२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने भएको छ ।
त्रिविको सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रजिस्ट्रार रबिन्द्र शिवाकोटीले यस्तो जानकारी गराएका हुन् ।
परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने प्रक्रिया प्रारम्भ भइसकेको उनले बताए ।
सूचना प्रविधिको प्रयोग र पहुँचलाई थप प्रभावकारी बनाई अनलाइन भुक्तानी, मार्कसिट र ट्रान्सक्रिप्टहरू प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गर्ने व्यवस्था थप सहज र सुलभ बनाइएको उनको भनाइ छ।
उनका अनुसार परीक्षा नियन्त्रण कार्यालयका केन्द्र तथा प्रादेशिक कार्यालयहरू र क्याम्पसका परीक्षा शाखामा कार्यरत कर्मचारीहरूलाई कार्यक्षेत्र तथा कार्यस्थलमै आवश्यक प्रशिक्षण प्रदान गरी परीक्षासम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै लगिएको छ।
त्रिभुवन विश्वविद्यालयका सम्बन्धित डीन कार्यालयहरूबाट सञ्चालन हुने सेमेस्टर प्रणालीका शैक्षिक कार्यक्रमहरूको परीक्षासम्बन्धी कार्य प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरी थप प्रभावकारी बनाउँदै लगिएको उनले बताए ।
प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयहरूका लागि आवश्यकताअनुरूप पूर्वाधार निर्माण तथा मानव संसाधन व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको छ।
रजिस्ट्रार शिवाकोटीका अनुसार त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने सबै तहका परीक्षाहरूका प्रश्नपत्र अनलाइन विधिबाट परीक्षा केन्द्रसम्म पुर्याउने प्रणाली सञ्चालन गर्ने कार्य प्रारम्भ गरिएको छ।
प्रतिक्रिया 4