+
+
Shares

नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ३ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १८:३५

२२ असोज, काठमाडौं । नबिल बैंकको साधारणसभाले कुल १५.८० प्रतिशत लाभांश स्वीकृत गरेको छ । साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघेको छ ।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि आठ प्रतिशत लाभांश समेत पारित गरेको छ । साधारणसभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृति प्रस्तुत गरिएको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकले ७ अर्ब ९१ करोड खुद मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप दायित्व ६९ अर्ब ६७ करोड अर्थात् १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड पुगेको जनाएको छ ।

साथै सोही अवधिमा कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड पुगेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वासलातको आकार १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड पुगेको छ ।

सभामा अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । बैंक देश, समाज, सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर काम गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको अध्यक्ष चौधरीले उल्लेख गरे ।

नबिल बैंक स्थापना गर्दाको चुक्ता पुँजी हाल ९६० गुणाले वृद्धि भएको जनाइएको छ । साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।

नबिल बैंकले देशभर २६२ शाखा तथा ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?