+
+
Shares

साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानमाथि बिहीबार भएको आक्रमणमा कप्तानसहित ३ साउदी नागरिकको मृत्यु भएको छ।
  • साउदी अधिकारीहरूका अनुसार विमानस्थल र विमानलाई लक्षित दुई आक्रमणमा विभिन्न देशका धेरै नागरिक घाइते भएका छन्, र उनीहरूको चोट सामान्यदेखि गम्भीर छ।
  • हुथी विद्रोहीहरूले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरी विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन्, भने साउदी समूहले साँझ ६ बजेदेखि सेवा सामान्य बनेको जनाएको छ।

२३ असोज, काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी बिहीबार भएको आक्रमणमा विमानका कप्तानसहित तीन साउदी नागरिकको मृत्यु भएको छ भने विभिन्न देशका अन्य धेरै नागरिक घाइते भएका छन् ।

गत सप्ताहन्तदेखि यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी अरब र उसका सहयोगी सेनाले ठूलो सैन्य कारबाही सुरु गरेयता साउदी अरबमा भएको यो सबैभन्दा घातक आक्रमण हो ।

साउदी अधिकारीहरूका अनुसार बिहीबार भएको पहिलो आक्रमण विमानस्थलका संरचनालाई लक्षित गरी गरिएको थियो भने दोस्रो आक्रमण साउदी एयरलाइन्सको विमानमाथि भएको थियो । आक्रमणमा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन । यद्यपि, हुथी विद्रोहीहरूले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरी विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन् ।

मृत्यु हुनेमध्ये साउदी एयरलाइन्सका कप्तान हमुद अली अलकलथामी पनि रहेको साउदी समूहले विज्ञप्तिमार्फत जनाएको छ । पछिल्लो सैन्य कारबाही सुरु भएयता साउदी राष्ट्रिय ध्वजावाहक विमानमाथि भएको यो पहिलो पुष्टि भएको आक्रमण देखिएको छ ।

साउदी समूहको अर्को विज्ञप्तिअनुसार आक्रमण हुँदा विमान जमिनमा रहेको र त्यसमा क्षति पुगेको थियो । उक्त विमानमा भने कुनै यात्रु थिएनन् ।

रियादस्थित विमानस्थल पछिल्ला दिनमा पटकपटक आक्रमणको निशाना बनेको छ । यसै साताको सुरुमा भएको अर्को आक्रमणमा एक सुडानी नागरिकको मृत्यु भएको थियो ।

शुक्रबार जारी हवाई सेवासम्बन्धी वक्तव्यमा विभिन्न देशका नागरिक घाइते भएको उल्लेख गर्दै उनीहरूको चोटपटक सामान्यदेखि गम्भीर अवस्थासम्म रहेको जनाइएको छ ।

आक्रमण भएको केही घण्टापछि बिहीबार साँझ ६ बजेदेखि विमानस्थलको सञ्चालन सामान्य अवस्थामा फर्किएको साउदी समूहले जनाएको छ ।

यसैबीच, हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले क्षेत्रीय सुरक्षामा खतरा उत्पन्न गर्न विद्रोहीले प्रयोग गर्दै आएका तीनवटा रकेट प्रक्षेपण मञ्च नष्ट गरेको जनाएको छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?