News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि कांग्रेसले सदन बहिष्कार गरे पनि बजेटको प्राथमिकतामाथि छलफल जारी छ।
- कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सरकारले प्रतिपक्षीसँग समन्वय नगरेको भन्दै आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने बताए।
- नेकपाले बजेट संशोधन र छानबिन गर्ने सहमति गर्दै संसदीय छानबिन समिति गठन र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने निर्णय गरेको छ।
२७ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभामा बजेटमाथि छलफल जारी छ। सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजे पनि कांग्रेसको बहिष्कार निर्णय गरेको थियो।
बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने जानकारी दिए ।
कांग्रेसको बहिष्कारका बीच अहिले प्रदेशसभामा बजेटको प्राथमिकतामाथि छलफल भइरहेको छ।
यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ । नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो ।
आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठकसमेत प्रभावित भएको थियो।
प्रतिक्रिया 4