२२ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले त्रिशूली नदी करिडोरमा जलवायु सम्पदा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा सोही कार्यक्रम समेटेको हो । यस कार्यक्रमका लागि बोर्डले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस वर्ष बोर्डले पर्यटन नीति, अध्ययन, अनुसन्धान र विश्लेषणका विभिन्न कार्यक्रम गर्न बजेट राखेको छ । जसमध्ये जलवायु सम्पदा क्षेत्रको विकास समेत एक हो । बोर्डले त्रिवेणीधामदेखि दामोदरकुण्ड जोडेर धाम पर्यटन सम्भाव्यता अध्ययन गर्ने भनेको छ ।
यस अध्ययन प्रतिवेदनमा पर्यटकीय सम्पदा तथा सेवा सुविधा सम्बन्धमा विस्तृत विवरण र उपयुक्त आइटीनरी, स्टोरी लगायत कन्टेन्ट तयार पारिने छ । सोही प्रयोजनका लागि समेत १५ लाख बजेट विनियोजन गरिएको छ । चालु आव बोर्डले स्थलमार्गबाट नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको सर्वेक्षण गर्ने बताएको छ ।
भारतीय पर्यटकको मुख्य आकर्षण हुने प्रत्येक प्रदेशका गन्तव्यमा पर्यटकको अपेक्षा सर्वेक्षण गर्न २० लाख बजेट विनियोजन गरिएको छ ।
यस वर्ष खगोल, गाउँ पर्यटन सफारी, काराभान र मोबिलिटी टुरिज्म लगायत विषय र सम्बन्धित विषयको पर्यटन सम्भाव्यता, स्रोत बजार प्रवर्द्धन विधि लगायत अध्ययन गर्न १० लाख बजेट राखिएको छ । बोर्डले विपद् व्यवस्थापनमा २५ लाख बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया 4