+
+
Shares

इच्छाकामनाको नयाँ आधारभूत अस्पताल भवनबाट सेवा सञ्चालन

चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा निर्माण गरिएको नयाँ आधारभूत अस्पतालबाट भवनबाट सेवा सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १२:०८

२२ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा निर्माण गरिएको नयाँ आधारभूत अस्पतालबाट भवनबाट सेवा सुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले लामो समयको मेहनत र प्रयासपछि १५ शय्याको अस्पताल भवन निर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० बाट निर्माण थालिएको अस्पताल भवनको लागत १४ करोड ५० लाख रहेको छ । सुरुमा जग्गा सम्बन्धी विवादका कारणले निर्माणमा ढिलाइ भएको भए पनिपछि विवाद समाधान गरेर कामलाई गति दिइएको पालिका अध्यक्ष गुरुङले बताए ।

‘सन्तोषी जेभी नुवाकोटले निर्माण गरेको भवनमा उपचारका लागि आवश्यक औजार उपकरणहरू जडानसमेत गरिएका छन् । अहिले पुरानो अस्पतालमा भएका उपकरणहरु मेसिनहरुबाट परीक्षण भइरहेको छ, अब नयाँ अस्पताल भएपछि संघ तथा प्रदेश सरकारबाट नयाँ मेसिनहरू ल्याएर सेवा दिन्छौं,’ पालिका अध्यक्ष गुरूङले भने, ‘इच्छाकामनाका ग्रामिण भेगदेखि शहरी क्षेत्रका बिरामीलाई भरपर्दो सेवा उपलब्ध गराउने मूल उद्देश्य रहेको छ ।’

गाउँपालिकाको पुरानो भवनबाट सेवा लिँदै आएका सम्पूर्ण सेवाग्राही, बिरामीलाई अबदेखि नवनिर्मित भवनमा सेवा लिन सहज हुने विश्वास पालिकाले पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीले बताए ।

असोज २५ गते बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भवनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय खत्रीले जानकारी दिए ।

अस्पतालका मेडिकल अधिकृत डा.अभिषेक लिम्बूले नवनिर्मित भवनबाट सेवा सञ्चालनसँगै सेवाग्राहीलाई पहिलेभन्दा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध बताए ।

संघीय सरकारसँग थप चिकित्सकसहितको जनशक्ति माग गरेको अध्यक्ष गुरुङले बताए । अस्पतालमा अहिले पालिकाको दरबन्दीमा दुई जना चिकित्सक र प्रदेशबाट छात्रवृत्ति करारमा एक जना चिकित्सक रहेका छन् ।

अस्पतालमा ओपीडीसहित, माइनर ओटी, आँखा, दाँत, फिजियोथेरापी, ल्याब, फार्मेसी, एक्सरे, भिडियो एक्सरे लगायतका सेवा सुविधा उपलब्ध हुने पालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।

अस्पतालमा १ जना कन्सल्टेन्ट मेडिकल सुपरिटेन्डेन्टसहित ४ जना मेडिकल अफिसर,नर्स तथा पारामेडिक्स, ल्याव असिस्टेन्टहरू रहनेछन् ।

अस्पतालमा चितवन इच्छाकामनाका जनतासँगै तनहुँ, गोरखा र धादिङका सेवाग्राहीहरु पनि उपचार सेवाबाट लाभान्वित हुने विश्वास लिएको अध्यक्ष गुरूङले बताए । पालिकाले हाल सञ्चालन गरेको पुरानो नगर अस्पतालमा दैनिक १५० देखि २ सयसम्म बिरामी आउने गरेका छन् । अहिले १० प्रकारका सेवा प्रदान गरेको अस्पतालले नयाँ भवनबाट ७ वटा नयाँ सेवा थप गर्ने योजना बनाएको छ ।

आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रुपमा विस्तार गर्न आवश्यकता रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

पृथ्वी राजमार्गसँग जोडिएको अस्पतालमा राजमार्गमा हुने दुर्घटनाका घाइतेहरूको पनि उपचार गर्न सहज हुने पालिका अध्यक्ष गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?