट विस्थापित बनेको पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
विस्थापितका लागि क्याम्प खडा गरेर अस्थायी बासको ब्यवस्था गरिएको भए पनि स्थायी बास र स्थानबारे पनि निर्णय आइनसकेको सिडिओ क्षेत्रीको भनाइ छ ।
कालीगण्डकीले कटान गरेर जोडेको घरजग्गा बगाउँदा फर्सेका बाढी पीडित फेरि ओत लाग्ने बाटो खोज्दै सरकारतिर नजर लगाइरहेका छन् ।
प्रतिक्रिया 4