२९ असोज, सुर्खेत । उपल्लो डोल्पाका तीन गाउँपालिकाका पाटन क्षेत्र स्थानीयवासीको जीविकोपार्जनको महत्वपूर्ण आधार बन्दै आएको छ ।
उच्च हिमाली भेगका पाटनमा पाइने बहुमूल्य जडीबुटी संकलन गरेर यहाँका बासिन्दाले आम्दानी गर्दै आएका छन्। डोल्पाका स्थानीयवासी मात्र नभई छिमेकी जाजरकोट, रुकुम पश्चिम र जुम्लाका बासिन्दासमेत जडीबुटी संकलनका लागि उपल्लो डोल्पा पुग्ने गरेका छन् ।
पाटन क्षेत्रमा पशुचौपायासहित पुगेर जडीबुटी संकलन गर्ने प्रचलन छ। कृषि उत्पादन सीमित हुनु, यातायातको सहज पहुँच नहुनु र रोजगारीका वैकल्पिक अवसर कम हुनुले यहाँका बासिन्दाको जीविकोपार्जनमा जडीबुटीको महत्व बढाएको छ। शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले उच्च हिमाली क्षेत्रका बासिन्दाका लागि जडीबुटी संकलन आम्दानीको प्रमुख स्रोत बनेको बताए ।
सम्भावना धेरै, लाभ सीमित
उपल्लो डोल्पाका पाटनमा पाइने जडीबुटीको बजार सम्भावना भए पनि त्यसबाट प्राप्त हुने लाभ स्थानीयस्तरमै पर्याप्त रूपमा रहन सकेको छैन। संकलकले जडीबुटी बिक्री गरेर आम्दानी गरे पनि प्रशोधन र बजारीकरणका काममा उनीहरूको सहभागिता सीमित हुँदा मूल्य अभिवृद्धिबाट प्राप्त हुने लाभ नभएको पाइएको छ ।
संकलित केही जडीबुटी प्रशोधनका लागि जाजरकोटको कालेगाउँस्थित जडीबुटी प्रशोधन केन्द्रमा समेत पुग्ने गरेको छ। स्थानीयस्तरमै प्रशोधन तथा भण्डारणको व्यवस्था गर्न सके संकलित जडीबुटीको गुणस्तर कायम राख्न, बजारसम्म पुर्याउन र स्थानीयले लाभ समेत लिने स्थानीयबासीको भनाई रहेको छ ।
एक लाख १३ हजार किलोभन्दा बढी जडीबुटी निकासी
डोल्पाबाट आर्थिक वर्ष २०८२/८३ मा एक लाख १३ हजार १३७ किलो जडीबुटी निकासी भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार उक्त अवधिमा जडीबुटी निकासीबाट एक करोड सात लाख ६२ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको छ।
नेपालीका अनुसार अघिल्ला वर्षको तुलनामा जडीबुटी निकासी र राजस्व संकलन बढेको छ। यसले डोल्पामा जडीबुटीको व्यावसायिक महत्त्व र त्यसबाट प्राप्त हुने राजस्वको सम्भावना देखाउँछ। तर निकासीको परिमाण र राजस्व बढ्दै जाँदा स्थानीय संकलकको आम्दानी तथा जीवनस्तरमा कस्तो प्रभाव परेको छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा डोल्पाबाट निकासी भएका प्रमुख जडीबुटीमा अतिस ५३७ किलो, अमलवेद छ हजार ५६९ किलो, कुट्की ९८० किलो, करिलो एक हजार ३८० किलो, गुच्ची च्याउ पाँच हजार ७०० किलो, चिराइतो ३२५ किलो र जटामसी २८ हजार ७३२ किलो रहेका छन्।
त्यस्तै झ्याउ पाँच हजार ७०० किलो, धुपीको पात ११ हजार २२५ किलो, मदमचाल १५ हजार ३४८ किलो, फुरु ८८१ किलो, बोझो ३० किलो, भिरमह एक हजार किलो, भुतकेश एक हजार ४४४ किलो, यार्सागुम्बा २२९ किलो ६५६ ग्राम, रातो च्याउ दुई हजार ३२५ किलो र वन लसुन ५८ किलो १८३ ग्राम निकासी भएको मन्त्रालयले जनाएको छ।
यसैगरी बिजजरा १०० किलो, सल्लाको आँख्ला १० हजार किलो, सिलाजित नौ हजार ७९० किलो, सुगन्धवाल तीन हजार किलो, सुनपाती तीन हजार ५०० किलो र सेतकचिनी दुई हजार २२५ किलो निकासी भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
संरक्षणसँगै व्यवस्थित बजारीकरण आवश्यक
जडीबुटी डोल्पाको प्राकृतिक सम्पदा मात्र नभई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार पनि हो। यसको दिगो उपयोगका लागि संकलनलाई व्यवस्थित बनाउनु, प्रजातिअनुसार संकलनको उपयुक्त समय र विधि अपनाउनु तथा प्राकृतिक पुनरुत्पादनमा असर नपर्ने गरी व्यवस्थापन गर्नु आवश्यक छ। जडीबुटीको अत्यधिक संकलन, अव्यवस्थित व्यापार र प्राकृतिक स्रोतको क्षयीकरणले भविष्यमा उत्पादन घट्ने जोखिम रहन्छ। त्यसैले स्थानीय समुदायको सहभागितामा जडीबुटीको संरक्षण, दिगो संकलन र व्यावसायिक व्यवस्थापनलाई सँगसँगै अघि बढाउनुपर्ने डोल्पाका जयकृष्ण हमालले बताए ।
स्थानीयस्तरमा प्रशोधन केन्द्र स्थापना, संकलकलाई बजार मूल्यसम्बन्धी जानकारी, ढुवानी व्यवस्थामा सुधार गर्न सके जडीबुटीबाट प्राप्त हुने लाभ स्थानीय समुदायसम्म पुर्याउन सकिन्छ। यसले रोजगारीका अवसर सिर्जना गर्नुका साथै उपल्लो डोल्पाका बासिन्दाको आयआर्जनमा टेवा पुग्ने अपेक्षा छ ।
प्रतिक्रिया 4