News Summary
Generated by OK AI. Editorially reviewed.- अनमोल केसी र समीर भट्ट दुवै हिरो पुत्र हुन् र पिताकै प्रशिक्षण तथा रेखदेखमा नेपाली सिनेमामा आएका हुन् ।
- अनमोलको १३ वर्षअघिको ‘होस्टल’ र समीरको ‘१२ गाउँ’ दुवै पहिलो फिल्मबाट सफल भएका छन् ।
- लेखमा अनमोल र समीरलाई फरक जनराका प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्दै अब दर्शकले फिल्मको कथा र प्रस्तुतिलाई हेर्ने उल्लेख गरिएको छ ।
अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन् । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर रेखाबाट दौड सुरु गरेका धावक हुन् ।
– दुवै हिरो पुत्र हुन् । यिनीहरूका पिता आफ्ना जमानाका चल्तापुर्जा अभिनेता हुन् ।
– दुवै जनाको रिमोट यिनीहरूका पिताको हातमा छ । यिनीहरू पिताका आज्ञाकारी पुत्र हुन् ।
– दुवैले नेपाली सिनेमामा शानदार इन्ट्री गरे । म्युजिक भिडियो, सर्ट मुभी, सिरियल खेल्दै करियर बनाउनु परेन ।
– दुवैले पहिलो फिल्मबाट सफलताको स्वाद चाखे । यिनीहरूका डेब्यु फिल्म सुपरहिट रहे ।
– यी दुवै लक्का जवान हिरोका अघोषित म्यानेजर उनीहरूकै पिता हुन् ।
हल बाँधेर यसरी जोडा मिलाउँदै जाने हो भने अनमोल र समीरमा धेरैभन्दा धेरै समानता भेटिन्छन् । यस्तो लाग्छ, मानौँ यिनीहरू सिनेमा उद्योगका जुम्ल्याहा हुन् ।
यिनीहरूले आफ्ना पिताबाट अभिनयको आनुवंशिक गुण लिएर जन्मिए । अनि पिताकै कडा प्रशिक्षणमा हुर्किए । पिताकै इशारामा फिल्म साइन गरे । अनि पिताकै रेखदेखमा छायाङ्कनस्थलमा उत्रिए। दृश्यमा यिनीहरू थिए । तर, यिनीहरूलाई चलाउने अदृश्य हात पिताहरूको थियो ।
यिनीहरू हुर्कँदै गर्दा सायद सोधिएन, ‘तिमी के बन्छौ ?’
बरु यिनीहरूका पिताले अघि सरेर भनिदिए, ‘मेरो छोरो हिरो बन्छ ।’
यसरी अनमोल र समीरले आफ्ना पिताको अधुरो रहर बोकेर सिनेमा जगतमा पाइला राखे । उनीहरूलाई यहाँ अवसरले मात्र पर्खिरहेको थिएन, उत्तिकै चुनौतीले पनि । किनभने आफ्ना पिताको विरासत बोकेर सिनेमामा आएका यिनीहरूलाई दर्शकले अनमोल वा समीर भनेर चिनेनन् । ‘फलानोको छोरो’ भनी औँल्याए ।
त्यही कारण दुवैको करियरको प्रवेशविन्दु त्यहाँबाट सुरु हुन्थ्यो, जहाँ यिनीहरूका पिता उभिएका थिए । यो रेखामा दौडँदा यिनीहरूले अपेक्षाको गह्रौँभन्दा गह्रौँ भारी बोक्नुपर्थ्यो ।
यद्यपि, दुवैको सरस्वती दाहिना भइदिइन् । सुरुवाती फिल्मबाट दर्शकको अपार माया बटुले ।
अनमोल
ठ्याक्कै १३ वर्षअघि, वर्षातको मौसम थियो। सिनेमा घरको भित्तामा ‘होस्टल’ फिल्मको ब्यानर टाँसिएको थियो । त्यसैमा टाँसिएका थिए, कलकलाउँदा नायक अनमोल केसी ।
किशोर पुस्ताको प्रेम, करियर र आपसी नोकझोँकमा बुनिएको कथा लिएर आएको यो फिल्मको मुख्य गुरुत्वबल थिए उनै अनमोल ।
‘भुवन केसीको छोरोले खेलेको’ भन्दै उनकै छिमलका किशोर–किशोरी टिकटको लाइनमा अधैर्यसाथ उभिन पुगे । अङ्कल पुस्ताका ‘हिरो’ झेलिरहेका यिनीहरूले आफ्नै उमेर समूहको हिरोलाई हार्दिकतापूर्वक स्वागत गरे । शोभित बस्नेत मार्काका फिल्मले भड्किएका युवा दर्शकलाई अनमोलले नै हलमा एकत्रित गरे ।
जब-जब उनको फिल्म प्रदर्शनमा आए, प्लस टु पुस्ताले हल हराभरा हुन थाले ।
यसरी अनमोलको फिल्मी करियर दक्षिण भारतीय फिल्ममा हिरोको इन्ट्री भएजस्तै जोडदार र शानदार भइदियो ।
समीर
अनमोलले फिल्ममा एक दशक लामो यात्रा गरिसकेपछि बल्ल समीर भट्टको पदार्पण भयो । उनको पदार्पण यसरी भयो कि अलिअलि धर्ती हल्लियो। परेवाहरू भुर्र उडे । भुइँका धुलो र पातहरू हावामा भुमरी बने । अनि उनी गर्जिए, ‘इलाका तेरो, सिंहासन तेरो तर राज मेरो ।’
८० को दशकमा बन्ने एक्सन ड्रामा हिन्दी सिनेमाको ट्रेडमार्क लागेको डाइलगलाई नवीकरण गर्दै उनको उदय भयो । डाइलग त पुरानै थियो, तर उनी नयाँ थिए । दर्शकले नयाँ हिरोलाई जोडदार स्वागत गरे ।
अग्लो कद, सुगठित ज्यान। द्वन्द्व र नृत्यकलामा पोख्त । कलाको एउटा राम्रो प्याकेज बनेर उनी देखा परे । त्यसअघिसम्म सिनेमा उद्योगमा उनको कुनै चालचुल थिएन । उनका पिता पनि करियर उत्कर्षमा रहँदै गाढा निलो, रातो पहिरन लगाएर भोजपुरी फिल्मतिर हान्निएका थिए ।
विराजलाई त दर्शकले चिन्थे । तर, उनको परिवारबारे बेखबर थिए । त्यसैले जब ‘१२ गाउँ’मा ‘इलाका तेरो, धमाका मेरो’ शैलीमा उनले छोरोलाई उतारे, मानौँ कुनै जादुगरले छडी घुमाएर चमत्कार गरेजस्तै भयो ।
फिल्मले भन्दा बढी हाइप समीरले पाए । किनभने दर्शकहरू फिल्मभन्दा बढी फिल्मका हिरो हेर्न ओइरिए । यसरी पहिलो फिल्मबाटै समीर आकर्षणको स्पटलाइटमा उभिए ।
समीर भर्सेस अनमोल : को बढी तगडा ?
अभिनेता अनमोल केसी र समीर भट्ट लगभग २६ दिनको अन्तरालमा सिनेमाघर प्रवेश गर्दैछन् । यी दुईमध्ये कसको फिल्म बढी चल्छ? यो रोचक प्रश्न हो ।
किन रोचक भने, यी दुवै अहिलेका ‘हटकेक’ हुन् । बाहिरबाट झट्ट हेर्दा यिनीहरू एकअर्काका कडा प्रतिस्पर्धी जस्ता पनि देखिन्छन् । यतिबेला भुवन केसी र विराज भट्टलाई के दबाब परेको हुन सक्छ भने, आ–आफ्ना छोरालाई ‘कोभन्दा को कम’ शैलीमा उतार्नुपर्ने । यो उनीहरूको इगोको मात्र प्रश्न भइदिएन, अभिभावकत्वको जिम्मेवारी पनि भइदियो ।
तर समीर र अनमोल आफैँमा फरक जनराका हिरो हुन् । समीर एक्सन नायकका रूपमा आफूलाई उभ्याउने तयारीमा छन् भने अनमोलले लभर ब्वाईको छवि बनाइसकेका छन् । अर्थात्, दुवै फरक कित्तामा उभिएका छन् । उनीहरूको धरातल फरक छ । आकाश फरक छ। र, गन्तव्य पनि ।
त्यसैले दर्शकले समीर र अनमोललाई प्रतिस्पर्धीका रूपमा होइन, दुई फरक प्याकेजका रूपमा हेर्नेछन् । उनीहरूबाट फरक भूमिका र स्वाद खोज्नेछन् । जहाँ समीरको फिल्म ब्लकबस्टर हुन्छ, त्यहाँ अनमोलका दर्शक पनि ओइरिन सक्छन् । किनभने दर्शकको स्वाद पनि आफैँमा विभाजित छ । कसैलाई प्रेमकथा मन पर्छ, कसैलाई द्वन्द्वकला ।
तर उनीहरू अब रहस्यका पोका रहेनन्, जसको झलक हेर्न मात्र दर्शकहरू हलमा आइदिन्छन् । फिल्मको कथा, प्रस्तुति, अभिनयजस्ता तत्वहरू महत्त्वपूर्ण हुनेछन् । उनीहरू कस्ता छन्, कस्तो फिल्म खेले भनेर मात्र दर्शक आउनेवाला छैनन् । दर्शकसँग अब एउटै प्रश्न बाँकी रहनेछ, ‘फलानो फिल्म कस्तो छ ?’
प्रतिक्रिया 4