+
+
Shares

गुल्मीमा देवरको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मालिका गाउँपालिका–२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते ४१/४२ वर्षीया लिला खत्रीको तीन दिनपछि मृत्यु भएको छ।
  • असोज २५ गते साँझ मादक पदार्थ सेवन गरी आएका ४६ वर्षीय बलबहादुर खत्रीले आफ्नी भाउजू लिलामाथि कुटपिट गरेका थिए।
  • प्रहरीले बलबहादुरविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

२९ असोज, गुल्मीको । गुल्मीको मालिका गाउँपालिका-२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकीरण बोगटीका अनुसार मालिका गाउँपालिका–२ खोलाखर्ककी ४१/४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा ४६ वर्षीय देवर बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार असोज २५ गते साँझ करिब ७ बजे मादक पदार्थ सेवन गरी आएका बलबहादुरले आफ्नै भाउजू लिलामाथि कुटपिट गरेका थिए । कुटपिटबाट लिलाको टाउकोमा चोट लागेको थियो ।

घटनाबारे सोही दिन साँझ ७ः३० बजे प्रहरी चौकी पौदीअमराईमा जानकारी पुगेपछि प्रहरी सहायक निरीक्षक उदयभान यादवको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले गम्भीर घाइते लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो ।

घटनापछि प्रहरीले कुटपिटमा संलग्न बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कुटपिटमा बलबहादुर संलग्न रहेको खुलेपछि उनका बुबा भक्तबहादुरलाई छाडिएको थियो । बलबहादुरलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको थियो ।

गम्भीर घाइते लिला उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा रहेकी थिइन् । असोज २८ गते बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले उनलाई अस्पतालबाट घर लैजाँदै थिए ।

घर लैजाने क्रममा बाटोमा लिलाको अवस्थाबारे शंका लागेपछि दिउँसो करिब उनलाई गुल्मी अस्पताल तम्घासमा जाँचका लागि लगिएको थियो । अस्पतालका चिकित्सकले सोही दिन दिउँसो उनलाई मृत घोषणा गरेका थिए ।

त्यसपछि घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा टोली खटिएको थियो । सोही दिन साँझ शव परीक्षणपछि मृतकका छोरा हिराबहादुरले शव बुझेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीका अनुसार बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?