+
+
Shares

मधेश प्रदेशमा ‘छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ६:५२

२९ असोज, लन्डन । नेपालका अन्य प्रदेशको तुलनामा स्वास्थ्य क्षेत्रमा पछाडी परेको मधेश प्रदेशमा स्वास्थ्य सेवा कसरी सुधार गर्न सकिन्छ भन्ने लगायतका विषयमा छलफल गर्न मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिने भएको छ ।

हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपालीमूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ २०२६ आगामी मंसीर १८–१९ (डिसेम्बर ४–५) मा जनकपुरधाममा हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले मधेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससंगको सहकार्य तथा नेपाल सरकार, मधेश प्रदेशस्थित स्थानीय निकायहरु एवं अन्य संघसंस्थाको सहयोगमा उक्त सम्मेलन गर्न लागिएको जनाएको छ ।

सम्मेलनबारे जानकारी दिन बुधबार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ग्लोबल हेल्थ कन्फरेन्स वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्रा. डा. पदम सिम्खडाले मधेशलाई अन्नको भण्डार भनिएपनि नेपालभरि कुपोषणका कारण राम्रो संग शारीरिक वृद्धि हुन नसकेका बालबालिकाको संख्या २६.२ प्रतिशत रहेकामा मधेशमा त्यो ३१.१ प्रतिशत रहेको जनाए ।

त्यस्तै देशभरि कम वजन भएका बालबालिकाको संख्या झन्डै १७ प्रतिशत रहेकोमा मधेश प्रदेशमा त्यो २३ प्रतिशत भन्दा बढी छ। देशभरि प्रति हजार शिशु जन्मिँदा ३१ जनाको ज्यान जाने गरेको छ भने मधेशमा ३३ जना नवजात शिशुको ज्यान जाने गरेको तथ्यांक छ ।

मधेशको प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सातै प्रदेशमा सबै भन्दा कम छ। सन् २०२६ मा कर्णाली प्रदेशको प्रतिव्यक्ति जीडीपी १,१७६ अमेरिकी डलर भएको अनुमान गरिएको छ भने मधेश प्रदेशको १,००६ डलर मात्र छ । सबैभन्दा उच्च बागमती प्रदेशको प्रतिव्यक्ति जीडीपी २, ८०९ डलर छ।

‘मधेश प्रदेशका कतिपय स्वास्थ्य सूचकहरु पुरै देशको तुलनामा न्यून रहेकाले तिनलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे पनि सम्मेलनमा छलफल गर्ने छौं’, प्रा. सिम्खडाले भने ।

‘छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६’ आयोजक समितिका अध्यक्ष प्रा. डा. सुनील साहले नेपाल र विश्वभर रहेका स्वास्थ्य क्षेत्रका विज्ञलाई जनकपुरमा सहभागी हुन आह्वान गर्दै विदेशमा कार्यरत नेपाली जनशक्तिलाई स्वदेश फिर्ता गर्ने उपयुक्त वातावरण बनाएर नेपालको स्वास्थ्य प्रणाली बलियो बनाउनेबारे सम्मेलनमा छलफल गरिने जनाए ।

उनले सम्मेलनलाई दुई दिनको छलफलमा मात्र सीमित नगरी दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा परिणत गर्ने प्रयास गरिनुका साथै भिजिटिङ फ्याकल्टी कार्यक्रम, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबीच साझेदारी, डिजिटल हेल्थ पहल तथा डायस्पोरा लगानीका अवसर सिर्जना गर्ने विषयलाई पनि अघि बढाइने पनि बताए ।

स्थानीय आयोजक समितिका अध्यक्ष एवं मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्रा. डा. अङ्कुर शाहले सम्मेलनले मधेश प्रदेश र जनकपुर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरे ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले संघले विश्व ज्ञान सम्मेलन तथा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेर संसारभरि रहेका नेपाली विज्ञहरुसंग रहेको ज्ञान, सीप र सञ्जाल नेपाल र नेपालीको हितमा उपयोग गर्ने प्रयास गरिरहेको बताए ।

उनले संघले आगामी जनवरी २०२७ मा काठमाडौँमा विश्व ज्ञान सम्मेलन, विश्व महिला सम्मेलन तथा एनआरएन दोश्रो पुस्तालाई सहभागी गराएर सम्मेलन आयोजना गर्न लागेकाले सबैलाई भाग लिन आग्रह गरे ।

पत्रकार सम्मेलनमा एनआरएनए आइसीसीकी सचिव प्रसुना कंडेल, वैज्ञानिक समितिका सह–अध्यक्ष तथा युनिभर्सिटी अफ हडर्सफिल्डमा जनस्वास्थ्य विषयका एसोसियट प्राध्यापक डा राजीव कुमार साह लगायतले आफ्नो धारणा राखेका थिए। एनआरएनए उपाध्यक्ष डा ज्ञानेन्द्र रेग्मीले सबैलाई धन्यवाद दिए ।

सम्मेलनको मुख्य नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ र मूल सन्देश नेपाल अब ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढ्नुपर्ने भन्ने छ ।

सम्मेलनमा नेपाली स्वास्थ्यकर्मीहरुको विदेश पलायनलाई मानव स्रोतको क्षतिका रूपमा मात्र नहेरी ज्ञान हस्तान्तरण, क्षमता विकास, नवप्रवर्तन, लगानी र स्वास्थ्य प्रणाली सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्ने विषयमा छलफल गरिने छ ।

सम्मेलनमा सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार, निजी क्षेत्र तथा विश्वभर रहेका नेपाली स्वास्थ्यकर्मीहरूसमेत झन्डै ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

सम्मेलनले विदेशमा रहेका नेपाली स्वास्थ्य विज्ञहरूको सीप र अनुभवलाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्ने उद्देश्य राखेको छ।

यसैगरी विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई नेपालको स्वास्थ्य प्रणालीमा योगदान गर्ने अवसर सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबीच सहकार्य स्थापना, चिकित्सा शिक्षा, फेलोसीप, विशेषज्ञ तालिम तथा भिजिटिङ फ्याकल्टी कार्यक्रम विस्तार, अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य बढाउने र डिजिटल स्वास्थ्य, टेलिमेडिसिन तथा प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकता दिइनेछ।

त्यस्तै, विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मी तथा लगानीकर्तालाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने तथा मधेश प्रदेशसहित स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रको स्वास्थ्य सेवा सुदृढीकरण गर्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ।

सम्मेलनले वैदेशिक पलायनलाई उल्ट्याउने तथा डायस्पोरा संलग्नताका व्यावहारिक उपाय विकास गर्दै विश्वव्यापी स्वास्थ्य सहकार्यका लागि दीर्घकालीन राष्ट्रिय ढाँचा निर्माण गर्ने लक्ष्य लिएको आयोजकले जनाएका छन् ।

सम्मेलनका लागि जनकपुरधाम छनोट हुनु पनि महत्वपूर्ण मानिएको छ। मधेश प्रदेशको राजधानी तथा महत्वपूर्ण सांस्कृतिक र शैक्षिक केन्द्रका रूपमा रहेको जनकपुरधामबाट स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई काठमाडौंकेन्द्रित सीमाबाट बाहिर विस्तार गर्दै प्रदेश तथा स्थानीय स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना हुने विश्वास लिइएको छ।

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स नेपालमा पहिलो पटक हुन लागेको हो । यसअघि पहिलो एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स एटलान्टा (अमेरिका), तेश्रो लन्डन, चौंथो सिड्नी र पाँचौं टोकियोमा भएको थियो। कोभिड १९ महामारीका कारण दोश्रो विश्व सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?