+
+
Shares

उदयशमशेर महामन्त्रीको उम्मेदवार बन्नुका तीन कारण

पार्टीमा छवि राम्रो भएको व्यक्ति केन्द्रमा हुँदा पार्टीको इमेज सुधार्न सकिने उनी बताँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १४:१९

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले महामन्त्री बन्न खोज्नुमा तीन कारण रहेको बताएका छन् । विशेष महाधिवेशनबाट सह महामन्त्री बनेका राणाले नेता कार्यकर्ताको चाहना अनुसार नै महामन्त्री पदमा उम्मेदवार बनेको पहिलो कारण बताए ।

‘सहमहामन्त्रीको मेरो कार्यबाट पार्टीका नेता–कार्यकर्ता र सभापतिको पनि विश्वास जितेको छु भन्ने मलाई लाग्छ । धेरै कार्यकर्ता साथीहरूले ‘यसपालि तिमी महामन्त्री बन्नपर्छ’ भन्नुभएको छ,’ राणाले अनलाइनखबरसँग भने,‘पार्टीका साथीहरूले ‘तिमी पढेको/लेखेको व्यक्ति’ भएको हुँदा महामन्त्री बनेर संगठनलाई रिभाइभ गर्न अलि सजिलो हुन्छ भन्नुभएको छ । पार्टीमा जुन किसिमको एक्सपोजर पाएको छु र एजुकेसन ब्याक ग्राउन्ड त्यसले पनि महामन्त्री पदमा काम गर्न सहयोग पुग्छ ।’

कांग्रेसमा वैचारिक बहसलाई व्यापक बनाउन पनि महान्त्रीको उम्मेवार बनेको उनले बताए । कांग्रेसमा समाजवाद र सामाजिक लोकतन्त्र विषयमा बहस भइरहेको छ । उनी भन्छन्,‘समाजवाद र सामाजिक लोकतन्त्र बारे पार्टी भित्र अहिले बहस चलिरहेको छ । म महामन्त्री बने भने त्यसलाई पनि अलिकति व्यवस्थित गरेर त्यो बहसलाई अगाडी बढाउन मेरो मेरो महत्वपूर्ण भूमिका हुनसक्छ ।’

पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेता कार्यकर्तालाई मूल प्रवाहमा सहभागी गराउनका लागि पनि आफ्नो उम्मेदवारी भएको राणाले बताए । राणाका अनुसार ६० प्रतिशत भन्दा बढी विशेष महाधिवेशनमा सहभागी भएका थिए ।

‘१५ औं महाधिवशेनमा ९० देखि ९५ प्रतिशत साथीहरू आइसक्नुभएको छ । १४ औं महाधिवेशनबाट बनेको केन्द्रीय समितिका १३० जना भन्दा बढी सहभागी भइसक्नुभयो । केही केही बाहिर अझै बाँकी हुनुहुन्छ,’ महामन्त्री उम्मेदवार राणा भन्छन्,‘जो विशेष महाधिवेशनमा आएका थिएनन् उनीहरूलाई पनि ल्याउन मेरो भूमिका रहन्छ ।’

महामन्त्री पदको प्रतिस्पर्धी हुनुमा पोलिटिकल एम्बिसन तेस्रो कारण रहेको राणा बताउँछन् । ‘पार्टीमा काम गर्ने सबैको ‘एउटा पोलिटिकल एम्बिसन’ हुन्छ । यथास्थितिमा बस्न कसैको चाहना हुँदैन । त्यसैले पनि अलिकति ठूलो पदमा पुग्न खोजेको हुँ,’ राणा भन्छन् ।

आर्थिक, सामाजिक रुपमा आफूलाई कुनै दाग नलागेको बताउँदै राणाले त्यसका कारण पार्टीको इमेज सुधार्न टेवा पुग्ने दाबी गर्छन् । पार्टीमा छवि राम्रो भएको व्यक्ति केन्द्रमा हुँदा पार्टीको इमेज सुधार्न सकिने उनी बताँछन् । ‘पार्टीमा छबि राम्रो भएपछि पार्टीको इमेज सुधार्न पनि सहयोग पुग्छ । कांग्रेसको इमेज अलिकति ड्यामेज भएको छ । महामन्त्री भएँ भने इमेज सुधार्ने मेरो भूमिका हुन्छ,’ राणा भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?