+
+
Shares

होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १८:००

२९ असोज, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ।

विभागले विहीबार एक जरुरी सूचना जारी गर्दै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो।

चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, रेष्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ र भोजनालयहरूलाई लक्षित गर्दै विभागले तोकिएका नियमहरू अनिवार्य पालना गर्न सचेत गराएको छ।

सूचनाअनुसार, मापदण्डको पालना नगरी खाना, खाजा एवं नास्ता उपलब्ध गराएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुनेछ।

यसका साथै, विभागले सबै खाद्य व्यवसायीलाई विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई अनिवार्य रूपमा खाद्य स्वच्छता लोगो लिएर मात्र व्यवसाय सञ्चालन गर्नसमेत निर्देशन दिएको छ।

यी हुन् खाद्य व्यवसायीले स्वच्छता कायम राख्न अनिवार्य अवलम्बन गर्नुपर्ने कार्यहरू:

  • स्वच्छ र गुणस्तरीय खानेकुरा मात्र उपलब्ध गराउने।
  • उपभोग्य अवधि (म्याद) बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्ने।
  • खाद्य पदार्थको बिक्री सोकेस वा कक्षमा तापक्रम (चिसो वा तातो) को व्यवस्था मिलाउने।
  • भान्सा तथा खाना वितरण गर्ने स्थान तथा परिसर स्वच्छ र सफा राख्ने।
  • कामदार कर्मचारीको सरसफाइ कायम राख्ने।
  • सफा भाँडाकुँडामा पकाउने र खान दिने।
  • स्वच्छ र गुणस्तरीय पानी मात्र प्रयोग गर्ने।
  • स्वच्छ र गुणस्तरीय कच्चा पदार्थ मात्र प्रयोग गर्ने।
  • खानेकुरा राम्ररी पकाएर मात्र खान दिने।
  • पकाएको र नपकाएको खानालाई छुट्टाछुट्टै राख्ने।
  • उचित मूल्य लिएर मात्र खानेकुरा बिक्री गर्ने।
  • खानालाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने।
  • बासी, झिँगा भन्केका, सडेगलेका, धुँवा/धुलो/फोहोर पानी मिसिएका वा त्यस्तो अवस्थामा तयार भएका खानेकुरा बिक्री नगर्ने।

विभागले यात्रुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यी नियमहरू लागू गरिएको स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?