अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का सदस्य राष्ट्रहरूले इन्धनको बढ्दो मूल्य घटाउने प्रयासस्वरूप तेलको सञ्चित भण्डारबाट थप तेल छिटो बजारमा ल्याउने निर्णयप्रति समर्थन जनाएका छन् । होर्मुज जलमार्ग बन्द भएपछि इन्धनको मूल्य बढ्दैगएको छ ।
आईईएका कार्यकारी निर्देशक फातिह बिरोलका अनुसार सदस्य राष्ट्रका सरकारहरूले यसैवर्षको मार्चमा भएको सामूहिक निर्णय कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । उक्त निर्णयअन्तर्गत इरानमाथि अमेरिका–इजरायल युद्धका कारण उत्पन्न आपूर्ति अवरोध सम्बोधन गर्न सदस्य राष्ट्रहरूले आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ राष्ट्रहरूले बजारमा इन्धन आपूर्ति नगरे अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि आईईएको पछिल्लो निर्णय आएको हो । शुक्रबार जी–७ राष्ट्रहरूले १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए ।
बिरोलले एक वक्तव्य जारी गर्दै हालसम्म उक्त सम्झौताअन्तर्गत करिब ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा ल्याइसकिएको बताए । प्रतिबद्धता जनाइए पनि अहिलेसम्म बजारमा नल्याइएको सम्पूर्ण तेल सञ्चितिमध्ये बाँकी तेल बजारमा ल्याउँदा थप करिब १० करोड ब्यारेल तेल उपलब्ध हुने उनले बताए ।
आईईएका केही सदस्य राष्ट्रहरूले सुरुवातमा प्रतिबद्धता जनाएको भन्दा ठूलो परिमाणमा तेल बजारमा ल्याइसकेको पनि बिरोलले बताए ।
उनका अनुसार आईईए सदस्य राष्ट्रहरूसँग अझै पनि ठूलो मात्रामा सार्वजनिक स्वामित्वमा रहेका आपत्कालीन तेल भण्डार छन् । तीमध्ये करिब १ अर्ब १० करोड ब्यारेल तेल रहेको र २० करोड ब्यारेलभन्दा बढी डिजेल रहेको उनले जानकारी दिए । –अलजजीराबाट
प्रतिक्रिया 4