२८ असोज, काठमाडौं । १० भदौको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गर्ने भनिएको दादुरा खोप अभियान रोकिएको छ । बाढीका कारण विस्थापित बालबालिकाको अवस्था र बसोबासको स्थान पत्ता लगाउन नसक्दा अभियान सुरू गर्न सकिएको छैन ।
‘बाढी प्रभावित क्षेत्रका बालबालिका तितरबितर भएका छन् । उनीहरू कहाँ पुगे भन्ने जानकारी पनि छैन,’ स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भने, ‘बालबालिकाको अवस्थाको यकिन जानकारी नहुँदा तत्काल नै खोप अभियान सञ्चालन गर्न सकिएन ।’
सरकारले बाढीपीडितको पुनर्स्थापनामा समयमै पहल गर्न नसक्दा विस्थापित परिवार तितरबितर अवस्था छन् । रसुवा र नुवाकोटका प्रभावित स्थानीय तहमा मात्रै करिब ६ महिनादेखि १५ वर्षमुनिका ३४ हजार बालबालिकालाई खोप लगाउनुपर्ने प्रारम्भिक अनुमान छ ।
अन्य प्रभावित जिल्लाका स्थानीय तहलाई समेत समेटेर कुल ७५ हजार बालबालिकालाई खोप लगाउने अनुमान गरिएको छ ।
प्रभावित क्षेत्रमा सरुवा रोग फैलिनसक्ने जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय खोप सल्लाहकार समितिले विभिन्न रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको थियो । सरकारले तत्काल नै ७० हजारभन्दा बढीलाई हैजा विरुद्धको खोप खुवाइएको थियो ।
दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न बाढी प्रभावित क्षेत्रमा बालबालिका कहाँ छन् भन्ने यकिन गर्नुपर्ने चुनौती देखिएको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउँछन् ।

बाढीपछि अस्थायी होल्डिङ सेन्टरमा बसेका कतिपय परिवार आफन्तको घरमा गएका छन् भने कतिपय अस्थायी बसोबासको खोजीमा छन् । यसले लक्षित बालबालिकासम्म खोप टोली पुर्याउन कठिन बनाएको गौतमको भनाइ छ ।
‘होल्डिङ सेन्टरमा बसेका सबै मानिस त्यहाँ छैनन् । कोही आफन्तकहाँ गएका छन्, कोही अस्थायी बसोबासमा छन् । कुन समुदायमा गएर खोप लगाउने भन्ने यकिन नभएकाले तत्काल नै सञ्चालन गर्न नसकिएको हो,’ डा. गौतमले अनलाइनखबरसँग भने ।
महामारी फैलिँदा वा विपद्पछिको प्रतिकार्य सञ्चालन गर्दा प्राथमिकताका आधारमा सरुवा रोगको छनोट गरिन्छ । उदाहरणका लागि पोलियो फैलिन सक्ने जोखिम भएका क्षेत्रमा पोलियोविरुद्धको खोपलाई प्राथमिकता दिनुपर्छ । त्यसैगरी, दादुरा–रुबेला नदेखिएको वा जोखिममा रहेका क्षेत्रमा पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर खोप अभियान सञ्चालन गर्नुपर्ने गाइडलाइन छ ।
समुदायमा कुन रोगविरुद्धको प्रतिरोधात्मक अवस्था कस्तो छ ? कुन क्षेत्रमा जोखिम बढी छ ? भन्ने आधारमा खोप कार्यक्रमको प्राथमिकता निर्धारण गरिन्छ । यसको आधारमा दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुन लागेको हो ।
डा. गौतमका अनुसार दशैंपछि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने योजना बनाइएको छ । सोहीअनुसार जिल्लाहरूले तयारी गरिरहेका छन् । जिल्ला तहबाट तयारी पूरा भएको जानकारी आएपछि अभियान थालनी हुनेछ ।

‘जहाँ बालबालिका छन्, त्यहीँ पुगेर खोप दिने योजना छ । आवश्यक योजना बनिसकेको छ । दशैंपछि खोप अभियान सञ्चालन गर्ने तयारी छ,’ डा. गौतमले भने ।
हैजा रोगविरुद्ध स्वास्थ्यकर्मी तथा उद्धारकर्मीलाई खोप खुवाएका थिए । तर दादुरा–रुबेलाविरुद्धको खोप सुइँबाट दिनुपर्ने भएकाले लक्षित समुदाय, बालबालिकाको संख्या र खोप लगाउने स्थान यकिन गरेर व्यवस्थित अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।
दादुरा अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । चिकित्सकका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ ।
दादुरा सामन्यतया: ५ वर्षमुनिका बालबालिकामा धेरै हुने र छिट्टै फैलिएर महामारीको जोखिम हुने विज्ञहरू बताउँछन् । दादुरा संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्युसमेत हुनसक्छ ।
दादुरा भाइरस व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र स्वासनली एवं अरू भित्री अंगहरूमा संक्रमण गर्छ । रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटाबाट हावाको माध्यमबाट दादुराको संक्रमण सर्छ ।
सामान्य अवस्थामा एक संक्रमितबाट १८ जनासम्म व्यक्तिहरूमा दादुरा–रुबेला सर्नसक्छ । त्यसैगरी यी रोगबाट सामान्यतया १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्छ भने आपत्कालीन अवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ ।
नेपालमा सन् २०२६ को सुरुदेखि नै सर्लाही, बागलुङ, महोत्तरी, कालिकोट, दैलेख लगायतका जिल्लामा दादुरा संक्रमणका देखिएका छन् ।
बाढी प्रभावित जिल्लामा हालसम्म दादुरा संक्रमण देखिएको छैन । विपद्पछि सरुवा रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य संस्थामार्फत निगरानी भइरहेको डा. गौतमले बताए ।

डा. गौतमका अनुसार केही समयदेखि प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा एक दिन बिराएर फोन गरी दादुरासहित खोपबाट बचाउन सकिने रोगका शंकास्पद बिरामीबारे जानकारी लिने गरिएको छ ।
‘प्रभावित क्षेत्रका स्वास्थ्य संस्थासँग नियमित सम्पर्क गरेर शंकास्पद बिरामी छन् कि छैनन् भनेर निगरानी गरिरहेका छौं । अहिलेसम्म दादुरा देखिएको छैन,’ उनले भने ।
बाढीका कारण घरबार छाडेर सामूहिक आश्रयस्थलमा बस्न बाध्य भएका मानिसमा संक्रामक रोग फैलिने जोखिम बढी हुने विज्ञहरू बताउन् ।
नेपालले सन् २०२६ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको छ । सन् २०२३ जुनपछि देशमा दादुराको प्रकोप नदेखिएपछि निर्धारित समयमै लक्ष्य हासिल हुने अपेक्षा गरिएको थियो । तर, त्यसपछि पुन: देखिएका प्रकोपले उन्मूलनको लक्ष्यमा चुनौती थपेका छन् ।
नेपालले यसअघि पनि सन् २०१९ र २०२३ मा दादुरा उन्मूलन गर्ने लक्ष्य पूरा गर्न सकेको थिएन । सन् २०२२ र २०२३ मा देशका विभिन्न स्थानमा दादुरा संक्रमण फैलिएको थियो ।
चिकित्सकका अनुसार दादुरा संक्रमणबाट पखाला लाग्ने, कानको संक्रमण हुने, निमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र यस प्रकारका जटिलताबाट बिरामीको मृत्यु समेत हुनसक्छ ।
रुबेलाको संक्रमणबाट हाडजोर्नी सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतन हुने वा मृत शिशु जन्मने, अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलाङ्ग हुने र यस प्रकारका जटिलताको कारण बिरामीको मृत्युसमेत हुन्छ ।
दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि ज्वरो सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।
दादुरा लाग्दा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने पनि हुनसक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैं फोस्रिँदै जान्छ ।
दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग र मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभए बिरामीको मृत्यु समेत हुनसक्छ ।
चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन । तर, अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार उपचार गर्नुपर्छ ।
प्रतिक्रिया 4