२२ असोज, काठमाडौं । उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ नामको चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरिदिएको छ ।
इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’ ट्रेडमार्कको नक्कल गरी ‘पर्फेक्ट सेन्टर फिल्ज’ ले ट्रेडमार्क दर्ता गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यो खारेज हुने फैसला गरेको थियो । फैसला कार्यान्वयन गर्दै उद्योग विभागले उक्त ट्रेडमार्कको दर्ता बदर गरेको हो ।
उद्योग विभागले सुनसरी दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिका नाममा रहेको ‘पर्फेक्ट सेन्टर फिल्ज’ को दर्ता ६ जेठ २०८३ मा बदर गरिदिएको हो ।
विभागको औद्योगिक सम्पत्ति अभिलेख अनुसार पर्फेक्ट फुड्सले चुइङ्गमका लागि वर्ग ३० अन्तर्गत आवेदन नम्बर ०६१८२२ मार्फत उक्त ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाएको थियो ।
सर्वोच्चले पर्फेक्ट सेन्टर फिल्जले दर्ता गरेको ट्रेडमार्क पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ (१) को प्रतिबन्धात्मक वाक्यांश विपरीत रहेकाले त्यसको दर्ता बदर हुने फैसला २२ साउन २०८२ मै गरेको थियो ।
सोही प्रतिबन्धात्मक वाक्यांशमा ‘अरू कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने सम्भावना छ भन्ने लागे वा सो ट्रेडमार्क पहिले अरू कसैको नाममा दर्ता भइसकेको देखिए सो ट्रेडमार्क दर्ता गरिने छैन’ भन्ने उल्लेख छ ।
सर्वोच्चले यो ट्रेडमार्क विवादमा दुई ब्रान्डका शब्दमात्र समान छन् वा छैनन् भन्ने मात्रै नभई त्यसले उपभोक्तामा भ्रम सिर्जना हुन सक्छ कि सक्दैन भन्ने विषयलाई पनि हेरेको थियो ।
अदालतले पर्फेक्ट सेन्टर फिल्ज र सेन्टर फ्रुटबीच पर्याप्त समानता रहेको र यसबाट सामान्य उपभोक्ता भ्रमित हुन सक्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतले फैसला गरेको तीन वर्षपछि मात्रै उद्योग विभागले ट्रेडमार्क खारेजीको निर्णय गरेको हो । पर्फेक्ट फुड्सले भने आफ्नो कम्पनीको नाम, प्याकेजिङ र ट्रेडमार्कका अन्य शब्द फरक रहेको दाबी गरेको थियो ।
‘सेन्टर’ र ‘फ्रुट’ जस्ता शब्द सामान्य प्रयोगमा आउने भएकाले ती शब्दको प्रयोगबाट मात्र भ्रम सिर्जना नहुने तर्क उसको थियो । तर, सर्वोच्च अदालतको फैसलाको कानुनी विश्लेषणमा ट्रेडमार्कका शब्दलाई अलग–अलग विश्लेषण गर्नुको सट्टा उपभोक्तामा पर्ने समग्र प्रभावलाई प्राथमिकता दिइएको उल्लेख छ ।
लामो समयको प्रयोग र उपभोक्तामाझ स्थापित पहिचानका कारण सेन्टर फ्रुटले विशिष्ट व्यापारिक पहिचान हासिल गरिसकेको अदालतले स्वीकार गरेको फैसलामा उल्लेख छ ।
यस्तो अवस्थामा ‘पर्फेक्ट’ वा ‘फिल्ज’ जस्ता थप शब्द प्रयोग गर्दैमा उपभोक्ता भ्रमको सम्भावना स्वत: समाप्त नहुने निष्कर्ष अदालतको फैसलामा उल्लेख छ ।
पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १८(३) ले निश्चित अवस्थामा दर्ता भइसकेको ट्रेडमार्क समेत बदर गर्न सक्ने अधिकार उद्योग विभागलाई दिएको छ ।
दफा १९ ले बदर भएको ट्रेडमार्क प्रयोग गरी कारोबार गरे कानुन बमोजिम जरिबाना तथा सम्बन्धित सामान जफत गर्न सकिने व्यवस्था गरेको छ ।
यसकारण दर्ता बदर भएपछि सोही ट्रेडमार्क प्रयोगलाई निरन्तरता दिनु प्रचलित कानुन अनुसार कानुनी जोखिमको विषय बन्न सक्छ ।
नेपालले बजारलाई निरन्तर निगरानी गरिरहेको र आफ्नो ट्रेडमार्क तथा उपभोक्ताको हित संरक्षणका लागि आवश्यक कानुनी कदम चाल्ने इटालियन कम्पनी पर्फेट्टी भ्यान मेलीले जनाएको छ
नेपालमा ट्रेडमार्क, पेटेन्ट लगायत बौद्धिक सम्पत्तिको संरक्षण नहुने गरेको गुनासो बहुराष्ट्रिय कम्पनीले गर्दै आएका छन् । त्यसो हुँदा सर्वोच्चको यो फैसला र त्यस आधारमा नक्कल गरिएको ट्रेडमार्क खारेज गर्ने उद्योग विभागको निर्णय प्रख्यात व्यापारिक चिह्नको संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया 4