+
+
Shares

‘पर्यटन बोर्ड र नेवानि संरचना नसुधारेसम्म नयाँ नेतृत्वको अर्थ छैन’

नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको वर्तमान संरचना कायम रहेसम्म जतिसुकै नयाँ नेतृत्व ल्याए पनि तात्विक फरक नपर्ने पर्यटन व्यवसायीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाटो अध्यक्ष विश्वेस श्रेष्ठले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको संरचना नबदली नयाँ नेतृत्व ल्याउँदा संस्थामा तात्विक फरक नपर्ने बताएका छन् ।
  • श्रेष्ठले त्रिभुवन विमानस्थलमा जहाज कम्तीमा आधा घण्टा होल्ड हुनुपर्ने अवस्थाले पर्यटक बढाउन नसकिने र हवाई भाडा बढेको बताए ।
  • उनले पर्यटन व्यवसायीसँग सल्लाह नगरी आरोग्य वर्ष घोषणा गरेको भन्दै सरकारको काम कमसल भएको आरोप पनि लगाए ।

२८ असोज, काठमाडौं । टुर अपरेटरहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष विश्वेस श्रेष्ठले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको वर्तमान संरचना नै राखेर नयाँ नेतृत्व बनाउनुको अर्थ नरहने बताएका छन् ।

नाटोको २४औं वार्षिक साधारणसभामा अध्यक्ष श्रेष्ठले पर्यटन बोर्ड र नेवानि सुधार गर्न नयाँ नेतृत्व राख्ने तयारी भइरहेको सन्दर्भ उल्लेख गर्दै ती संस्थाको वर्तमान संरचना कायम रहेसम्म जतिसुकै नयाँ नेतृत्व ल्याए पनि तात्विक फरक नपर्ने बताएका हुन् ।

‘जबसम्म ती दुवै संस्थामा हायर एन्ड फायरको नीति लागु हुँदैन, तबसम्म नयाँ नेतृत्व ल्याउँदैमा संस्था सुधार हुने कल्पना नगरे हुन्छ,’ नाटो अध्यक्ष श्रेष्ठले भने, ‘अब ती संस्थाको संरचनागत परिवर्तन नगरेसम्म केही आश नगरे हुन्छ ।’

त्यस्तै त्रिभुवन विमानस्थलमा जहाज कम्तीमा आधा घण्टा होल्ड गर्नुपर्ने अवस्था रहेकाले यस्तो अवस्था रहेसम्म पर्यटक बढाउन सम्भव नहुने उनको भनाइ छ । जहाज धेरै समय होल्ड भएकै कारण हवाई भाडा बढ्नुको एउटा कारण रहेको उनले बताए ।

नाटो अध्यक्ष श्रेष्ठले हचुवा शैलीमा आरोग्य वर्ष मनाउने घोषणा गरेर सरकारले कमसल काम गरेको आरोप लगाए । पर्यटन व्यवसायीसँग सल्लाह नै नगरी एकतर्फी निर्णय गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।

पर्यटन क्षेत्रलाई उद्योगको दर्जा दिने दुई वर्षअघिको विषय अहिलेसम्म कार्यान्वयन नभएको उनले बताए । नयाँ सरकारले यसमा चाँडै काम गर्ने आश लिएको उनले उल्लेख गरे ।

उनका अनुसार नाटोको पहलमा धादिङ गजुरीमा पर्यटकका लागि अन्तर्राष्ट्रिय स्तरको शौचालय निर्माण गर्ने तयारी अगाडि बढेको जानकारी दिए । यसबाट स्वदेशी तथा विदेशी पर्यटकलाई ठूलो राहत मिल्ने उनले बताए ।

त्यसैगरी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरका अध्यक्ष नरेन्द्र भट्टले लक्जी पर्यटनका नाममा एकतारे, दुईतारे होटल, लज, साना होटल र होमस्टेलाई मारमा नपारी उनीहरूलाई पनि सँगसँगै लिएर जानुपर्ने धारणा राखे ।

त्यस्तै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले नोटोसँग सहकार्य गर्न नाट्टा तयार रहेको बताए ।

यसैगरी स्काल नेपालका अध्यक्ष रमेश लुइँटेलले पर्यटन महासंघ बनाउने विषय सामूहिक हितका लागि अगाडि बढाइएको बताए । सरकारसँग छुट्टाछुट्टै संघबाट कुरा राख्दा कमजोर देखिएकाले महासंघ बनाएर जाँदा थप बलियो हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?