२८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक सहायता प्रतिबद्धतामा ४१ प्रतिशतको गिरावट आएको देखिएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक अर्थ बुलेटिन अनुसार यस आवमा १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँमात्र वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । आव २०८१/८२ मा २ खर्ब ७३ अर्ब ५ करोड बराबर प्रतिबद्धता आएको थियो ।
गत आव यस्तो प्रतिबद्धता ४०.९ प्रतिशत घटेको हो । कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये बहुपक्षीय साझेदारको हिस्सा ६३.६ प्रतिशत र द्विपक्षीय साझेदार (मुलुक) को हिस्सा ३६.४ प्रतिशत छ ।
गत आव सहायता प्राप्तिसमेत लक्ष्यको तुलनामा कम भएको छ । एक वर्षमा सरकारले अनुदानतर्फ ३२ अर्ब ८४ करोड र ऋणतर्फ १ खर्ब १६ अर्ब ४४ करोडमात्र प्राप्त गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.७ प्रतिशत कम हो ।
त्यस्तै अनुदान १०.७ प्रतिशत बढे पनि ऋणप्राप्ति ८.३ प्रतिशत घटेको हो । २०८१/८२ मा १ खर्ब २६ अर्ब रुपैयाँ ऋणप्राप्ति थियो ।
गुणात्मक बढ्दै सार्वजनिक ऋण
तथ्यांक अनुसार पछिल्ला वर्षहरूमा सार्वजनिक ऋण निरन्तर बढ्दै छ । भूकम्पपछिको पुनर्निर्माण, संघीयता कार्यान्वयन, कोभिड महामारीबाट जुध्न सरकारले लिएका उपायका कारण सरकारको ऋण बढेको हो । असार मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड पुगेको छ ।
२०८१/८२ अन्तिमसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ५ करोड थियो । गत आव ११.५१ प्रतिशत बढेको छ । कुल सार्वजनिक ऋण वृद्धिमा विनिमय घाटा हिस्सा ५५.५१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
१० वर्षअघि कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा सार्वजनिक ऋण २२.६७ प्रतिशत रहेकोमा अहिले यस्तो हिस्सा ४५.१८ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया 4